२०८० चैत्र १६, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसमाचारएपीक्याटको सातौँ सम्मेलन इण्डोनेसियाको बालीमा सुरु

एपीक्याटको सातौँ सम्मेलन इण्डोनेसियाको बालीमा सुरु


काठमाडौं  । सुर्तीजन्य पदार्थ र नसर्ने रोगविरुद्ध एसिया प्रशान्त क्षेत्रका नगरहरुको दबाब समूह एपीक्याटको सातौँ सम्मेलन इण्डोनेसियाको बालीमा सुरु भएको छ । तीन दिने यो सम्मेलन कोभिड—१९ महामारीपछिको भौतिक उपस्थितिमा भएको पहिलो सम्मेलन हो ।

सम्मेलनमा १२ देशका ८२ सहरका नगर प्रमुख तथा प्रतिनिधि तथा स्वास्थ्य अधिकारीहरु सहभागी छन् । सम्मेलनमा उनीहरुले सुर्तिजन्य पदार्थको नियन्त्रण र नियमनका लागि आफ्नो तर्फबाट कदम चाल्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

कार्यक्रमको उदघाट्न बालीका गभर्नर आई वायन कोस्टर, दी युनियनका क्षेत्रीय निर्देशक डा तारासिंह बम, इण्डोनेसियाको बोगर सिटीका नगरप्रमुख डा.बीमा अर्या सुगियारटोलगायतले संयुक्त रुपमा गरेका थिए ।

बोगरका नगर प्रमुख डा. सुगियारटोले सुर्र्तीजन्य पदार्थको नियन्त्रणका लागि बलियो राजनीतिक प्रतिवद्धताको खाँचो भएको बताए । उनले सुर्तिजन्य पदार्थको नियन्त्रणका लागि कर बढाउने, प्रयोगलाई घटाउने, विज्ञापन तथा प्रवद्र्धनलगायतका प्रचार—प्रचार बन्द गर्ने, उत्पादनमा रोक लगाउनुपर्ने बताए।

‘टोबाको फ्रि जेनेरेसन’ बनाउन युवाहरुलाई उत्प्रेरित गर्न आवश्यक भएको बताउँदै उनले भने, ‘सुर्तिजन्य पदार्थको नियन्त्रणको विषयलाई सबैले प्राथमिकतामा राख्नुपर्छ । यसको लागि राजनीतिक नेतृत्वकर्ताको आवश्यकता छ । राजनीतिक नेतृत्वकोे विकासका लागि एपीक्याट राम्रो मञ्च हो ।’

डेन्पासार बालीका नगर प्रमुख गुस्टी एनगुराह जया नेगाराले सन् २०२४ सम्ममा सुर्तिजन्य पदार्थको सेवन गर्ने युवाहरुको संख्या ९ दशमलव ४ बाट ८ दशमलव ४ प्रतिशतमा झार्ने लक्ष्य रहेको बताए । डेन्पासारका सबै सार्वजनिक स्थलमा सुर्तिजन्य पदार्थको प्रयोगमा रोक लगाएको भन्दै उनले टोबाको फ्रि सिटी बनाउने आफ्नो लक्ष्य रहेको जानकारी दिए ।

रिपब्लिक अफ इण्डोनेसियाका स्वास्थ्यमन्त्री बुडी गुनाडी सादीकीनले सरकारले सुर्तिजन्य पदार्थको बेचबिखनमा रोक लगाइएको बताए । सुर्तिजन्य पदार्थको प्रयोग घटाउन र नियन्त्रण गर्न स्थानीय सरकारको जिम्मेवारी भएको उनको भनाइ थियो ।

उद्घाटन समारोहमा बोल्दै दी युनियनका क्षेत्रीय निर्देशक डा. तारासिंह बमले सूर्तीजन्य पदार्थको नियन्त्रण र नियमनका लागि राजनीतिक रुपमा प्रतिवद्धता र कार्यन्वयन आवश्यक रहेको बताए । सुर्तीजन्य पदार्थको नियन्त्रण गर्न सके मात्र नसर्ने रोगहरुको भारलाई समेत कम गर्न सकिने उनले बताए ।

यो सँगै सम्मेलनले पाँच बुँदे घोषणापत्र समेत जारी गरेको छ । धूम्रपानरहित वातावरण निर्माणका लागि सुर्तिजन्य पदार्थको विज्ञान, प्रचार—प्रसार बन्द गर्ने, चेतावनीमूलक सन्देश सहितको प्याकिजिङ कार्यन्वयन गर्ने, विद्युतीय चुरोटलगायत सुर्तिजन्य पदार्थमा बन्देज लगाउने घोषणापत्रमा उल्लेख छ ।

सुर्तिजन्य पदार्थ, मादक पदार्थ लगायत अस्वस्थकर खानेकुराको कर बढाउने, सुर्तिजन्य पदार्थको उत्पादन गर्ने उद्योगहरुले उपलब्ध गराउने कुनै पनि लाभदायक वस्तु अस्वीकार गर्ने र एकद्धार स्वास्थ्य प्रणालीमार्फत पहु“च योग्य एक स्वस्थ नगर बनाउने घोषणापत्रमा उल्लेख गरिएको छ ।

स्वास्थ्य पत्रकार मञ्च नेपाललाई एपिक्याट अवार्ड २०२२ प्रदान गरिएको छ । नसर्ने रोग तथा सुर्तीजन्य पदार्थ नियन्त्रण सम्वन्धी अभियानमा मञ्चले योगदान गरेको भन्दै अमेरिकाको ब्लुम्वर्ग फिल्यान्थ्रोपिक र इन्डोनेशियाको बोगर सिटीका मेयर विमा आर्याले मञ्चका अध्यक्ष रामप्रसाद न्यौैपानेलाई सो अवार्ड हस्तान्तरण गरे ।

कार्यक्रममा सुर्तीजन्य पदार्थ विरुद्धको अभियानमा क्रियाशील विभिन्न सरकारी तथा गैरसरकारी संस्थाहरुलाई एपीक्याट अवार्ड २०२२ प्रदान गरिएको थियो । सम्मेलनमा नेपालका तर्फबाट भरतपुर महानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख दीपक सुवेदी सहभागी छन् ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ