२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारअत्यावश्यकीय औषधीमा आत्मनिर्भर बन्न सकिन्छः विज्ञ

अत्यावश्यकीय औषधीमा आत्मनिर्भर बन्न सकिन्छः विज्ञ

चिकित्सकहरुलाई दिइने उपहार खर्च गुणस्तरीय औषधी बनाउन प्रयोग गर्न डा. कोइरालाको सुझाव


काठमाडौं—अत्यावश्यक औषधीमा नेपाललाई आत्मनिर्भर बनाउन सकिनेमा विज्ञहरुले जोड दिएका छन् । राजधानीमा आयोजित कार्यक्रममा बोल्दै विज्ञहरुले नेपाली औषधीलाई गुणस्तरीय बनाउदैँ अघि लैनाजे हो भने स्वदेशमै उत्पादन भएको औषधी नै पर्याप्त हुने धारणा राखेका हुन् ।

औषधी व्यवस्था विभागका महानिर्देशक भरत भट्टराईले गुणस्तरीयतामा केन्द्रित भएर अगाडि बढ्ने हो भने विदेशी औषधी आयातमा आफै कमी आउने बताए । उनले गुणस्तर सुधार गर्न उत्पादकको दायित्व, विभागको दायित्व, नीतिमा संशोधनलगायतका कुरा गरेर अगाडि बढ्नुपर्ने औल्याए । साथै, उद्योगको प्रवर्द्धनका लागि राज्यपक्षबाट गर्नुपर्ने कुरालाई अगाडि बढाउन विभाग सधैँ तयार रहेको उनको भनाइ थियो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय नीति, योजना महाशाखा प्रमुख डा. कृष्णप्रसाद पौडेलले गुणस्तरीयता पहिलो प्रथमिकतामा रहेको बताए । उनले नेपाली उद्योगले महामारी र भूकम्पको समयमा खेलेको भूमिका सह्रानीय रहेको बताउँदै नेपाली उद्योगको वृद्धि विकासका लागि मन्त्रालयले सहयोग गर्ने बताए ।

नेपाल मेडिकल काउन्सिलका अध्यक्ष प्रा.डा. भगवान कोइरालाले नेपालमा उत्पादन भएका गुणस्तरीय औषधी नेपाली चिकित्सकहरुको पहिलो रोजाइ परिरहेको बताए । गुणस्तर सँगसँगै मुल्यको पनि कुरा उठ्ने गरेको उनले बताए । डा. कोइरालाले औषधी कम्पनीले प्रचारको नाममा चिकित्सकहरुलाई दिइने उपहारलगायतका कुरामा हुने खर्च गुणस्तरीय औषधी बनाउनको लागि खर्च गर्न सुझाएका थिए ।

कार्यक्रममा मेडिकल काउन्सिलका रजिष्ट्रार डा. कृष्णप्रसाद अधिकारीले विगतमा गरिएका नीतिगत निर्णयलाई खोजेर त्यसको कार्यान्वयन तहमा जान जोड दिए । उनले भने, ‘पटक—पटक धेरै निर्णयहरु भएका छन् । तर, कहाँ के छन् थाहा छैन् । कार्यान्वयन भएको छैन । यसलाई खोज्नुपर्‍यो र कार्यान्वयन गर्नुपर्‍यो । नत्र कार्यक्रमका लागि कार्यक्रम मात्रै हुन्छ ।’

युएस फर्माकोपियाका उपाध्यक्ष जुड नोकीले औषधीको गुणस्तर अभिवृद्धि गरेर सबैको पहुँचमा सहज तरिकाले उपलब्ध गराउन सकेमा युनिभर्सल हेल्थ कभरेजको लक्ष्य पूरा गर्नसमेत सहयोगी हुने बताए । उनले युएस फर्माकोपियाले कसरी काम गरिरहेको छ भनेर प्रस्तुतीसमेत गरेका थिए ।

युएस फर्माकोपिया एसियाका क्षेत्रीय निर्देशक मेहमुद अनवरले आत्मनिर्भरताको कुरा गर्दा नियमन तथा अनुगमन प्रणालीलाई थप सुदृढीकरण गर्नुपर्ने बताए । उनले गुणस्तरीय स्थानीय उत्पादनलाई प्रवर्द्धन गर्नुपर्ने र बजारबाट गुणस्तरीय स्वदेशी औषधीको माग बढाउनुपर्नेमा जोड दिए ।

नेपाल औषधी उत्पादक संघका वरिष्ठ उपाध्यक्ष महेश प्रधानले नेपाली औषधी उद्योगले उत्पादन गरेका औषधीको गुणस्तरमा शंका नलिन आग्रह गरे । ‘राष्ट्रिय औषधी प्रयोगशाला र विभागले परीक्षण गरेकै हुन्छ । त्यहाँबाट गुणस्तर प्रमाणित गरेर नै बजारमा जाने हो । गुणस्तर प्रमाणित भइसकेका औषधीहरुमा थप शंका गर्न जरुरी छैन,’ उनले भने । उनले नेपाली उद्योगले उत्पादन गरेका औषधीमा शंका गर्ने हो भने नेपाली चिकित्सकमा पनि शंका गर्न सकिने धारणा व्यक्त गरे । प्रधानले आत्मनिर्भरताको कुरा गर्दा राज्यले स्वदेशी उद्योगलाई दिनुपर्ने सुविधाको बारेमा पनि स्पष्ट हुनुपर्ने बताए ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ