काठमाडौं—स्वास्थ्य तथा जनसंख्यामन्त्री पदम गिरीले स्वास्थ्य सेवा विभागलाई खरिद प्रक्रियालाई पारदर्शी बनाउन निर्देशन दिएका छ्न् । बिहीबार स्वासथ्य सेवा विभागको अनुगमन गर्न विभाग पुगेका उनले खरिद प्रक्रियालाई पारदर्शी बनाएर काम गर्न निर्देशन दिए ।
‘खरिद प्रक्रियालाई लिएर मिडियामा अनेक समाचार आउने गरेको छ। यसलाई पारदर्शी बनाएर काम गर्नु होला,’ मन्त्री गिरीले भने ।
उनले कोभिड—१८ को बुस्टर डोज ल्याउनेबारे योजना बनाउन विभागका कर्मचारीहरुलाई निर्देशन दिए । ‘छिमेकी राष्ट्रहरुमा कोभिड आइसकेको छ । हाम्रोमा पनि आउनसक्छ । बुस्टरडोज तत्काल लिएर नागरिकलाई लगाउनुपर्छ । त्यसका लागि योजना बनोस् । मन्त्रालयबाट खेल्नुपर्ने भूमिका म खेल्छु,’ उनले भने ।
विभागका कर्मचारीहरुलाई प्रभावकारी रूपमा काममा लाग्न उनले निर्देशन दिए । ‘विभाग जति प्रभावकारी हुन्छ । त्यति नै जनताप्रति उत्तरदायी हुन्छ । जनताले त्यति नै राम्रो स्वास्थ्य सेवा पाउँछन्,’ उनले भने, ‘त्यसैले तपाईंहरु अझै प्रभावकारी भएर लाग्नुस् । राम्रो काम गर्नुभएको छ । यसका लागि धन्यवाद दिन्छु । तर अब हामी कमीकमजोरी पहिल्याएर अझै जिम्मेवार भएर लाग्न आवश्यक छ ।’
उनले आफूले जिम्मेवारी लिएको शाखाको जिम्मेवारी पूरा गर्ने इच्छाशक्ति हुनुपर्नेमा जोड दिए । ‘मन्त्रालय र विभागले आफ्नो जिम्मेवारी पूरा गर्नसक्छ । त्यहीकारण जिम्मेवारी बुझेर काममा जुटिदिनुस्,’ मन्त्री गिरीले भने ।
देशका विभिन्न अस्पतालमा रहेका पूराना स्वास्थ्य उपकरणहरु प्रयोगविहिन रहेको गुनासो आइरहेको भन्दै मन्त्री गिरीले त्यसतर्फ ध्यान दिन निर्देशन दिए । ‘उपकरणहरु यहाँबाट विभिन्न ठाउँमा पठाएका छौं । तलबाट माग भएर आएअनुसार खरिद गरिएको हुन्छ । त्यो कुन अवस्थामा छ,’ उनले भने, ‘कतै ती उपकरण प्रयोग नभएर डम्पिङ भएको छ र बिरामी अन्यत्रै गइरहेको अवस्था पो छ कि। नेपाली जनताले आफ्नो पसिनाको कमाइबाट तिरेको राजस्वबाट हामीले किनेका सामाग्री त्यसरी अलपत्र हुनु हुँदैन ।’
उनले स्वास्थ्य संस्थाहरूलाई प्रविधि मैत्री बनाउनुपर्ने बताए । ‘ुघरमा बसेर अस्पतालको बेड खाली छ कि छैन भन्ने कुरा सहजै एप्समा हेर्न सकियोस् । सबै कुरा डिजिटलाईज हुनुपर्छ । मोबाइलबाट हेर्नुपर्छ,’ उनले भने, ‘स्वास्थ्य क्षेत्रमा उत्साहजनक रूपमा देखिने गरी परिवर्तन आउनुपर्छ । बिरामी टिचिंग लग्यो, बेड हुँदैन । त्यसपछि वीर लग्यो, पाटन लग्यो, बाटोमै मर्छ भन्ने अवस्था रहनु हुँदैन ।’
प्रयोगशालाहरूको क्षमता अभिवृद्धि गर्नुपर्ने तथा प्रदेशहरूमा व्यवस्थित प्रयोगशाला खोल्नुपर्ने आवश्यकता रहेको उनले बताए ।