२०८१ वैशाख १३, बिहीबार
Health Aawaj logo
गृहपृष्ठसमाचारकर्णालीमा १९ वर्षभन्दा कम उमेरमै २१ प्रतिशत युवती हुन्छन् गर्भवती 

कर्णालीमा १९ वर्षभन्दा कम उमेरमै २१ प्रतिशत युवती हुन्छन् गर्भवती 


सुर्खेत – कर्णालीका १५ देखि १९ वर्ष उमेर समूहका युवतीहरू कुनै न कुनै समयमा गर्भवती हुने गरेको पाइएको छ । सुरक्षित गर्भपतन मापदण्ड र गलत व्यवहारबारे स्वास्थ्य लाइभ अनलाइन मिडियाले सुर्खेतमा आयोजना गरेको पत्रकार अन्तर्क्रिया कार्यक्रममा स्वास्थ्य सेवा निर्देशनालयका निमित्त निर्देशक दीपा भट्टराईले १५ देखि १९ वर्ष उमेर समूहका २१ प्रतिशत युवतीहरू कुनै न कुनै बेला गर्भवती भइरहेको बताइन् ।

कम उमेरमा गर्भवती हुने युवतीको सङ्ख्या सबै भन्दा बढी कर्णालीमा देखिएको छ । यसबाट असुरक्षित गर्भपतनको सङ्ख्या व्यापक भएको अधिकारीहरूले बताएका छन् । सरकार समक्ष सुरक्षित रुपमा हुने गर्भपतन त्यसमा पनि सूचीकृत स्वास्थ्य संस्थाको तथ्याङ्क मात्रै  उपलब्ध छ । तर, असुरक्षित रूपमा भएको र सूचीकृत स्वास्थ्य संस्था बाहिर भएको गर्भपतनको कुनै पनि तथ्याङ्क सरकार समक्ष छैन ।
निमित्त निर्देशक दीपा भट्टराईले परिवार नियोजनका साधन प्रयोग गर्ने दर बढाउन नसकेको बताउँदै देशका सुगम प्रदेशहरूमा दातृ निकायको सहयोग फालाफाल रहेको छ तर, कर्णाली प्रदेशमा स्वास्थ्यमा दातृ निकायको सहयोग शून्य रहेको बताइन् ।

सरकारको नारा छ, ‘बिहाबारी बिस वर्षपारि’ यद्यपि कर्णालीमा २० वर्षभन्दा कम उमेर समूहका महिलाको गर्भपतन सङ्ख्यामा वृद्धि हुँदै छ भट्टराईले भनिन् ।’ नेपालमा सुरक्षित गर्भपतन गराउनका लागि १५ सय स्वास्थ्य संस्था मध्ये कर्णालीमा ७० वटा सूचीकृत रहेको उनले बत्ताइन् । उनका अनुसार गत वर्ष चार हजार ८ सय ६० जनाले सुरक्षित रूपमा गर्भपतन गराएका थिए ।

जनचेतनाको अभावले सुरक्षित गर्भपतन सेवाबाट महिला वञ्चित भइरहेका छन् । निमित्त निर्देशक दीपा भट्टराईले बताए अनुसार प्रदेशमा सुरक्षित गर्भपतनबारे एक वटा मात्रै तालिम भएको छ । नेपालमा प्रति वर्ष १२ लाख महिला गर्भवती हुने गरेकामा पाँच लाख ३९ हजार अथवा ४५ प्रतिशत अनिच्छित गर्भवती हुने गरेको छ । त्यसमध्ये एक लाख २८ हजारको अनिच्छित जन्म हुन्छ । त्यस्तै वार्षिक तीन लाख ५१ हजार गर्भपतन हुने गरेको छ भने बाँकी ६१ हजार आफैँ खेर जाने गरेको छ ।

निमित्त निर्देशक दीपा भट्टराईले सकेसम्म गर्भपतन नगराउन र यदि गराउनै परेको खण्डमा कानुन र स्वास्थ्यका हिसाबले सुरक्षित रूपमा गराउन आग्रह गरेकी छन् । नेपालमा ६ वटा गर्भपतनको औषधिले मात्र प्रयोगको अनुमती पाएको छ तर, खुल्ला सिमाना भएकाले दर्ताबिनाका थुप्रै औषधिहरू बिक्रिवितरण भइरहेको जनाइएको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ