२०८१ वैशाख १३, बिहीबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश १कोशी अस्पतालमा बिरामीको छटपटीः शल्यक्रिया गरिएका बिरामी चिसो भुइँमा

कोशी अस्पतालमा बिरामीको छटपटीः शल्यक्रिया गरिएका बिरामी चिसो भुइँमा


दृश्य १

विराटनगर–१८ मटेरूवाकी २० वर्षीया गर्भवती अजमेरी खातुनलाई व्यथा लागेर छटपटी सुरू भएपछि उनका परिवारले मंगलबार राति ९ बजे कोशी अस्पतालको स्त्री तथा प्रसुती रोग विभागमा लिएर आइपुगे । तर, अस्पतालको शैय्या भरिभराउ थिए । प्रसूती वार्डमा ल्याएपछि सुरूमा मेटरनिटी वार्डको वेटिङमा राखियो । वेटिङ वार्डको २७ शैय्या भरिभराउ भएपछि उनलाई भुइँमा राखियो ।

व्यथा लागेर असह्यै पीडामा छटपटिरहेकी खातुनको नर्मल डेलीभरी नहुने भएपछि अप्रेसन थ्रियटरमा लगेर चिकित्सक टोलीले राति १२ बजे शल्यक्रिया गरे । शल्यक्रिया गरेपछि बिरामीलाई २४ घण्टासम्म पोस्टअप वार्डमा राख्नुपर्ने चिकित्सकहरूको भनाइ छ । कोशीको गाइनो वार्डमा १० शैय्याको पोस्टअप वार्ड छ । यसअघि शल्यक्रिया भएका बिरामीले पोस्टअप वार्ड भरिभराउ छ । पोस्टअप वार्डमा शैय्या नभएपछि सिमेन्टको चिसो भुइँमा म्याट्रेस ओछ्याएर भर्खरै शल्यक्रिया गरिएकी सुत्केरीलाई सुताइयो । ड्युटीमा खटिएका स्वास्थ्यकर्मीले खातुनलाई एकछेउ भुइँमै राखेर सलाइन चढाएर उपचार सुरू गरे ।

अजमेरी खातुनको शल्यक्रियापछि शैय्या अभाव भएको कारणले भुइँमा राखेर उपचार गर्दै स्वास्थ्यकर्मी ।

उपचार खटिएका स्वास्थ्यकर्मीहरू भन्दै थिए, ‘अस्पताल प्रशासनदेखि यहाँका मेसुलाई हामीले बिरामीले शैय्या नभएर छटपटिएको पीडा धेरै पटक सुनायौं । तर, बिरामी र उपचारमा खटिने स्वास्थ्यकर्मीको पीडा बुझ्ने भिजन भएका कुशल प्रशासक पाइनौं ।’ बिरामीको छटपटीलाई नजिकबाट नियालेका ती स्वास्थ्यकर्मीले हेल्थआवजसँग दुःखेसो पोख्दै थपे, ‘हामी चिकित्सक बिरामीको उपचार गर्दछौं । तर, यहाँ शैय्याको व्यवस्थापन अस्पताल प्रशासनले गर्ने हो । शैय्या नपाएपछि भुइँमा उपचार गरेका बिरामीका कुरुवाहरू हामीसँग गालीगलौजमा उत्रिन्छन् । हाम्रो पीडा कसले बुझने ?’

दृश्य २
नर्मल प्रसुती भएपछि कोशी अस्पतालको स्त्री तथा प्रसुती विभागको दोस्रो तलाको भुइँमा तन्ना ओछ्याएर सुतिरहेकी छन, मोरङ बुढीगंगा गाउँपालिका—४ गकुवाकी २० वर्षीया सुब्रता चौधरी । बुधबार विहान १ बजे उनले पहिलो सन्तान छोरालाई कोशीको ‘पोस्टनेटल’ वार्डको चिसो भुइँमै जन्म दिइन् । ५१ शैय्याका पोस्टनेटल वार्डको शैय्या भरिभराउ भएपछि उनी चिसो भुइँमा बसेर उपचार गराइरहनु परेको छ ।

‘भुइँमा बसेर उपचार गर्दा असह्यै पीडा हुँदो रहेछ । त्यो पनि गर्भवती महिलालाई धेरै पीडा । नर्मल डेलिभरी हुँदा मरेर बाँचेजस्तो महसुस हुँदो रहेछ,’ सुव्रताले दुःखेसो पोखिन्, ‘प्रसुतीपछि नयाँ जीवन पाएजस्तो भएको छ । अहिले हल्का भएको छ । तर, चिसो भुइँमा बसेकोले डाढ दुख्न थालेको छ ।’ प्रसुतीपछि न्यानोमा बस्नुपर्ने, पोषिलो र तातो खानेकुरा खानुपर्ने बेलामा शैय्या नपाएर चौधरी चिसो भुइँमा उपचार गर्न विवश छन् ।

२० वर्षीया सुब्रता चौधरी भुइँमा बसेर उपचार हुँदाको पीडा सुनाउँदैं ।

दृश्य ३
विराटनगर १० की ३० वर्षीया सृजना मण्डलले कोशीको वेटिङ वार्डमा छोरीलाई जन्म दिइन् । बुधबार विहान १ बजे शैय्या अभावमा छटपटीकै बीचबाट उनले भुइँमै दोस्रो सन्तानका रुपमा छोरीलाई जन्म दिएकी हुन् । उनलाई वेटिङ वार्डबाट पोस्टनेटल वार्डमा सारियो । त्यहाँ पनि उनले शैय्या पाइनन् । सिमेन्टको चिसो भुइँमा प्लाष्टिकको फर्म ओछ्याइन्, भर्खरै जन्म दिएकी नवजात शिशुलाई पनि सँगै राखिन् । अस्पतालको शैय्यामा अन्य बिरामीले भरिभराउ भएपछि सृजनालाई पनि सुव्रता र अजमेरीजस्तै गरी भुइँमा राखेर उपचार गरियो ।

कोशी अस्पतालको स्त्री तथा प्रसुती विभागमा पुग्दा देखिएका यी त प्रतिनिधीमूलक दृश्य मात्रै हुन् । हेल्थआवाजकर्मी बुधबार विहान ८ बजे त्यहाँ पुग्दा अजमेरी, सृजना र सुव्रताजस्ता कयौं शल्यक्रिया गरिएका बिरामीसमेत चिसो भुइँमै उपचार गराइरहेका दृश्यहरु देखिए । कोशीको स्त्री तथा प्रसुती विभागको ७८ शैय्या बिरामीले भरीभराउ भएपछि बुधबार विहान १५ देखि २० जना बिरामीलाई यहाँका स्वास्थ्यकर्मीहरूले भुइँमा राखेर उपचार गर्दै आएका छन् ।

कोशीमा दैनिक २५ देखि ३० जना गर्भवतीको सामान्य प्रसुती हुने गर्दछ । १२ देखि १५ जना गर्भवतीको शल्यक्रिया हुने गरेको छ । दैनिक १५ जनासम्म गर्भवतीको शल्यक्रियामार्फत शिशुलाई जन्म दिने अस्पतालमा १० शैय्याको पोस्टअप वार्ड छ । शल्यक्रिया गरेपछि २४ घण्टा अब्जरबेसन र थप उपचारको लागि बिरामीलाई पोस्टअप वार्डमा राखेर उपचार गरिनुपर्ने चिकित्सकहरू बताउँछन् ।

तर, शैय्या अभावको कारण अहिले ८ घण्टा मात्र एक जना बिरामीलाई पोस्टअप वार्डमा राखेर पोस्टेनल वार्डमा सारिने गरेको उपचारमा संलग्न चिकित्सकहरू बताउँछन् । ‘ठाउँ नभएपछि बिरामीलाई अर्को वार्डमा सार्नुको विकल्प छैन । नभए यही भुइँमा राखेर उपचार गर्नुपर्ने बाध्यता छ,’ उपचारमा संलग्न एक चिकित्सकले भने, ‘बिरामीलाई मर्नु त दिनु भएन् । बचाउनु प¥यो । त्यही भएर पनि हामीले विरामीलाई भुइँमा राखेर उपचार गर्नुपर्ने बाध्यता छ ।’

गर्भवती बिरामीको संख्या बढेपछि यहाँ कार्यरत स्वास्थ्यकर्मीले स्त्री तथा प्रसुती विभागको तेस्रो तलामा ट्रस्ट बनाएर शैय्या थपका लागि माग राखेका छन् । तर, अस्पताल प्रशासनले शैय्या विस्तारमा चासो नदेखाएको चिकित्सकहरुको भनाइ छ । ‘प्रसुती विभागको भवनको माथिल्लोे तलामा ट्रस्ट बनाएर ३० देखि ४० वटासम्म बेड थप हुने थियो । त्यसमा अस्पतालका मेसु र अस्पताल विकास समितिले ध्यान दिएकै छैन । हामी भन्दा—भन्दा आजित भइसक्यौं,’ एक अर्का चिकित्सकले हेल्थआवाजसँग गुनासो पोखे ।

२ नर्सले २६ जना बिरामी हेर्नुपर्ने बाध्यता

कोशी अस्पतालमा प्रसुती तथा स्त्री रोग विभागमा ३९ जना नर्स कार्यरत रहेका छन् भने पाँच जना चिकित्सक । २९ नर्समध्ये १७ जना मेटरनिटी वार्डमा, ८ जना पोस्टअपमा र १४ जना पोस्टेनल वार्डमा कार्यरत छन् । मेटरनिटी वार्डमा रहेका एक जना नर्सले १३ जना बिरामीसम्म हेर्नुपर्ने अवस्था कोशीमा छ ।

स्वास्थ्य मापदण्ड अनुसार एक जना नर्सले ६ जनासम्म बिरामी हेरचार गर्नुपर्ने हो । तर, यहाँ १३ जनाभन्दा बढी बिरामी १ जना नर्सले हेर्नुपर्ने अवस्था छ । प्रसुती तथा स्त्री रोग विभागले अस्पताल प्रशासनसँग थप जनशक्ति माग गर्दा पनि अलिहेसम्म उपलब्ध गराएको छैन ।

शल्यक्रियापछि ‘पोस्टअप’मा राख्नुपर्ने बिरामी भुइँमा

शल्यक्रिया सम्बन्धी प्रोटोकलका दृष्टिकोणले शल्यक्रिया गरेपछि बिरामीलाई अनिवार्य रुपमा पोस्टअप वार्डमा राख्नुपर्ने हुन्छ । तर, शैय्या अभावको कारण बाध्यताका कारण कोशीमा शल्यक्रिया गरिएका बिरामीलाई भुइँमा राखेर उपचार गर्ने गरिएको छ ।

शल्यक्रिया गरिएको बिरामीलाई भुइँमा राखेर उपचार गर्दा बिरामीलाई संक्रमण हुने प्रसुती तथा स्त्री रोग विशेष डा. बालकृष्ण साहले बताए । ‘शल्यक्रिया गरेपछि थप उपचार र अब्जरबेसनका लागि पोस्टअप वार्डमा राख्नुपर्ने हुन्छ,’ डा. साहले भने, ‘पोस्टअप वार्डमा नराखेर भुइँमा राख्दा बिरामीलाई संक्रमण हुने खतरा बढी हुन्छ ।’

शैय्या विस्तारको लागि पहल गरेका छौं : मेसु यादव

कोशी अस्पतालका मेसु डा. लक्ष्मीनारायण यादवले अस्पतालको स्रोत साधनले भ्याएसम्म अस्पतालमा आएका बिरामीको उपचार गरेको बताए । ‘पुरानो भवनमा हुँदा स्त्री तथा प्रसुती विभागमा एक सय शैय्याको थियो । अहिले नयाँ भवनमा गएपछि शैय्या घटेर ७८ मा खुम्चिएको छ । त्यही भएर पनि अहिले समस्या आएको हो,’ मेसु यादवले भने, ‘नयाँ भवनको माथिल्लो तलामा ट्रस्ट बनाएर ४० शैय्या थप गर्ने तयारीमा छौं । त्यसको लागि मन्त्रालयसँग बजेट माग गरिएको छ ।’

निकास भएर आएपछि थप शैय्या विस्तारमा अस्पताल लागि पर्ने उनले बताए । ‘यहाँ आउने बिरामी विपन्न समुदायका हुने गरेका छन् । आएका बिरामीलाई सकभर रिफर नगर्ने भएकोले हुनाले पनि बिरामीको संख्या बढेको छ,’ उनले भने । ३५० शैय्याको कोशी अस्पतालमा दैनिक १ हजार २ सयदेखि १ हजार ५ सय सम्म बिरामी ओपीडीमा सेवा लिने गरेको अस्पतालको अभिलेखमा देखिन्छ ।




क्याटेगोरी : प्रदेश १, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ