२०८१ वैशाख ७, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसमाचारचितवन मेडिकल कलेजले विद्यार्थीबाट लिएको बढी शुल्क समायोजन गर्ने

चितवन मेडिकल कलेजले विद्यार्थीबाट लिएको बढी शुल्क समायोजन गर्ने


भरतपुर—चितवन मेडिकल कलेजले विद्यार्थीहरुबाट बढी लिएको शुल्क समायोजन गर्ने भएको छ । शुक्रबार कलेजद्वारा आयोजित पत्रकार सम्मेलनमा कलेजका अध्यक्ष तथा प्रबन्ध निर्देशक प्रा.डा. हरिशचन्द्र न्यौपानेले गत शैक्षिक सत्रदेखि एमबीबीएस र बिडिएसका विद्यार्थीहरुबाट लिएको अतिरिक्त शुल्क समायोजन गर्ने जानकारी दिएका हुन् ।

यसअघि अतिरिक्त शुल्क फिर्ताको माग गर्दै विद्यार्थीहरु आन्दोलनमा उत्रिएपछि चितवन मेडिकल कलेज ठप्प बन्न पुगेको थियो । त्यसपछि जिल्ला प्रशासन कार्यालय चितवनको रोहवरमा कलेजले लिएको बढी शुल्क फिर्ता गर्ने विषयमा आन्दोलनरत विद्यार्थी, अभिभावक र कलेजका ब्यवस्थापनकाबीचमा सहमति भएको थियो । उक्त सहमति लगतै शुल्क फिर्ता तथा समायोजनबारे प्रतिवेदन दिन समिति गठन गरिएको थियो । डा न्यौपानेले उक्त समितिले प्रतिवेदन दिएलगतै विद्यार्थीबाट बढी लिइएको शुल्क समायोजन गरिने जानकारी दिए ।

पत्रकार सम्मेलनमा बाँडिएको विज्ञप्तिमा कलेज ब्यवस्थापनले गत भदौं २३ गते शिक्षा, विज्ञान तथा प्रविधी मन्त्रालयलाई शुल्क विवादका विषयमा अध्ययन गर्न गठित संसदीय उपसमितिले प्रतिवेदन बुझाएको र त्यसपछि मन्त्रालयले दिएको निर्देशन आफूहरुले पालना गर्ने प्रतिवद्धता समेत गरेको छ ।

चितवन मेडिकल कलेजले सरकारले राजधानी बाहिरका लागि तोकिदिएको शुल्क ४२ लाख ४५ हजार, त्रिवि रजिष्ट्रेशन शुल्क ५००, चिकित्सा शिक्षा अध्ययन संस्थानलाई बुझाउनुपर्ने परीक्षा शुल्क २५ हजार, नेपाल मेडिकल काउन्सिलको दर्ता शुल्क, संस्थागत शुल्क, कम्युनिटी शुल्क, इन्टर्नसीप शुल्क, आन्तरिक परीक्षा शुल्क, छात्रावास शुल्क र खानाबाहेकको शुल्क मात्रै समायोजन गर्ने जनाएको छ ।

आगामी दिनमा चिकित्सा शिक्षा आयोगले तोकिदिएको शुल्क र प्रक्रिया पूरा गरेर मात्रै विद्यार्थी भर्ना गर्ने उल्लेख गर्दै चितवन मेडिकल कलेजले कलेजमा अध्ययनरत विद्यार्थीलाई पूर्ववत अध्ययनमा फर्किन र पढ्ने पढाउने वातावरण सिर्जना गर्न समेत अपिल गरेको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ