२०८१ असार ६, बुधबार
Health Aawaj logo
गृहपृष्ठसमाचारअस्पताल आउने ५० प्रतिशत बिरामीमा आँखा पाक्ने समस्याः नेपाल नेत्रज्योति संघ

अस्पताल आउने ५० प्रतिशत बिरामीमा आँखा पाक्ने समस्याः नेपाल नेत्रज्योति संघ


काठमाडौं—देशभरका आँखा अस्पतालहरुमा आँखा पाक्ने समस्या (कन्जंग्टिवाइटिस)का बिरामीहरु बढ्न थालेका छन् । नेपाल नेत्रज्योति संघकाअनुसार अहिले आँखा अस्पतालमा आँखा जाच गराउन आउने बिरामीमध्ये सरदर ५० प्रतिशत बिरामीमा आँखा पाक्ने समस्या देखिएको हो ।

संघका कार्यकारी निर्देशक डा. शैलेशकुमार मिश्र नेपाल नेत्रज्योति संघअन्तर्गतका आँखा अस्पतालहरुमा आँखा जाँच गराउन आउने बिरामीमध्ये सरदर ५० प्रतिशत बिरामी कन्जंग्टिवाइटिसको उपचारका लागि आइरहेको बताउँछन् ।

‘सुरुवातमा भारतको सिमावर्ती क्षेत्रहरुमा मात्र कन्जंग्टिवाइटिसको समस्या देखिएको थियो तर अहिले देशैभरी यो समस्या फैलिरहेको छ । हाम्रो नेटवर्कका सबै अस्तालहरुको सोमबारसम्मको डाटा हेर्ने हो भने करिब दैनिक आँखा जाँच गराउने बिरामीको ५० प्रतिशत बिरामीमा कन्जंग्टिवाइटिसको समस्या देखिएको छ । अहिलेको संक्रमण दर हेर्दा यो अझै बढ्ने जस्तो देखिन्छ,’ डा. मिश्रले भने ।

नेपाल नेत्रज्योति संघका महासचिव भरतबहादुर चन्दकाअनुसार देशैभरी अहिले कन्जंग्टिवाइटिसको प्रकोप बढिरहेकाले यसमा केन्द्रित भएर सेवा प्रवाह गर्न संघ अन्तर्गतका अस्पताल तथा उपचार केन्द्रहरुलाई निर्देशन जारी गरिसकिएको बताउँछन् ।

नेपाल नेत्रज्योति संघको तथ्याङ्कअनुसार अहिले दैनिक आँखा जाँच गराउन आउने बिरामीमध्ये दाङको राप्ती आँखा अस्पताल र लमही आँखा अस्पतालमा करिब ८० प्रतिशत, गेटा आँखा अस्पताल धनगढीमा ७० प्रतिशत, गौर आँखा अस्पताल गौरमा २५ प्रतिशत, लुम्बिनी नेत्र विज्ञान अध्ययन संस्थान, भैरहवामा ३० प्रतिशत, कीर्तिपुर आँखा अस्पतालमा ४५ प्रतिशत, हिमालय आँखा अस्पताल, पोखरामा ६० प्रतिशत, फत्तेवाल आँखा अस्पताल, नेपालगंजमा २० प्रतिशत, विनोद निता कँडेल आँखा अस्पताल, नवलपरासीमा ६० प्रतिशत, विराटनगर आँखा अस्पतालमा २२ प्रतिशत, पाल्पा लायन्स लाकौल आँखा अस्पताल, पाल्पामा ५० प्रतिशत र सगरमाथा चौधरी आँखा अस्पताल,लहानमा २० प्रतिशत बिरामीहरुमा कन्जंग्टिवाइटिसको समस्या देखिएको छ ।

आँखा पाक्ने समस्या भएका बिरामीहरुमा अकस्मात आँखा रातो हुनु,आँखाको डिल सुनिएर हेर्न समस्या हुनु,आँखाबाट पानी बगिरहनु , आँखा चिलाउने, पोल्ने र बिझाउने हुनु, आँखामा पहेंलो चिप्रा आउनु, बिहान उठ्दा ढकनी एकआपसमा टाँसिएर आँखा खोल्न गाह्रो हुनु आदि जस्ता लक्षणहरु देखिन्छन् ।

हरेक वर्ष वर्खाको समयमा आँखा पाक्ने समस्या देखिने गरेको भएतापनि यो पटक भने यो समस्या प्रकोपकै रुपमा फैलिरहेको चिकित्सकहरु बताउँछन् । सुरुवातमा भारताको सीमावर्ती क्षेत्रमा देखिएको यो समस्या अहिले देशैभरी फैलिएको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ