२०८१ वैशाख ४, मंगलबार
Health Aawaj logo
गृहपृष्ठबाग्मती प्रदेश१० औं तह स्थायी पन्छाएर ७ औं तह करारलाई विज्ञ राखेपछि स्कुल नर्स अन्तर्वार्तामा सेटिङको आशंका

१० औं तह स्थायी पन्छाएर ७ औं तह करारलाई विज्ञ राखेपछि स्कुल नर्स अन्तर्वार्तामा सेटिङको आशंका


काठमाडौं–बागमती प्रदेश सरकारले करारमा लिन लागेको १२९ स्कुल नर्सको मौखिक परीक्षामा अनियमितता भएको आशंका गरिएको छ । बाग्मती प्रदेश सरकार स्वास्थ्य निर्देशनालयले प्रदेशका १ सय २९ विद्यालयका लागि करारमा स्कुल नर्स भर्नाका लागि लिखितमा नाम निकालेका उम्मेदवारलाई २०७९ माघ ११ देखि १४ गतेसम्म मौखिक अन्तर्वार्ताका लागि समयावधि तोकेको छ ।

बागमती प्रदेश स्वास्थ्य निर्देशनालयले मौखिक अन्तर्वार्ताका लागि विज्ञ छनौट गर्दा प्रदेश तहमा रहेका स्थायीतर्फका नर्सिङ अधिकृतहरुलाई पन्छाउँदैं करारमा रहेका नर्सिङ अधिकृतलाई विज्ञको रुपमा अन्तर्वार्तामा राखेपछि अनियमितताको आशंका उब्जिएको हो ।

निर्देशनालयले आफू मातहतमा रहेका १० औं तहकी नर्सिङ प्रशासक सावित्री पौडेल, धादिङ अस्पतालमा कार्यरत ८ औं तहकी नर्सिङ्ग अधिकृत मनकुमारी श्रेष्ठ, रत्ननगर अस्पताल बकुलहर चितवनमा कार्यरत ७ औं तहकी नर्सिङ अधिकृत विष्णुकुमारी श्रेष्ठ, भक्तपुर अस्पतालमा कार्यरत रोशनी श्रेष्ठ, त्रिशुली अस्पतालमा कार्यरत देवकी खत्रीलगायत स्थायी नर्सिङ अधिकृत हुँदाहुँदै पनि उनीहरुलाई पन्छाएर करारका नर्सिङ अधिकृतलाई अन्तर्वार्तामा विज्ञ राखेको छ ।

एक महिनाअघि नै प्रदेश स्वास्थ्य निर्देशनालयको निर्देशकबाट काज सरुवा फिर्ता भएर पनि रमाना नलिएर बसेका प्रमुख स्वास्थ्य शिक्षा प्रशासक महेश्वर श्रेष्ठले प्रदेश स्वास्थ्य मन्त्रालयमा करारमा कार्यरत नर्सिङ अधिकृत (सातौं तह) की भगीरथी बडु र निर्देशनालयमा करारमै कार्यरत नर्सिङ अधिकृत रिता महतोलाई विज्ञ बनाएर अन्तर्वार्तामा राखेका छन् । बडुले नर्सिङमा मास्टर्स गरेकी हुन् भने महतले बीएन गरेकी छन् ।

प्रदेशअन्र्तगत रहेका ७, ८ र १० औं तहका स्थायी अधिकृतहरुमध्ये १० औं तहकी सावित्री पौडेल, ८ औं तहकी मनकुमारी श्रेष्ठ र विष्णुले पनि नर्सिङमा मास्टर्स गरेका छन् । त्यसैगरी, रोशनी श्रेष्ठ र देवकी खत्रीले बीएन गरेका छन् ।

आफ्नो स्थायी संयन्त्र भित्रै योग्यता र क्षमता पुगेका नर्सिङ अधिकृत हुँदाहुँदैं करारका अधिकृतलाई विज्ञ बनाएर अन्तर्वार्तामा राख्न प्रदेश स्वास्थ्य सचिव र निर्देशकको निहित चाहाना रहेको प्रदेश स्वास्थ्य मन्त्रालयका एक अधिकारी बताउँछन् ।

‘करारमा राखेको कर्मचारीलाई विज्ञ बनाउँदा आफूले चाहेको मान्छेलाई ल्याउन सहज हुन्छ भनेर स्वास्थ्य सचिव बद्री खड्का र महेश्वर श्रेष्ठको चालमा यो सबै गरिएको हो,’ प्रदेश स्वास्थ्य मन्त्रालय स्रोत भन्छ, ‘यदि त्यस्तो नहुने भए किन स्थायी सिनियरहरु छोडेर करारकालाई विज्ञ बनाइयो । यदि स्वास्थ्य मन्त्रालय, निर्देशनालयमा स्थायी थिएनन् भने प्रदेशका अन्य अस्पतालबाट मेट्रोनहरुलाई पनि त विज्ञ बनाएर राख्न सकिन्थ्यो नि ।’

प्रदेश स्वास्थ्य निर्देशनालयले आगामी वर्षको लागि स्कुल नर्स खुलाएको थियो । ३० पौषमा लिइएको परिक्षामा ४ सय २५ जना सहभागी गराइएकोमा ४ सय ३ जना अन्र्तवार्ताका लागि छनौट भएका थिए ।

बागमती प्रदेशका स्वास्थ्य सचिव बद्रीबहादुर खड्कासँग भने स्कुल नर्सको अन्तर्वार्ता प्रक्रिया आफूहरुले कानुनअनुसार नै अगाडि बढाएको बताए । ‘स्थायी नै राख्नुपर्छ भन्ने छैन, हामीले डिग्रीलाई आधार मान्ने हो,’ उनले भने, ‘एमएन गरेका नर्सहरुलाई विज्ञका रुपमा राखेका छौं ।’ उनले अन्तर्वार्तामा विज्ञ छनोट गर्दा स्थायी र अस्थायीको मापदण्ड नभएको बताउँदैं लोकसेवाको कार्यविधीअनुसार नै आफूहरुले अन्तर्वार्ता समिति गठन गरेर अन्तर्वार्ता लिइरहेको जानकारी दिए ।


क्याटेगोरी : बाग्मती प्रदेश, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ