२०८१ वैशाख ७, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठअन्तर्वार्ता / विचारयी कारणले हुन्छन् मानिस कुप्रो

यी कारणले हुन्छन् मानिस कुप्रो


डा. विनोद शेरचन,
वरिष्ठ हाडजोर्नी विशेषज्ञ
ट्रमा सेन्टर
सामान्यतयाः हाम्रो वरपर भएका ब्यक्तिमध्ये धेरैजसोले कुप्रोपनको समस्या भोगिरहेका हुन्छन् । कुनै पनि ब्यक्तिको मेरुदण्ड कमजोर भएर खिइदा वा टेढो हँुदा कुप्रोपनको समस्या देखा पर्छ । उक्त मेरुदण्ड कमजोर हुने समस्यालाई मेडिकल भाषामा ‘ओस्टियोपोरोसीस’ भनिन्छ । बढ्दो उमेरको क्रमसंगै मानिसहरुमा यस्ता समस्या देखिन्छ । तर, तुलनात्मक रुपमा भन्ने हो भने यो समस्या पुरुषमा भन्दा महिलामा बढी देखा पर्ने हुन्छ । बढ्दो उमेरको क्रमसंगै रज्वस्वला रोकिएसंगै महिलाको शरीरमा हार्मोनको कमी हुन्छ, जसको अभावमा उनीहरुको शरीरको मेरुदण्डका हड्डीहरु कमजोर हुन गइ खिइने र कुचिने हुन्छ । र, परिणाम स्वरुप उनीहरु पुरुषको तुलनामा छिटो र धेरै कुप्रिने हुन्छ ।

यसैगरि, कुनै–कुनै ब्यक्ति शारीरिक बनावटको हिसाबले तन्दुरुस्त भएता पनि उनीहरुमा कुप्रोपनको समस्या देखिन्छ । जन्मजातै रुपमा कुप्रोपनको शिकार हुने ब्यक्तिहरुमा शरीरका हड्डीको भाग राम्ररी नबनेर वा आधा मात्रै बनेका कारण यस्ता समस्या देखा पर्ने हुन्छ, भने अन्य ब्यक्तिमा यस्ता समस्या देखा पर्नुमा थुप्रै कारणहरु रहेको पाइन्छ । कुप्रोपनका विभिन्न कारणहरु रहेता पनि मेरुदण्डमा पर्न गएको असरलाई नै मुख्य कारक तत्व मानिन्छ । जन्मजात कुप्रोपनको शिकार भएर जन्मिएकाबाहेक कालान्तारमा गएर पछि मात्रै कुप्रिने समस्या भएका ब्यक्तिहरुको कारणहरुलाई निम्न अनुसार प्रस्तुत गर्न सकिन्छः

–वशांणुगत गुण
– चोटपटक
– मेरुदण्डको इन्फेक्शन
– शरीरमा लागेका विभिन्न रोग तथा ट्युमर
– बढ्दो उमेर
– क्षयरोग
– शरीरका नशाहरु खुम्चिएमा
– हड्डीहरु खिइनाले
– र, हर्मोनको कमी ।
यसबाहेक वर्तमान समयमा अभिभावकहरुले आफ्ना बालबालिकामा यस्तो समस्या देखिुनुमा उनीहरुको बोक्ने गरेको स्कुले ब्याग र अन्य भारी सामान रहेको पनि पाइन्छ । तर, भारी ब्यागका कारण १० देखि १५ प्रतिशत मात्र उनीहरुको मेरुदण्डको आकारमा परिवर्तन देखा परेता पनि उनीहरुलाई पुर्ण रुपमा कुप्रो भने बनाउदैन । तर, बालबालिका यदि कुनै पनि इन्फेक्शनका शिकार भएको छ भने त्यसबेला भारी सामान उचाल्नाले पनि उनीहरुलाई कुप्रो बनाइरहेको हुन्छ ।

रोकथाम तथा उपचार
दोस्रो ब्यक्तिको स्वास्थ्यको ख्याल राख्ने कुरा त छदै छ । तर, सर्वप्रथम आफ्नो शरीरको उचित ख्याल राख्नु पर्छ । त्यसैले ब्यक्तिले आफ्नाको साथै आफ्नो शरीरको पनि उत्तिकै मात्रामा उचित ख्याल राख्नुपर्छ । कुनै कुनै समस्याले गहिरो असर पारेपछि मात्रै हामीले त्यसबारे थाहा पाउने हुदा हामीले आफ्नो शरीर नियमित रुपमा परीक्षण गराउनुपर्छ । कुप्रोपनको समस्या अन्य रोग तथा इन्फेक्शनका कारणले पनि हुने भएकोले यसबाट बच्नको लागि हामीले आफ्नो स्वास्थ्यको नियमित जाँच गराउनु पर्छ । यससंगसंगै ब्यक्तिमा कुप्रोपनको समस्याको पहिचान हुनासाथ हामीले तुरुन्त सम्बन्धित चिकित्सकसंग परामर्श लिनु पर्छ ।

हल्का कुप्रोपनले ब्यक्तिमा खासै समस्या नदेखिएता पनि बढ्दै गएको कुप्रोपनले भने उनीहरुको दैनिक गतिविधिमा समेत बाधा पार्छ । जसले गर्दा उनीहरुलाई उपचारको जरुरत पर्छ । तर, यसबाहेक कुप्रोपनले ब्यक्तिको ब्यक्तित्वमा समेत हृास ल्याउने हुनाले ब्यक्तिहरु आफ्नो कुप्रोपनको उपचार गर्न चाहान्छन् । शरीरको नशा खुम्चिएर भएको कुप्रोपन केही समयपछि आफै ठिक भएर जान्छ । तर, अन्य कारणवश् भएको कुप्रोपनको भने कारण पत्ता लगाएर मात्रै उपचार गर्नुपर्ने हुन्छ । त्यसको निम्ति सामान्य कुप्रोपनलाई प्लास्टर र बे्रसद्धारा नै निको पार्न सकिएता पनि गम्भीर प्रकारको कुप्रोपनलाई भन शल्यक्रियाको आवश्यकता पर्दछ।
प्रस्तुतीः सृजना मगर


क्याटेगोरी : अन्तर्वार्ता / विचार, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ