२०८१ असार ३१, सोमबार
Health Aawaj logo
गृहपृष्ठसमाचारस्वास्थ्यमन्त्रीको गैर जिम्मेवार अभिव्यक्तिमा संघसंगठनको विरोध, कसले के भने ?

स्वास्थ्यमन्त्रीको गैर जिम्मेवार अभिव्यक्तिमा संघसंगठनको विरोध, कसले के भने ?


काठमाडौं—स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले सोमबार पत्रकार सम्मेलनमा आत्महत्या दुरुत्साहन सम्बन्धी दिएको अभिव्यक्तिको चौतर्फी विरोध भएको छ । कर्मचारी सम्वद्ध संघ, संगठनहरुले मन्त्रीको अभिव्यक्ति नैतिक र कानुनी दुवै प्रश्न जन्माएको भन्दै राजीनामासम्मको माग गरेका छन् ।

मन्त्रीको पदीय हैसियतमा बस्ने नैतिकता रहेनः राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ
राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ नेपालले समस्या लिएर आएका कर्मचारीलाई अभिभावकको रुपमा सम्झाउनुपर्नेमा स्वास्थ्यमन्त्रीले गैरजिम्मेवार र अमानवीय व्यवहार प्रस्तुत गरी मन्त्री पदको अवम्ल्यन गरेको हुँदा नैतिकता देखाएर राजीनामा दिनुपर्ने माग गरेको छ । महासंघका अध्यक्ष डा. झलक शर्माले हस्ताक्षरमा गरेको सो विज्ञप्तीमा संविधानले तोकिएको जनताको सम्मानपूर्वक बाँच्न पाउने हक उल्लंघन भएको र मुलुकी अपराधसंहिताको आत्महत्या दुरुत्साहन गराउने अभिव्यक्ति आएको उल्लेख छ ।

मन्त्रीको अभिव्यक्ति कानुनी परिधी उल्लंघन भयोः नेपाल निजामती कर्मचारी संगठन
आत्महत्या दुरुत्साहनसँग जोडिने गरी अभिव्यक्ति दिएका स्वास्थ्यमन्त्री अभिव्यक्तिताई लिएर नेपाल निजामती कर्मचारी संगठनले विरोधमा विज्ञप्ती जारी गरेको छ । संगठनले मन्त्रीको अभिव्यक्तिलाई कानुनी परिधीको उल्लंघन भनी टिप्पणी गरेको छ । बिहिबार जारी गरेको विज्ञप्तीमा मन्त्रालयको अभिभावकले कर्मचारीको समस्या समाधान गर्न छोडेर आत्महत्या गरे डोरी दिन्छु भनी भन्नु गैर जिम्मेवारीको पराकाष्ठा भएको उल्लेख गरेको छ ।

मन्त्रीको पदीय जिम्मेवारी, गरिमा र मर्यादा विपरित भयोः नेपाल प्रगतिशील चिकित्सक संघ
नेपाल प्रगतिशील चिकित्सक संघले मन्त्रीको अभिव्यक्ति गैरजिम्मेवार भन्दैं अभिव्यक्ति सच्याउन माग गरेको छ । संघका अध्यक्ष डा. मधु बस्नेत र महासचिव डा. मधु न्यौपानेद्वारा हस्ताक्षरित विज्ञप्तीमा जुनसुकै सन्दर्भमा भनिएको भएतापनि मन्त्रीको सो अभिव्यक्ति संवेदनशील भएको र पदीय निम्मेवारी, गरिमा र मर्यादा विपरित रहेको उल्लेख छ ।

मन्त्रीको अभिव्यक्ति अनैतिक र गैरकानुनी हो, राजीनामा दिनुपर्छ : राष्ट्रिय चिकित्सक संघ नेपाल
राष्ट्रिय चिकित्सक संघ नेपालले मन्त्रीको अभिव्यक्ति अनैतिक र गैर कानुनी भएको भन्दै राजीनामाको माग गरेको छ । मंगलबार संघका महासचिव डा. पुष्पमणि खरालले जारी गरेको विज्ञप्तीमा बाँच्न पाउने अधिकारको हनन भएको र मुलुकी संहिता विपरित आत्महत्या दुरुत्साहन गरेको हुँदा मन्त्री पदबाट राजीनामा गर्नुपर्ने उल्लेख गरेको छ ।

आफ्नै कार्यक्रम विपरितको अभिव्यक्तिः नेपाल स्वास्थ्यकर्मी संघ
नेपाल स्वास्थ्यकर्मी संघका अध्यक्ष रामजी घिमिरेले स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतको आत्महत्या सम्बन्धि अभिव्यक्ति सरकारको नीति विपरित आएको बताए । ‘नेपाल सरकारले आत्महत्या दुरुत्साहनलाई कानुनी रुपमा हेर्ने एउटा पाटो छ, अर्को पाटो मन्त्रालयले नै नेतृत्व गरेर यो गम्भीर समस्या भएको हुँदा कम गर्नका लागि विभिन्न काम गरिरहेको छ,’ घिमिरेले हेल्थआवाजसँग भने, ‘कार्यक्रमको अभिभावकत्व लिएको व्यक्तिबाटै यस्तो अभिव्यक्ति आउनु राम्रो होइन् ।’ उनले समग्र स्वास्थ्य क्षेत्रको अभिभावकत्व लिनुपर्ने मान्छेले यस्तो अभिव्यक्ति दिन नहुने बताए ।

मन्त्रीको भनाइ गम्भीर छ, तत्काल सच्चउनुपर्छ : नेपाल मनोचिकित्सक संघ
नेपाल मनोचिकित्सक संघका अध्यक्ष डा. सिपी सेडाईले सामान्य मान्छेले पनि बोल्न नमिल्ने कुरा मन्त्रीजस्तो पदमा बसेको व्यक्तिले बोलेको बताए । उनले कसैले कसैलाई इग्नोर गर्न नहुने भन्दै आत्महत्या जस्तो संवेदनशील विषयसँग जोडिएका त्यस्ता शब्द मन्त्रीबाट आउन नहुने र त्यसले समग्र जनमानसमा नै असर गर्ने बताए । ‘सार्वजनिक पदमा रहेका व्यक्तिबाट यस्तो गम्भीर कुरा यति हलुका रुपमा आउनु राम्रो होइन्,’ उनले भने, ‘मन्त्रीले तत्काल सच्याउनुपर्छ र अबदेखि यस्ता संवेदनशील कुरामा यसरी हल्का रुपमा प्रस्तुत नहुने प्रतिवद्धता जनाउनुपर्छ ।’

यो पनि पढ्नुस्

स्वास्थ्यमन्त्रीले कर्मचारीलाई भने, ‘आत्महत्या गर्ने भए डोरी दिन्छु, मेरो गेटमा आएर झुण्डिनु’ [भिडियो]


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ