२०८१ भदौ २२, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारविदेश भ्रमणमा स्वास्थ्यमन्त्रीले बसाएको थिती : सचिवालय र नजिककालाई ‘खुसुखुसु’ विदेश भ्रमण

विदेश भ्रमणमा स्वास्थ्यमन्त्रीले बसाएको थिती : सचिवालय र नजिककालाई ‘खुसुखुसु’ विदेश भ्रमण


काठमाडौं–सार्वजनिक मन्तव्यमा विदेश भ्रमणको थिती बसाल्ने रटान गर्दै आएका स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतको व्यवहार भने ठीक उल्टो देखिएको छ । मन्त्रालयमा आएका विदेश भ्रमणको कोटामा उनले ‘खुसुखुसु’ आफ्नो सचिवालय, नजिकका कर्मचारी र कार्यकर्ता घुसाउने गरेको पाइएको छ ।

मन्त्रालय सम्हालेको तीन महिना पनि नबित्दै सचिवालयका ३ जनालाई विदेश पठाउन भ्याइसकेका छन् भने ३ जना विदेश भ्रणका लागि ठिक्क पारेका छन् । मन्त्री बस्नेतले सबैभन्दा पहिले आफ्ना सल्लाहकार विश्व खड्कालाई आफूसँगै विश्व स्वास्थ्य संगठनको महासभामा लगेका थिए । त्यसपछि उनले निजी सचिव मोहन निरौलालाई रुवाण्डा पठाए । निरौला रुवाण्डाबाट फर्किएपछि सचिवालयमा सघाइरहेका कार्यकर्ता दिपक दुलाल भारत गएर आएका छन् ।

सचिवालयका तीन जना विदेश गएर आइसक्दा पुनः दुई जना विदेश भ्रमणका लागि मनोनयन भइसकेका छन् । ३–१२ सेप्टेम्बरमा कोरियामा हुन गइरहेको स्वास्थ्य विमा प्रणालीको प्रभावकारी विकासका लागि नेपाललाई क्षमता विकास सम्बन्धी कार्यक्रमको लागि अर्का कार्यकर्ता विक्रम श्रेष्ठलाई मनोनयन गरेका छन् ।

सोही कार्यक्रमका लागि स्वास्थ्य मन्त्री बस्नेतले बिमासँग कुनै साइनोसमेत नभएका प्रशासन महाशाखाका उपसचिव कृष्ण थापालाई मनोनित गरेका छन् । उनी परराष्ट्रमन्त्री एनपी साउदका ज्वाइ हुन् । उपसचिव थापा मन्त्रीसँगको सिधा पहुँचका कारण सचिव सहसचिववहरुभन्दा आफू ‘पावरफूल’ भन्दै धाक लगाउने गरेको मन्त्रालयमा चर्चा छ ।

कोरिया मनोनयन भएका कार्यकर्ता फिर्ता नहुँदै पुनः सल्लाहकार खड्कालाई लिएर मन्त्री बस्नेत विश्व स्वास्थ्य संगठनको कार्यक्रममा सहभागी हुन भारत भ्रमणमा जाने तयारी भएको मन्त्रालय स्रोतले जनाएको छ ।

मन्त्रीले आफ्नालाई ‘खुसुखुसु’ विदेश भ्रमणमा घुसाउँदैं गर्दा पछिल्लो समय विमा सम्बन्धी कोरियामा हुने कार्यक्रममा १५ जना पठाउन लागिएको छ । जसमा १ जना पनि विमाअन्तर्गतका कर्मचारी मनोनयन परेका छैनन् ।

दक्षिण कोरिया सरकारले प्रत्येक वर्ष गर्ने प्रदान गर्ने स्वास्थ्य विमा सम्बन्धी क्षमता अभिवृद्धि कार्यक्रममा यसपटक सबै स्वास्थ्य मन्त्रालय र मातहतका निकायका व्यक्तिहरु मात्र परेका छन् । स्वास्थ्य विमामा विश्वमै उदाहरणीय ‘कोरिया नीति’लाई नेपालमा पनि अवलम्बन गर्न सहयोग हुने कार्यक्रम आगामी ३ देखि १२ सेप्टेम्बरसम्म हुँदैछ ।

सो कार्यक्रममा विमाको नीतिगत तहमा रहेका र कार्यक्रम कार्यन्वयन गराउने तहमा खटिएका कर्मचारीलाई पठाउँदा फलदायी हुने भएतापनि अधिकांस स्वास्थ्यमा प्रशासनतर्फ खटिएका कर्मचारी र अस्पतालले तोकेका सम्पर्क व्यक्तिहरु मनोनयन भएका छन् ।

हाल विमाअन्तर्गत ८ जना वोर्ड सदस्य, केन्द्रमा ७० जना, प्रदेश शाखामा १४ जना र ७५ जिल्लामा ३ सय ५ दर्ता अधिकारीहरु रहेका छन् । विमा वोर्ड स्रोतका अनुसार मनोनयनमा विमा वोर्डअन्तर्गतका एक जना पनि कर्मचारी परेका छैनन् । मन्त्रालयले विमा वोर्डबाट भनेर ५ औं तहका हेल्थ असिस्टेन्ट भगवान रेग्मीको नाम मनोनयन गरेको छ । तर, उनी त्यहाँ काजमा रहेको र भर्खरै सरकारले गरेको काज फिर्ता परेका कर्मचारी हुन् ।

दक्षिण कोरिया भ्रमणका लागि मनोनयनमा परेका को-को ?

मन्त्रालयका उपसचिव बाबुराम घिमिरेको मन्त्रालयमा समेत निश्चित जिम्मेवारी छैन । अर्का उपसचिव कृष्ण थापा प्रसासनका उपसचिव हुन् । हालैमात्र स्वास्थ्यमा आएका उनी पार्टीको आफ्नो लाइनका भएका कारण मन्त्रीका मन्त्रालयभरमा सबैभन्दा विश्वासपात्र हुन् ।

मनोनयनमा परेका अर्का मन्त्रीका सचिवालयका कार्यकर्ता विक्रम श्रेष्ठ छन् । त्यसैगरी, अन्य मनोनितमा स्वास्थ्य सेवा विभागका एकाउन्टेन्ट मनबहादुर बुढा, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हेल्थ डेक्समा खटिएका गोपालप्रसाद पाण्डे, मन्त्रालयका स्टोर शाखाका नायब सुब्बा लिलम विक छन् । त्यसैगरी, अन्य मनोनितमा केन्द्रीय अस्पतालका विमा सम्पर्क व्यक्तिहरु छन् ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ