२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश १कोशी प्रदेशको कुल बजेटको ८.४७ प्रतिशत बजेट स्वास्थ्यमा

कोशी प्रदेशको कुल बजेटको ८.४७ प्रतिशत बजेट स्वास्थ्यमा


विराटनगर—कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि कुल बजेटको ८.४७ प्रतिशत बजेट स्वास्थ्यमा विनियोजन गरेको छ । बिहीबार आर्थिक मामिला तथा योजना मन्त्रालयसमेत सम्हालेका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले अध्यादेशबाट आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै स्वास्थ्यमा ३ अर्ब ७ करोड २७ लाख बजेट विनियोजन गरेको जानकारी गराएका हुन् ।

‘स्वस्थ नागरिक, सक्षम प्रदेश’ आधारभूत स्वास्थ्य सेवामा नागरिकहरुको पहुँच सुनिश्चित गर्दै प्रदेशका सबै जिल्लामा रहेका स्वास्थ्य सेवाको विस्तार र पूर्वाधारको विकास गरिने मुख्यमन्त्री कार्कीले जानकारी दिए । असहाय तथा विपन्न नागरिकहरुलाई कडा रोगको उपचारका लागि आर्थिक सहायता उपलब्ध गराउन ‘प्रदेश प्रमुख स्वास्थ्य सहुलियत कार्यक्रम’ संचालन गर्न आवश्यक बजेट विनियोजन गरेको छ ।

स्वास्थ्य सेवाको तथ्यांकीय प्रणालीलाई व्यवस्थापकीय सूचना प्रणालीमा रुपान्तरण गर्न आवश्यक बजेट विनियोजन गरेको मुख्यमन्त्री कार्कीले जानकारी दिए । किटजन्य रोग रोकथाम तथा नियन्त्रणमा जैविक लार्भिसाइड प्रयोग गर्ने कार्यक्रम संचालनका लागि ५ करोड बजेट छुट्याइएको छ ।

प्रदेशका नागरिकहरुलाई सहज स्वास्थ्य सेवा उपलब्ध गराउन विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानसँगको सहकार्यमा विशेष स्वास्थ्य सेवा संचालन गर्नका लागि आवश्यक बजेट प्रदेशले छुट्याएको छ । मेची प्रादेशिक अस्पतालमा प्राइमरी वर्न केयर सेन्टर तथा मानसिक स्वास्थ्य वार्ड संचालनको लागि आवश्यक बजेट विनियोजन गरिएको कार्कीले जानकारी दिए ।

यस्तै, ताप्लेजुङ, धनकुटा, दमक अस्पताल र मदन भण्डारी ट्रमा सेन्टरको स्तरोन्नती गरी गुणस्तरीय स्वास्थ्य सेवामा नागरिकहरुको सहज पहुँच वृद्धि गर्न २९ करोड विनियोजन गरिएको छ । आयुर्वेद उपचार पद्धतीप्रति नागरिकहरुको विश्वास बढाउन आयुर्वेद, होमियोप्याथीलगायतका वैकल्पिक स्वास्थ्य सेवा प्रवर्द्ध्नमा जोड दिएको छ । प्रादेशिक आयुर्वेद अस्पताल लखनपुर झापालाई व्यवस्थापकीय सुदृढीकरण गरी प्रभावकारी रुपमा सञ्चालन गरिनेछ । प्रदेश आयुर्वेद शिक्षण अस्पतालको सञ्चालनका लागि सम्भाव्यता अध्ययन गर्न आवश्यक बजेट प्रदेशले विनियोजन गरेको छ ।

महिला, बालबालिका तथा किशोरीको पोषण अवस्था सुधार गर्न बहुक्षेत्रीय पोषण कार्यक्रमलाई निरन्तरता दिदैं सुत्केरी महिलाका लागि पोषण आहार कार्यक्रमका लागि ६ करोड बजेट विनियोजन गरिएको छ । प्रदेश सरकार मातहतका अस्पतालहरूबाट गर्भवती महिलाहरूको पूर्व प्रसुति सेवा, प्रसुति सेवा तथा प्रसुति पश्चात गरिने परीक्षणहरूलगायतका सम्पूर्ण स्वास्थ्य सेवाहरुलाई निःशुल्क उपलब्ध गराउने व्यवस्था मिलाइएको छ ।

किशोर—किशोरीको यौन तथा प्रजनन एवं मानसिक स्वास्थ्यलगायत समग्र पक्षमा सुधार गरी स्वस्थ नागरिक बनाउने उद्देश्यका साथ प्रत्येक स्थानीय तहका एउटा माध्यमिक विद्यालयमा संचालित विद्यालय नर्सिङ सेवा कार्यक्रमलाई निरन्तरताका लागि आवश्यक बजेट छुट्याएको मुख्यमन्त्री कार्कीले जानकारी दिए ।

कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०/०८१ को लागि ३६ अर्ब २४ करोड ३५ लाख १० हजारको बजेट सार्वजनिक गरेको छ ।


क्याटेगोरी : प्रदेश १, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ