२०८१ वैशाख १४, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठलुम्बिनी प्रदेशनेपालगन्जमा दादुराको महामारी, नियन्त्रणका लागि खोपसँगै ‘भिटामिन ए’ खुवाउन सुरु

नेपालगन्जमा दादुराको महामारी, नियन्त्रणका लागि खोपसँगै ‘भिटामिन ए’ खुवाउन सुरु


नेपालगन्ज—महामारीको रुपमा फैलिएको दादुराको प्रकोप नियन्त्रणका लागि नेपालगन्जमा दादुराको खोपसँगै ‘भिटामिन ए’ खुवाउन सुरु गरिएको छ । दादुराको संक्रमणबाट एकजना बालकको मृत्यु हुनुका साथै ३० जना बालबालिका बिरामी परेपछि दादुराको प्रकोप नियन्त्ररणका लागि संक्रमित बिरामीको खोज तलास र उपचारसँगै ६ महिनादेखि १५ वर्ष उमेरका बालबालिकालाई दादुरा विरुद्धको खोप र भिटामिन एकको क्याप्सुल खुवाउन सुरु गरिएको हो ।

नेपालगन्जमा ५ देखि १२ वर्ष उमेरका ३० जना बालबालिकामा दादुराको संक्रमण देखिएको छ । संक्रमण देखिएका अधिकांश बालबालिका मुस्लिम र मधेशी समुदायका छन् । दादुराको संक्रमण फैलदै गएपछि अभिभावकहरुले नजिकैको खोप केन्द्रमा लगेर आफ्ना बालबालिकाहरुलाई दादुरा विरुद्धको खोप र भिटामिन ए को क्याप्सुल खुवाउन थालेका छन् ।

स्वास्थ्य कार्यालय, बाँकेको सहयोगमा नेपालगञ्ज उपमहानगरपालिकाले दादुरा फैलिएको नेपालगन्ज उप—महानगरपालिकाको ५, ७ र ८ नम्बर वडामा आजदेखि दादुराविरुद्धको खोप र भिटामिन एको क्याप्सुल खुवाउन अभियान सुरु गरेको हो ।

दादुरा सरुवा रोग भएका कारण संक्रमण देखिएका बिरामी खोक्दा, खानेकुराहरु बाडेर खादा, एउटै कपडा पालैपालो गरेर प्रयोग गर्दा अन्य व्यक्तिमा सर्छ । दादुरा संक्रमण भएका बालबालिकाहरुमा ज्वरो आउनु र शरीरमा राता विमीरा देखा पर्ने, नाकबाट पानी बग्ने, खोकी लाग्ने, आँखा रातो हुने, अँँखा पाक्नेजस्ता लक्षण देखिन्छ ।

दादुराको संक्रमण फैलिएपछि शिक्षकहरुले पनि स्वास्थ्यकर्मीहरुको परामर्शमा विद्यार्थी र अभिभावकहरुलाई दादुरा रोगको संक्रमण र त्यसबाट बच्ने उपायहरुका बारेमा जानकारी गराउन सुरु गरेको आइडियल पब्लिक स्कुल नेपालगन्जका प्रिन्सिपल बिजेन्द्र श्रीवास्तवले बताए ।

पहिलो दिन नेपालगन्जका ४ वटा खोप केन्द्रमा ८ सय ७९ जना बालबालिकालाई दादुराको खोप र भिटामिन एको क्याप्सुल खुवाइएको छ । दादुराको खोप र भिटामिन एको क्याप्सुल खुवाउने अभियानलगातार ३ दिनसम्म संचालन हुने नेपालगन्ज उप महानगरपालिका स्वास्थ्य शाखाका प्रमुख रामबहादुर चन्द्रले बताए ।

समयमै उपचार नहुँदा दादुराको संक्रमणबाट बालबालिकाको मृत्यु हुने जोखिम पनि हुन्छ । बिशेष गरी कुपोषित बालबालिकाहरुमा दादुरा संक्रमण भयो भने मृत्यु हुने जोखिम हुन्छ ।

बाँकेमा ३० जनामा एकै साथ दादुराको संक्रमण देखिएपछि सन् २०२३ सम्म नेपालबाट दादुरा रोग निवारण गर्ने लक्ष्यमा चुनौती थपिएको छ ।


क्याटेगोरी : लुम्बिनी प्रदेश, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ