२०८१ जेठ ५, शनिबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश १२ घण्टा पैदल हिडेर अस्पताल पुगेका ८५ वर्षीय छविलाल उपचार नपाउँदा निराशा बोकेर फर्किए

२ घण्टा पैदल हिडेर अस्पताल पुगेका ८५ वर्षीय छविलाल उपचार नपाउँदा निराशा बोकेर फर्किए


विराटनगर—दौरा सुरूवालमाथि स्टकोट । टाउँमा गलफनको टोपी । कान कम सुन्ने भएकोले देब्रे कानमा ‘हियरिङ्ग एड’ लगाएका छन् । आइतबार कोशी अस्पताल परिसरभित्र दिउँसो १२ बजे भेटिएका ८५ वर्षीय ज्येष्ठ नागरिक हुन्—छविलाल खतिवडा ।

ओपीडी भवन भित्र कुर्सीमा निराश मुद्रामा देखिएका उनलाई हेल्थआवाजकर्मीले सोधे, ‘कहाँबाट के भएर आउनुभयो हजुरबुवा ?’

‘घर विराटनगर–५ जानकीपथ हो । दाँतमा असह्यै पीडा भएपछि रातभरी सुत्न नसकेको दुई दिन भयो । रातभरिको दुःखाइको कारणले सबेरै विराटनगरस्थित कोशी अस्पताल आएको उनले सुनाए । खतिवडा घरबाट खाना खाएर ९ बजे हस्पिटलका लागि हिडे । पैदल हिडेर साढे ११ बजे हस्पिटल आइपुगे ।

२ घण्टा बढी पैदल हिडेपछि कोशी अस्पतालको ओपीडीमा आए । सुरूमा उनी टिकट लिन ओपीडी काउन्टरतिर लागे । काउन्टर बन्द थियो । त्यसपछि ओपीडी भवनभित्र रहेको सोधपछु डेक्समा पुगे । उनले त्यहाँ आफ्नो समस्या सुनाए, ‘दाँत दुःखेर रातभरी सुत्न सकेको छुइन । डाक्टर साब कता बस्नुहुन्छ ?’

सोधपुछ कक्षमा बसेका कर्मचारीले भने, ‘आज चिकित्सकहरुको हडताल हो । डाक्टर हुनुहुन्न ।’ ती कर्मचारीको कुरा सुनेपछि वृद्ध निराश देखिन्थे । कान कम सुन्ने खतिवडालाई कर्मचारीको भनाईमा विश्वास लागेन । त्यसपछि उनी दन्त रोग विशेषज्ञ डाक्टर बस्ने कोठातिर लागे । कोशी अस्पतालको ओपीडीको दोस्रो तलाको १४ नम्बर कोठामा दन्तरोग विभाग छ । लौरीको सहारामा हिडडुल गर्ने खतिवडा भुइँतलाबाट १४ नम्बर कोठातिर लागे । भुइँतलाबाट झण्डै आधा घण्टा लगाएर उनी दन्त रोग विभाग रहेको कोठामा पुगे । त्यहाँ पनि कर्मचारी र नर्स मात्र थिए ।

खतिवडाले दुई महिना अगाडि काटेको ओपीडी पुर्जी र गोजीमा राखेको स्वास्थ्य विमा कार्ड देखाउँदै नर्सलाई पीडा सुनाए, ‘नानी दाँत दुःखेर असह्यै पीडा भयो । रातभरि सुत्न सकेको छुइनँ । यो दाँत उखालिदेउन बाबै !’ वृद्ध खतिवडाको कुरा सुनेपछि दन्त विभागमा रहेका एक जना कर्मचारीले भने, ‘हामीले त खोल्न मिल्दैन बा । डाक्टरले मात्र गर्नुहुन्छ । आज चिकित्सकको विरोधको कारणले ओपीडी बन्द छ । भोलि आउनु ।’ यहाँ पनि सोधपुछ डेक्समा भनेकै कुरा दोह¥याएपछि वृद्ध निराश भएर ओपीडी भवनबाट बाहिरिए ।

हस्पिटल परिसरमा पुगेका हेल्थआवाजकर्मीसँग वृद्ध खतिवडाले गुनासो पोख्दै भने, ‘घण्टौं लगाएर पैदल हिडेर सरकारी हस्पिटल आए । त्यहाँ आएपछि डाक्टरले हेरेर औषधी उपचार गरिदिए केही जाति हुने थियो कि भनेको त्यो पनि आज भएन् । यहाँ भएको भए बीमाबाट उपचार हुने थियो । निजी हस्पिटल गयो भने त पैसो सकिहाल्छ नि ! आर्थिक रुपमा विपन्न भएका हामी जस्ता निजीमा उपचार गर्न सकिदैन बाबै । बरु फेरि आउँछु । अहिले घरतिरै लागे ।’

खतिवडा त एक प्रतिनिधि पात्र मात्र हुन् । आइतबार केही घण्टा आकस्मिकबाहेकका सेवा बन्द गर्ने नेपाल मेडिकल एशोसिएसन (एनएमए)को आन्दोलनले बिरामीको पीडामाथि झन् पीडा थप्यो । उपचार गराउन कोशी अस्पताल आएका बिरामी अधिकांशको यस्तै गुनासो थियो । पूर्वी नेपालको सबैभन्दा ठूलो सरकारी अस्पताल कोशीमा दैनिक १ हजार देखि १ हजार ५ सय जना बिरामी ओपीडीमा स्वास्थ्य जाँच गराउने आउने अस्पतालको अभिलेखमा देखिन्छ ।

चिकित्सकहरूले देशभरका अस्पतालमा आकस्मिकबाहेकका सेवा बन्द गर्दा बिरामीहरू मर्कामा परेका छन् । कोशीका चिकित्सकहरु पनि ओपीडी बन्द गरेर आन्दोलनमा उत्रिदा यहाँ आइतबार आएका बिरामी मर्कामा परे । मोरङ कानेपोखरी गाउँपालिका—६ की सावित्रा पराजुली पेट दुःखेपछि उपचारका लागि कोशी आएकी थिइन् । कोशी अस्पतालमा आन्दोलनको कारणले ओपीडीमा चिकित्सकहरू भेटिनन् । उनी पनि उपचार नगरी घर फर्किइन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीको सवारीका बेला चिकित्सकमाथि लाठीचार्जको घटनाको विरोधमा नेपाल चिकित्सक संघले आइतबार देशभरका अस्पतालमा आकस्मिकबाहेकका सेवा बन्द गरेको हो । शुक्रबार राष्ट्रिय ट्रमा सेन्टरका वरिष्ठ अर्थोपेडिक सर्जन डा. जनिथलाल सिंहलाई प्रहरीले लाठ्ठी चार्ज गरी घाइते बनाएको थियो ।

सोही घटनाको विरोधमा नेपाल चिकित्सक संघको केन्द्रीय समितिको शनिबार बसेको आकस्मिक बैठकले आइतबार देशभरका सरकारी तथा गैरसकारी, निजी, सहकारी स्वास्थ्य संस्था, अस्पताल, निजी तथा सरकारी मेडिकल कलेज तथा प्रतिष्ठानलगायत सम्पूर्ण स्वास्थ्य संस्था तथा अस्पतालहरुमा आकस्मिक सेवाबाहेकका सम्पूर्ण सेवाहरु बन्द गर्ने निर्णय गरेको थियो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चिकित्सक तथा स्वास्थ्यकर्मीहरुलाई आन्दोलनका कार्यक्रम फिर्ता लिई काममा जुट्न अनुरोध गरेको थियो । तर, एनएमएले आन्दोलन फिर्ता लिएन् । दिउँसो प्रधानमन्त्री कार्यलयमा भएको वार्तामा सरकारसँगको ६ वुँदे सहमतिपछि चिकित्सकहरुको आन्दोलन फिर्ता भएको छ ।


क्याटेगोरी : प्रदेश १, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ