२०८१ साउन ४, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसमाचारविदेशी दातामात्रै राखेर रिसोर्टमा अपांगता व्यवस्थापनको वार्षिक योजना बनाइयो, सरोकारवाला रुष्ट

विदेशी दातामात्रै राखेर रिसोर्टमा अपांगता व्यवस्थापनको वार्षिक योजना बनाइयो, सरोकारवाला रुष्ट

साढे ६ लाख खर्चेर गोकर्ण रिसोर्टमा दुई दिने आवासीय बैठक


काठमाडौं—इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाअन्तर्गतको कुष्ठरोग नियन्त्रण तथा अपांगता व्यवस्थापन शाखाले आगामी वर्षको वार्षिक योजना तथा बजेट निर्माण सम्बन्धी बैठक ठूलो रकम खर्च गरेर गोकर्ण फरेष्ट रिसोर्टमा गरेको पाइएको छ । अधिकांश विदेशी दाताहरुलाई मात्रै बोलाएर  पुस १३ र १४ गते गोकर्णमा दुई दिने आवासीय बैंठक गरेको हो ।

विभाग निकट स्रोतकाअनुसार उक्त रिसोर्ट बैठकको बजेट साढे ६ लाख रुपैयाँ हो । विदेशी दाताहरुलाई मात्रै बोलाइएको उक्त कार्यक्रममा नेपाली सरोकारवालाहरुलाई भने वाइपास गरिएको छ । कुष्ठरोग नियन्त्रण तथा अपांगता व्यवस्थापन सम्बन्धी वार्षिक योजना तथा बजेट तयारीजस्तो महत्वपूर्ण बैठकमा सहभागी नगराइएको नेपाली सरोकारवालाहरुले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. रोशन पोखरेल र स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. दीपेन्द्ररमण सिंहलाई ध्यानाकर्षण गराएका हुन् ।

नेशनल एशोसिएसन अफ सर्विस प्रोभाइडर इन रिह्याबिटेसनका अध्यक्ष यम मैनालीले शाखाले व्यक्तिगत र तजबिजको आधारमा काम गरिरहेको बताए । ‘शाखाले केही समयदेखि व्यक्तिको एकल तजबिजमा काम गरिरहेको थियो,’ उनले भने, ‘हामीले त्यसबारेमा कुरा उठाउन थालेपछि हामीलाई नै वाइपास गरेर देशका लागि महत्वपूर्ण हुने बैठक विज्ञहरुबिना नै गरियो ।’ उनले आफूहरुले व्यक्तिको तजबिजका आधारमा यस्ता कार्यक्रमहरु नगर्न स्वास्थ्य सचिव डा. पोखरेल र विभाग महानिर्देशक डा. सिंहलाई सुझाव दिदैं ध्यानाकर्षण पत्र बुझाएको उल्लेख गरे ।

‘आगामी वर्षको योजना र बजेट बनाउने कुरामा विज्ञ नै नराखेर काम गरिरहेका छन् । यो अत्यन्तै लज्जास्पद कुरा हो,’ उनले भने । सरोकारवालाहरुले अहिले शाखाका प्रमुखको तजबिजमा आफूहरुलाई वाइपास गर्ने गरिएको आरोप लगाउँदैं आएका छन् ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखामा प्रमुख डा. चुमनलाल दासले को छुटेको छ भन्ने कुरा आफूलाई जानकारी नभएको बताए । ‘त्यो शाखाले गर्ने कार्यक्रम हो । म पनि कार्यव्यवस्ताका कारणले जान पाइन्,’ डा. दासले भने, ‘को छुट्यो म बुझौला ।’ तर, कार्यक्रममा सहभागी हुने बारेको पत्रमा भने डा. दासको नै हस्ताक्षर छ ।

स्वास्थ्य सचिव र महानिर्देशकलाई उजुरी गर्ने संस्थाहरुमा नेशनल एशोसिएसन अफ सर्विस प्रोभाइडर इन रिह्याबिटेसन, नेपाल फिजियो थेरापिष्ट एशोसिएसन, फिजियो थेरापी रिह्याबिटेसन सेन्टर एशोसियन नेपाल, कृत्रित हातखुट्टा सोसाइटी नेपाल, एशोसिएसन अफ नेपाल अकुंपेशनल थेरापिष्ट, स्पीच अफ हेयर एशोसिएसन अफ नेपालले रहेका छन् ।

‘म आफै अपांगता भएको व्यक्ति हो । हामी १० औं वर्षदेखि हामी पुनःस्थापनामा लागिरेका छौं,’ मैनालीले थपे, ‘राज्यलाई हामीले पुनःस्थापनाको गाइडलाइन बनाउने काममा सहयोग गर्छौ । हामीलाई सहभागी गराएर मात्रै सबै रिह्याबको अवधारणा पूरा हुन्छ । तर, हामीलाई खबरै गरिएन ।’ उनले कार्यक्रम गर्नका लागि ठूला होटल खोज्ने र शाखाका पछिल्ला गतिविधी ठिक भएन भनेर आवाज उठाएपछि आफूलाई वाइपास गरिएको दावी गरे ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ