२०८१ वैशाख ८, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारमधेशमा स्वास्थ्य बिमाको पहुँच कमजोर, १ नं. प्रदेशका ४२ प्रतिशत नागरिक स्वास्थ्य बिमामा जोडिए

मधेशमा स्वास्थ्य बिमाको पहुँच कमजोर, १ नं. प्रदेशका ४२ प्रतिशत नागरिक स्वास्थ्य बिमामा जोडिए


काठमाडौं—मधेस प्रदेशमा स्वास्थ्य बिमाको पहुँच सबैभन्दा कमजोर रहेको पाइएको छ । राष्ट्रिय संयुक्त वार्षिक समीक्षा कार्यक्रममा सार्वजनिक तथ्यांकअनुसार मधेश प्रदेशमा अन्य ६ वटा प्रदेशहरुको तुलनमा सबैभन्दा कम ७.५ प्रतिशतको पहुँचमा मात्रै स्वास्थ्य पुगेको पाइएको हो ।

तथ्यांकमा सबैभन्दा बढी पहुँच प्रदेश नं १ मा ४२ प्रतिशतमा स्वास्थ्य बिमाको पहुँच पुगेको छ । यस्तै, बागमती प्रदेशको २२ प्रतिशत, गण्डकी प्रदेशको २३ प्रतिशत, लुम्बिनी प्रदेशमा २० प्रतिशत मानिसको पहुँचमा स्वास्थ्य बिमा पुगेको छ ।

कर्णाली प्रदेशको २१ प्रतिशत र सुदूरपश्चिम प्रदेशको १८.६ प्रतिशत बासिन्दामा स्वास्थ्य बिमाको पहुँच छन् । तर, मधेश प्रदेशमा भने सबैभन्दा कम ७.५ प्रतिशत नागरिकको मात्रै महत्वकांक्षी स्वास्थ्य कार्यक्रम स्वास्थ्य बिमामा पहुँच स्थापित भको छ । त्यसपछि सबैभन्दा कम सुदूरपश्चिम प्रदेशमा १८.६ प्रतिशतमा स्वास्थ्य बिमा कार्यक्रम पुगेको छ । नेपालभरको कुल जनसंख्याको जम्मा २२.५ प्रतिशतमा स्वास्थ्य बिमा सुविधा पुगेको छ ।

मधेस प्रदेशमा बिमाको न्यून पहुँच हुनुका विभिन्न कारण रहेको स्वास्थ्य बिमा वोर्डका कार्यकारी निर्देशक दामोदर बसौला बताउँछन् । ‘सेवा प्रदायक संस्थाहरूको कमी र सेवाकै लागि घण्टौँ पैदल हिँडेर पुग्नुपर्ने स्थिति भएका कारण मधेश प्रदेशमा कम मानिसहरुमा स्वास्थ्य बिमाको पहुँच पुगेको हो,’ डा. दामोदर बसौलाले भने, ‘कर्मचारीहरूको अभाव भएकाले पनि मधेशमा स्वास्थ्य बिमा सेवाको यो अवस्था आएको हो ।’

उनकाअनुसार सरकारी कर्मचारीहरूमा अपनत्वको भाव कम, बिमा गरेकाहरु सेवा लिन घण्टौँ पैदल जानुपर्ने स्थितिका कारण पनि मधेश र सुदूरपश्चिम प्रदेशमा स्वास्थ्य बिमामा पहुँच कम भएको हो ।

३० प्रतिशतले गरेनन् बिमा नवीकरण

स्वास्थ्य बिमा नवीकरण गराउनेको संख्यामा पनि उल्लेख्य मात्रामा गिरावट आएको छ । गत असारसम्मको तथ्यांकअनुसार ५६ प्रतिशतले स्वास्थ्य बिमा नवीकरण गरेका छैनन् । तर, कार्यकारी निर्देशक डा. बसौलाले स्वास्थ्य बिमा नवीकरण गर्नेको संख्या बढेर असोज अन्तिमसम्ममा ७० प्रतिशत पुगेको बताए । ‘असोजसम्म स्वास्थ्य बिमा नवीकरण गर्ने ७० प्रतिशतले गरेका छन्,’ उनले भने, ‘बाँकी ३० प्रतिशतले मात्रै नवीकरण नगराएको देखिन्छ ।’

उनले स्वास्थ्य बिमा नवीकरण नहुनुलाई भने सेवा प्रदायकको संख्या कम हुनु र बिमाका लाभग्राहीले पनि बिमालाई आफ्नो आवश्यकताअनुसार मात्र प्रयोग गर्नुलाई मुख्य कारण भएको बताए । डा. बसौलाकाअनुसार यस्तो स्थितीलाई सुधार्नका निम्ति सरकारबाट राम्रो पहल गर्नुपर्ने तथा पर्याप्त सेवा प्रदायक एवम् कर्मचारीको व्यवस्था गरिनुपर्ने टड्कारो आवश्यकता छ । ‘स्वास्थ्य बिमाको जानकारी गराउँदै जनमानसमा यसको प्रचार गर्दा सेवा प्राप्त गर्न अझै सहज हुनेछ,’ उनले भने ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ