२०८१ वैशाख १४, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसमाचारदुई प्रमुख सरकारी अस्पतालका शौचालयको अवस्था ‘बेहाल’

दुई प्रमुख सरकारी अस्पतालका शौचालयको अवस्था ‘बेहाल’


काठमाडौं—‘दुर्गन्धले शौचालय जानै गाह्रो पर्छ,’ कात्र्तिक ३० मा ५५ वर्षीया आमाको उपचारका लागि थापाथलीस्थित परोपकार प्रसुति गृह आएका सम्झना घिमिरेले भनिन् । आमाको पाठेघरको उपचार गराउन अस्पताल आएकी उनकी आमाको शल्यक्रिया तयारी छ । त्यही कारण अस्पताल बस्नुपर्ने उनका लागि अस्पतालको शौचालय जाँदा हैरानी खेप्नुपर्छ ।

गर्भवती श्रीमतीसँग २ दिनदेखि प्रसुति गृहमै अस्पतालमा बसिरहेका सानागाउँका आशिष चौधरी पनि शौचालयको अवस्था देखेर हैरान छन् । ‘एकदमै खतम छ । सरकारी अस्पताल हो भनेर कसैले मतलब नै नगरेर होला,’ चौधरीले हेल्थआवाजसँग सुनाए, ‘कम्तिमा गन्ध कम आउने औषधी राखे पनि हुन्थ्यो नि ? नाकै छोपेर जानुपर्ने अवस्था छ ।

पेटमा समस्या देखिएपछि ४६ वर्षीय निरु शेर्पा नयाँ ठिमीबाट वीर अस्पताल आइन् । वीर अस्तालको शौचालयमा अवस्थाबाट उनी पनि असन्तुष्ट थिइन् । ‘शौचालयको त कुरै नगरौं होला,’ निरु भन्छिन्, ‘नाम मात्रको शौचालय हो । नाक नथुनी पस्नै नसक्ने छ के भन्नु ।’

छोराको उपचारको लागि वीर अस्प्ताल पुगेकी फुलमाया थापामगर पनि वीर अस्पतालमा भेटिइन् । उनलाई वीरको शौचालयमा जाँदा आफै बिरामी परिएला जस्तो भयो । उनलाई पनि सम्झना, आशिष र निरुभन्दा फरक अनुभव भएन् ।

अस्पतालका शौचालय फोहोर र दुर्गन्धित भएको विषयमा प्रसुति गृहका निर्देशक डा. पवनजंग रायमाझी भने अस्पतालमा बिरामीबाहेक सर्वसाधारणहरु पनि अस्पतालकै शौचालय प्रयोग गर्न आउने भएकाले यस्तो समस्या देखिएको बताउँछन् । ‘चाप धेरै भएकाले फोहोर धेरै हुन्छ,’ डा. रायमाझी भन्छन्, ‘अस्पतालका बिरामीबाहेक अस्पताल बाहिरका सर्वसाधारण पनि अस्पतालको शौचालय प्रयोग गरिरहेका हुन्छन् । त्यसैले सरसफाइ गर्दागर्दै पनि फोहोर देखिएको हुन सक्छ ।’

अस्पतालमा सरसफाई कर्मचारी मात्रै १०० जना कार्यरत छन् । सरसफाई गर्ने समय दिनमा ३ पटक गरी तोकिएको हुन्छ । त्यो बाहेक पनि फोहोर भएको छ/छैन भनेर हेर्ने जिम्मेवारी पनि उनीहरुको रहन्छ । तर, पनि अस्पतालमा बिरामीको संख्या बढेको हुनाले शौचालय पर्याप्त नभएको डा. रायमाझी बताउँछन् ।

देशका विभिन्न जिल्लाहरुबाट प्रसुति गहमा महिलाहरु सेवा लिन आउने गर्छन् । आर्थिक वर्ष ०७८/७९ को तथ्यांकअनुसार प्रसुतिमा ओपीडीमा सेवा लिने बिरामीको संख्या मात्रै २ लाख छन्ए । ‘अहिले दैनिक १५ सयदेखि २ हजारसम्म बिरामीहरु अस्पताल आउने गर्छन्,’ निर्देशक रायमाझीले भने, ‘अस्पतालमा बिरामीको संख्या हेरेर वार्ड स्थापना गरेका छौं । अस्पतालका हरेक वार्डमा शौचालयको व्यवस्था छ । पुराना शौचालय मर्मत गरेका छौं । सबै मिलाएर अस्पतालमा १० वटाभन्दा बढी शौचालय छन् ।

वीर अस्पतालका शौचालयको दुरावस्थाबारे अस्पतालकी फोहोर मैला व्यवस्थापन नर्स राधा आचार्य ठूलो अस्पताल भएकाले अरु अस्पतालजस्तो सफा राख्न नसकिएको तर्क गर्छिन् । ‘तर, अस्पतालले सक्दो सरसफाई गरि नै राखेको हुन्छ । अस्पतालका सबै वार्डहरुमा शौचालयहरु छन्,’ राधा भन्छिन्, ‘दिनको ३ पटक शौचालय सफा गरिन्छ । राति एक पटक सफा हुन्छ ।’ उनी शौचालय फोहोरको अवस्था हेरेर दुई घण्टामै पनि सफा गरिने गरेको दावी गर्छिन् ।

वीर अस्पतालका शौचालय बिरामीबाहेक रत्नपार्क नजिक भएको त्यहाँ आउने मानिसहरु पनि प्रयोग गरिरहेका हुन्छन् । ‘त्यसैले अस्पतालको तल्लो तलाका शौचालय बढी फोहोर हुन्छन्,’ उनी थप्छिन् । वीर अस्पतालमा अस्पतालमा २ सय सरसफाइ कर्मचारीहरुका छन् । अस्पतालमा एक सय शौचालय संचालनमा छन् ।

शनिबार विश्व शौचालय दिवस पारेर हेल्थआवाजले दुई प्रमुख अस्पतालका शौचालयको अवस्था अवलोकन गरेको थियो । यति धेरै सरसफाइ कर्मचारी र शौचालय हुँदा पनि दुई प्रमुख सरकारी अस्पतालका शौचालयको अवस्था भने दुर्गन्धित छ । त्यसबाहेक अस्पतालमा अपांगतामैत्री शौचालयको पनि व्यवस्थापन गएिको छैन । अस्पतालका कर्मचारीहरु भने अपांगता भएका व्यक्तिहरुलाई आफूहरुल्े सहजीकरण गर्ने गरेको बताउँछन् ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ