२०८१ असार ४, सोमबार
Health Aawaj logo
गृहपृष्ठगण्डकी प्रदेशस्वास्थ्य क्षेत्रमा ताप्लेजुङदेखि दार्चुलासम्म परिवर्तन आउनेछ: स्वास्थ्य मन्त्री गिरी 

स्वास्थ्य क्षेत्रमा ताप्लेजुङदेखि दार्चुलासम्म परिवर्तन आउनेछ: स्वास्थ्य मन्त्री गिरी 


पर्वत- स्वास्थ्य मन्त्री पदम गिरीले स्वास्थ्य क्षेत्रका समस्याहरूको पहिचान गर्दै परिवर्तनको प्रत्याभूति दिलाउने बताएका छन् । कुश्मा बजारमा आयोजित सातौँ पर्वत महोत्सवको उद्घाटन गर्दै उनले भने, ‘ म अहिले स्वास्थ्य क्षेत्रका विद्यमान समस्याबारे गहिरो गरी अध्ययन गर्दै छु । ती समस्या पहिचान गरेर जनतालाई भिन्नताको महसुस गराउने वाचा गर्छु ।’

उनले पर्वत जिल्लाका सात वटै स्थानीय तहमा आगामी ५ वर्षभित्र सुविधा सम्पन्न अस्पताल खोल्ने घोषणा पनि गरे । ‘यहाँको जिल्ला अस्पतालमा अत्यावश्यक उपकरणहरूको कमी रहेछ । हामीले केही उपकरण अहिल्यै हस्तान्तरण गर्दैछौं । आगामी ५ वर्षभित्र सात वटै पालिकामा अस्पताल हुन्छन्, डाक्टर, नर्स र ल्याब हुनेछ ।

सानोतिनो शल्यक्रिया पनि हुन्छ । कोही पनि उपचार नपाएर मर्ने अवस्था रहदैंन,’ मन्त्री गिरीले भने, ‘फेरि स्वास्थ्य मन्त्रीले आफ्नो जिल्लाको मात्रै हेर्‍यो भन्ने पर्ला । तर त्यस्तो होइन । ताप्लेजुङदेखि दार्चुलासम्मका समस्या पहिचान गरेर

स्वास्थ्य क्षेत्रमा सुधार ल्याउनेछौँ । गुणस्तरीय स्वास्थ्यको पहुँच सबै जनतामा पुर्‍याउने जिम्मा सरकारको हो । उपचार नपाएर अकालमा मर्नुपर्दैन भन्ने प्रत्याभूति जनतालाई दिलाउने गरी काम गर्नेछौँ ।’

प्रजातन्त्र प्राप्तिपछि मुलुकले पर्वत जिल्लाबाट प्रतिनिधित्व गर्ने पहिलो क्याबिनेट मन्त्री पाएको भन्दै उनले आफूलाई भोट हाल्ने सबै जनतालाई धन्यवाद दिए । ‘६०/७० वर्षको अवधिमा पर्वत जिल्लाले कुनै मन्त्री पाएको रहेनछ । हामी कति अभागी रहेछौँ,, वर्षौँ भोट हाल्यौ । तर मन्त्री कोही बनेन । तर आज एउटा इतिहास बनेको छ , म सबैलाई कृतज्ञता व्यक्त गर्न चाहन्छु ।

यो पदम गिरी मात्रै होइन, हामी सबै पर्वतवासी मन्त्री भएका हौँ,’ उनले भने,‘म अब काम गर्नुपर्ने ठाउँमा छु । कसैप्रति आलोचना गर्ने ठाउँमा छैन । अप्ठेरा छन्, चुनौती छन् । तर, यी चुनौती र अप्ठेराका बाबजुद जनताका पक्षमा काम गर्ने अठोट गर्नुपर्छ र काम गरेर देखाउनुपर्छ ।

इतिहासले बारम्बार अवसर दिदैंन, थोरै समय अवसर दिन्छ । काम गरेर देखाउन सकियो भने इतिहासमा दर्ज हुन्छ, नत्र यस्ता मन्त्री धेरै आए, गए । इतिहासमै सिमित भए ।’

अर्थतन्त्र सुधार्नुपर्ने अभिभारा 
स्वास्थ्य मन्त्री गिरीले सङ्कटमा रहेको अर्थतन्त्रलाई ट्र्याकमा ल्याउनुपर्ने अभिभारा अहिलेको सरकारसँग रहेको बताए । ‘आज देशको अर्थतन्त्र सङ्कटमा छ । एक जनाले दिउँसै आफ्नो शरीरमा आगो लगाएर मृत्युवरण गरेको प्रसङ्गले आज देशभर सनसनी मच्चिएको छ । आत्महत्यालाई राम्रो मान्न सकिदैंन ।

तर पनि अर्थतन्त्र कति जर्जर भएको छ भन्ने सोचनीय कुरा हो । आज बैङ्कमा गयो, बैङ्कले लगानी गर्दैन, तरलताको अभाव छ, ७ प्रतिशतमा लिएको ऋण १४ –१६ प्रतिशतसम्म बढेको छ ।

बैङ्कले पैसा नदिएपछि, समयमा ब्याज तिर्न नसकेपछि मिटरब्याजीसँग पैसा लिएर कारोबार गर्नुपरेको छ । अनि व्यवसायीहरू दिनदिनै धराशायी, हतोत्साहित हुने परिस्थिति एकातर्फ छ । हाम्रो आयात दिनदिनै बढेको छ, हाम्रो उत्पादन छैन,’ उनले भने,‘विकास खर्च हेर्नुहुन्छ भने आज ७ महिना भयो यो बजेट भएको छ । ७ महिनामा केवल १४–१५ प्रतिशत खर्च भएको छ ।

विकास आयोजनाका कामहरू जब अघि बढ्दैनन् । जब गाउँ गाउँमा बजेट आउँदैन, तब पैसाको फलो कसरी हुन्छ । अर्थतन्त्र कसरी गतिशील हुन्छ । हुने सम्भावना नै छैन । जसले गर्दा विकासका क्षेत्रहरुमात्रै होइन, व्यापार –उद्यमका सबै क्षेत्र चौपट हुँदै छन् । यो यथार्थलाई सुधार्नुको विकल्प छैन ।’

उनले थपे,‘अहिले एउटा कम्तीमा खुसीको कुरा छ । शेयर बजारमा हरियाली छाएको छ भन्दा म केही आशावादी भएको छु । अहिले बनेको सरकार कसैलाई गाली गरेर , कसैको विरोध गरेर खर्चने समय होइन ।

अब भीरबाट खस्न लागेका व्यवसायीलाई आड दिएर माथि तान्नुपर्ने छ । आज सुनको अण्डा दिने हाँसजस्ता व्यापारीहरू निराश भएर बसेका छन् , उद्यमीहरूको मनोबल गिर्‍यो भने कहाँबाट अर्थतन्त्र गतिशील हुन्छ, कहाँबाट चलायमान हुन्छ ।

कहाँबाट विकासको सम्भावनाहरू अगाडि आउन सक्छन् । यस्तो खालको जटिल परिस्थितिमा हामी भएको बेला अब सरकारले यो सङ्कटबाट देशलाई मुक्त गर्दै विकास र समृद्धिको बाटोमा देशलाई अगाडि लिएर जान्छ । अर्थतन्त्र बलियो बनाएर जानुपर्ने दायित्व यो सरकारसँग छ ।’


क्याटेगोरी : गण्डकी प्रदेश, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ