२०८१ वैशाख १२, बुधबार
Health Aawaj logo
गृहपृष्ठसमाचारविज्ञहरु भन्छन्, ‘पूर्ण स्तनपान नगराउँदा बच्चामा रोग प्रतिरोधात्मक शक्ति घट्दैंछ’

विज्ञहरु भन्छन्, ‘पूर्ण स्तनपान नगराउँदा बच्चामा रोग प्रतिरोधात्मक शक्ति घट्दैंछ’


काठमाडौं–नेपाल जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षण, २०२२ प्रमुख सुचना प्रतिवेदनमा नेपालमा पूर्ण स्तनपान दर १० प्रतिशतले घटेको देखाएको छ । पूर्ण स्तनपान नहुँदा बच्चामा रोग प्रतिरोधात्मक शक्तिमा कमी आउने विशेषज्ञहरु बताउँछन् ।

नियमित ६ महिनासम्म आमाको दुध मात्र सेवन गराउने र कम्तिमा २ वर्षसम्म बच्चालाई स्तनपान गराउनुपर्ने चिकित्सकहरुको सुझाव छ । सरकारले स्तनपानलाई महत्व दिएर कार्यस्थलमा स्तनपान कक्ष राख्नुपर्ने, सुत्केरी विदा ४५ दिनबाट बढाएर ९८ दिन बनाएतापनि त्यतिले मात्र पर्याप्त नहुने जनस्वास्थ्यविद्हरुको सुझाव छ ।

यसै सन्दर्भमा हेल्थ आवाजकर्मी भूमिका विष्टले विज्ञहरुसँग पूर्ण स्तनपान गराउनेको संख्या घट्नु र पूर्ण स्तनपान नगराउँदा हुने समस्याको विषयमा कुराकानी गरेकी छन् ।

पूर्ण स्तनपान नगराउँदा बच्चामा रोग प्रतिरोधात्मक शक्ति कमजोर हुन्छ

डा. युवानिधि बसौला
निर्देशक, कान्ति बाल अस्पतालमा

आमाले बच्चा जन्मेदेखि ६ महिनासम्म आफनो दुध चुसाउनु अनिवार्य रहेको छ । यदि पूर्ण स्तनपान गराइएन भने बच्चाको स्वास्थ्यमा धेरै असरहरू पर्ने सक्छन् । किनभने आमाको दुधले रोगसँग लड्ने क्षमता वृद्धि गर्छ । यदि पूर्ण स्तनपान गराइएन भने बच्चालाई कुपोषण हुने, निमोनिया हुने, झाडापखाला लाग्नेजस्ता समस्या देखिन्छन् ।

अरु बच्चाको तुलनामा आमाको दुध ६ महिना अनिवार्य नखुवाइएमा बच्चाको वृद्धि विकासदेखि मानसिक स्वास्थ्यमा पनि असर पर्छ । बच्चालाई रोग नलाग्न दिन र उसको वृद्धि विकास हुन दिन ६ महिना अनिवार्य भनिएको हो ।

‘सुत्केरी विदा कम्तिमा छ महिना हुनुपर्छ’

डा. विवेककुमार लाल
निर्देशक, परिवार कल्याण महाशाखा

अहिले स्तनपान गराउनेहरुको दर घटेको र बाहिर प्याकेटको दुध खुवाउने क्रम बढेको देखिएको छ । जुन आमा र बच्चाको स्वास्थ्यका लागि एकदमै हानिकारक हो । आमा बनेका महिलालाई प्याकेटको दुध हानिकारक भएको हुँदा बच्चाहरुलाई आमाकै दूध खुवाउनु पर्छ भन्ने कुराहरु राम्रोसँग जानकारी दिनको लागि अहिले सबै अस्पतालहरुका स्वास्थ्यकर्मीहरुलाई भन्दै आइरहेका छौं ।

कानुनी रुपमा पनि महिलालाई सुत्केरी बिदा ९८ दिन दिइएको छ, जबकी बच्चालाई एक दिन पनि नछुटाएर ६ महिना आमाको दुध मात्रै खुवाउनुपर्छ । बाहिर काम गर्ने महिलाको लागि प्याकेट वा अन्य बजारमा पाइने दुधहरु खुवाउनु बाध्यता पनि रहेको छ । त्यसैले अहिले कम्तीमा ६ महिना सुत्केरी बिदा हुनुपर्छ भन्ने हाम्रो प्रयास अगाडि बढेको छ । र, त्यो कुरामा हामी जोड दिइरहेका छौं ।

‘स्तनपान गराउँदा सौन्दर्य बिग्रन्छ भन्ने भ्रम छ’

महेन्द्र श्रेष्ठ
पूर्व प्रमुख विशेषज्ञ, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय

महिलाहरु कामकाजी भैसकेपछि बच्चालाई घरमा पाउडर दुध वा गाई भैसीको दुध खुवाइरहेको अवस्था छ । साथै, अहिले कतिपय महिलाहरुमा स्तनपान गराउँदा आफनो स्तन बिग्रन्छ भन्ने गलत भ्रम रहेको छ । त्यसकारण पनि उनीहरु बच्चालाई आफनो दुध खुवाइरहेका छैनन् । त्यसैले पूर्ण स्तनपान नगराउने ट्रेण्ड बढेको हो । स्तनपान गराउँदा उनीहरुको फिटनेसमा कुनै असर पर्दैन । महिलाले स्तनपान राम्रोसँग गराउने हो भने उनीहरुमा स्तनको क्यान्सर हुने सम्भावना धेरै कम हुन्छ ।

‘दिगो विकासको लक्ष्य भेट्न मुस्किल पर्छ’

डा. गुणनिधी शर्मा
वरिष्ठ स्वास्थ्य प्रशासक, नीति योजना महाशाखा, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय

अहिलेको तथ्यांकमा पहिलेको तथ्यांकभन्दा ५ वर्षमुनिका बच्चाहरुको मृत्यु दर घटेको छ । १ महिनामुनिका बच्चाहरुको मृत्यु दर भने घटेको छैन । अलि सानो उमेरका बच्चाहरुलाई बचाउन धेरै प्रयत्न गर्नुपर्ने देखिन्छ ।

नवजात शिशु मृत्युदर सन् २०३० सम्म १२ मा झार्ने योजना थियो, अबको ७ वर्षमा राम्रोसँग काम गरिएन भने त्यहाँ पुग्न केही कठिन देखिन्छ । पूर्ण स्तनपान नगराउने संख्या १० प्रतिशतले बढेको देखिन्छ भने खोपको कभरेज पहिला ७८ प्रतिशत थियो भने अहिले ८० प्रतिशत रहेको छ । खोप नलगाउनेको संख्या पनि पढेको देखिन्छ ।

मातृ मृत्युदर प्रत्येक १०—१० वर्षमा निकालिन्छ । जुन सन् २०१६ मा निकालिएको थियो अब सन् २०२६ मा निकाल्न योजना छ । त्यसैगरी सुत्केरी जाँच गर्नेहरुको संख्या ८० प्रतिशत रहेको छ ।

‘कामकाजी महिलालाई पूर्ण स्तनपानमा समस्या हुन्छ’

डा. प्रियंका त्रिपाठी
स्त्री तथा प्रसुती रोग विशेषज्ञ

महिलाहरु अहिले काम गर्न बाहिर जानुपर्ने भएको हुँदा उनीहरु बच्चा जन्मेको १ महिनापछि आफ्नो काम गर्न जान थाल्छन् । कामको चापले गर्दा उनीहरु बच्चालाई बाहिरको दुध किनेर खुवाउने गर्छन् । यसरी लामो समयसम्म बच्चालाई स्तनपान नगराउने हो भने उनीहरुको स्तनमा पहिलेको जसरी दुध आउन विस्तारै कम हुँदै जान्छ । र, विस्तारै उनीहरु आफ्नो दुध छुटाउन थाल्छन् ।

अर्को कुरा कुनै—कुनै महिलाहरु श्रीमान—श्रीमती दुवै जागिरे भएको हुँदा कति आफूले मात्रै बच्चालाई हेर्ने श्रीमानको पनि जिम्मेवारी रहन्छ भनेर रातिको समयमा वा श्रीमान घरमा भएको समयमा बाहिरको दुध किनेर खुवाउन भनिन्छ र उनीहरु यसरी विस्तारै उनीहरु बच्चालाई दुध खुवाउन छोड्छन् । कामको चापले गर्दा महिलाहरु पूर्ण स्तनपान गराउन नसकेका हुन् ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ