२०८१ जेठ २, बुधबार
Health Aawaj logo
गृहपृष्ठलुम्बिनी प्रदेशसुशील कोइराला क्यान्सर अस्पतालः मुखको चौथो स्टेजको क्यान्सरको सफल शल्यक्रिया

सुशील कोइराला क्यान्सर अस्पतालः मुखको चौथो स्टेजको क्यान्सरको सफल शल्यक्रिया


नेपालगन्ज—बाँकेको खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा पहिलो पटक जटिल अवस्थाको मुखको क्यान्सरको शल्यक्रिया भएको छ । क्यान्सरको संक्रमण बढ्दै गएर स्टेज ४ बी मा पुगेका बाँकेको जानकी गाउँपालिकाको प्रिहवाका बिरामी राजकुमार लोनियाको मुखको क्यान्सरको सफल शल्यक्रिया भएको हो ।

अस्पतालका हेड एन्ड नेक क्यान्सर सर्जन डा. ऋषिबेश ठाकुरको नेतृत्वमा डा. आनन्द कर्ण, डा. रवि स्वाँर, डा. शैलेष गौतमसहितको टिमले करिब ८ घण्टा लगाएर खजुरामा पहिलो पल्ट मुखको क्यान्सरको शल्यक्रिया गरेको हो ।

गुट्का र चुरोट खाने आदत भएका २६ वर्षीय राजकुमार मुखमा घाउ भएपछि उपचारका लागि नेपालगन्जको भेरी अस्पताल हुँदै भारतको लखनउसम्म पुगेका थिए ।

लखनउमा शल्यक्रियाको मात्रै साढे ३ लाख लाग्ने बताएपछि नेपाल फर्किएर सुशील कोइराला क्यान्सर अस्पताल खजुरामा भर्ना भएको राजकुमारले बताए ।

क्यान्सरका कारण लोनियाको मुखमा भएको घाउ फैलदैं गएर घाटीसम्म फैलिएको थियो । बंगाराको हड्डी र आँखाको तल्लो भागको तलको हड्डी फालेर लोनियाको गालामा छातीको मासु निकालेर शल्यक्रिया गरिएको छ ।

यस्तो अवस्थामा पुगेको क्यान्सरको शल्यक्रिया नेपालका ठूला अस्पतालमा पनि विरलै हुने गर्छ । सिमित साधन स्रोत अधिकतम उपयोग गर्दे डा. ठाकुरको नेतृत्वमा खजुरा मै यस्तो जटिल किसिमको शल्यक्रिया गरिएको हो । यो चरणको क्यान्सरको शल्यक्रिया निजी अस्पतालहरुमा गर्दा शल्यक्रिया रकममात्रै चार लाख रुपैयाँ लाग्छ ।

क्यान्सर अस्पतालले क्यान्सरका बिरामीले पाउने उपचार सुविधाबाटै राजकुमारको मुखको क्यान्सरको शल्यक्रिया गरेको अस्पतालका हेड एन्ड नेक क्यान्सर सर्जन डा. ऋषिबेश ठाकुरले बताए । शल्यक्रियापछि १२ औं दिनमा राजकुमार क्यान्सर अस्पताल खजुराबाट डिस्चार्ज भएका छन् ।

घर नजिकैको क्यान्सर अस्पतालमा जटिल अवस्थामा पुगेको मुखको क्यान्सरको शल्यक्रिया सफल भएर बिरामी डिस्चार्ज हुँदा राजकुमारका आफन्तहरुमा पनि खुशीयाली छाएको छ ।

डा. ठाकुर हेड एन्ड नेक क्यान्सर सर्जरीमा एमसीएच गर्ने सम्भवत नेपालकै पहिलो डाक्टर हुन् । डा. ठाकुरले सन् २०१७/२० ब्याचमा भारतको दिल्लीस्थित एम्सबाट हेड एन्ड नेक क्यान्सर सर्जरीमा एमसीएच गरेका थिए ।

एमसीएच कोर्स पुरा भएपछि नेपालमै फर्किएर लोकसेवा आयोगबाट नवौं तहमा नाम निस्केपछि डा. ठाकुरको भेरी अस्पताल नेपालगन्जमा पोष्टिङ भएको थियो । भेरी अस्पतालबाट काज सरुवा भएर क्यान्सर अस्पताल खजुरामा कार्यरत डा. ठाकुर र उनको टीमले मुखको क्यान्सरका अतिरिक्त थाइराइडका कारण भएका क्यान्सर बिरामीहरुको पनि जटिल शल्यक्रिया गरिसकेको छ ।

क्यान्सर अस्पताल खजुरामा फोक्सो, स्तन, पाठेघर, खाद्यनली र रक्तनलीमा हुने क्यान्सरको पहिचान र शल्यक्रियासहितको उपचार हुँदै आएको छ । क्यान्सर रोग सम्बन्धी सचेतनाको कमीका कारण अस्पतालमा आउने अधिकांश बिरामीहरु क्यान्सर रोग फैलदैँ गएर तेस्रो चौथौं चरणमा पुगेपछि मात्र उपचारका लागि आउने गरेका छन् ।

पछिल्ला वर्षहरुमा भारत र नेपालमा गुट्का, मदिरा र चुरोटको सेवन गर्ने क्रम अत्याधिक बढेका कारण मुख र फोक्सोमा क्यान्सर हुने जोखिम अत्याधिक बढ्दैं गएको छ । मुखलगायत फोक्सोको क्यान्सरको जोखिमबाट बच्न मदिरा, चुरोट र गुट्काको सेवन कम गर्नुपर्ने डा. ठाकुरले बताए ।


क्याटेगोरी : लुम्बिनी प्रदेश, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ