२०८१ जेठ २, बुधबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश १शिशु बेचेको अभियोग लागेका डा. कर्णको अकुत सम्पत्ति : विराटनगरमा मात्रै ४ वटा घर, ५० कठ्ठा जग्गा

शिशु बेचेको अभियोग लागेका डा. कर्णको अकुत सम्पत्ति : विराटनगरमा मात्रै ४ वटा घर, ५० कठ्ठा जग्गा


विराटनगर—नवजात शिशु निःसन्तान दम्पत्तिलाई पाँच लाखमा बेचेको आरोपमा पक्राउ परेका डा. तपेश्वरलाल कर्णले अकुत सम्पत्ति कमाएको देखिएको छ । कोशी अस्पतालका पूर्व मेसुसमेत रहेका स्त्री तथा प्रसूती रोग विशेषज्ञ डा. कर्णले अस्वाभिक रूपमा अकुत सम्पत्ति आर्जन गरेको देखिएको हो ।

छोटो समयमा डा. कर्णले अस्वाभिक रूपमा सम्पत्ति आर्जन गरेको देखिएपछि सम्पत्ति शुद्धीकरण विभागले उनीविरूद्ध अनुसन्धान सुरू गर्ने भएको छ । उनीमाथि एक दशकदेखि अवैध गर्भपत्तन र नवजात शिशु बेचेको आरोप लाग्ने गरेको छ ।

डा. कर्णको विराटनगरमा चार वटा, काठमाडौमा एउटा घर र करोडौं रुपैयाँको अस्वभाविक सम्पत्ति आर्जन गरेको देखिएको छ । विराटनगरको मुख्य चोक ३० लाख रुपैयाँ प्रतिधुरमा कारोबार भइरहेको ठाउँ, कोशी अस्पताल अगाडि १६ धुर जग्गामा साढे चार तलाको कर्णको घर रहेको छ । यो घर उनकी श्रीमती सरिता कर्णको नाममा रहेको छ ।

डा. कर्णले वि.सं. २०६७ सालमा जग्गा किनेर घर वि.सं. २०६८ सालमा घर बनाएका हुन् । त्यसैगरी विराटनगर– २ तीनपैनी चोकमा तीन तलाको आलिसान घर छ । उनी तीनपैनीको घरमा बस्ने गरेका छन् । यसैगरी, विराटनगर–७ वीरेन्द्र सभा गृह अगाडि सन्जय यादवको क्लिनिकसँग टाँसिएको घर रहेको छ ।

डा. कर्ण बिरामी जाँच गर्ने विराटनगर–७ हस्पिटल चोकमा रहेको दिपेश मेडिकल हल पनि उनकै हो । १७ धुर जग्गामा बनाएको एक तलाको उक्त घर कर्णले क्लिनिक बनाएका हुन् । उनी त्यही मेडिकल हलबाट बिरामी जाँच गर्ने गरेका छन् । दिपेश मेडिकल हलमा अवैध गर्भपत्तन गराउने गरेको पाइएको छ । अवैध सम्बन्धबाट बसेको गर्भलाई मोटो रकम लिएर गर्भपत्तन गराउनेदेखि निःसन्तान दम्पत्तिलाई शिशु उपलब्ध यही दिपेश मेडिकल हलमा गर्दै आएको वर्षौ भएको आरोप उनीमाथि लागिरहेको छ । यो मेडिकल हल अवैध धन्दा चलाए पैसा कमाउने अखडाको रुपमा डा. कर्णले बनाएका कतिपय चिकित्सकहरुले नै आरोप लगाउने गरेका छन् ।

डा. कर्णले काठमाडौंको बुढानिलकण्ठमा पनि १० आनामा बनाउँदै गरेको घर निर्माणाधीन अवस्था रहेको छ । उनले मोरङको बुढीगंगा गाउँपालिकाकोे हात्तीमुढामा साढे २ बिगाहा जग्गा श्रीमती सरिताको नाममा रहेको छ । राजविराजमा पनि उनको जग्गा रहेको देखिएको छ ।
यसरी अवैध धन्दाबाट डा. कर्णले अकुत सम्पत्ति आर्जन गरेको देखिएपछि प्रहरीले थप अनुस्न्धानको लागि सम्पत्ति शुद्धीकरण विभागलाई अनुसन्धानको लागि पत्राचार गर्ने तयारी गरेको छ । ‘अहिलेसम्म डा. कर्णले अस्वाभिक रूपमा सम्पत्ति आर्जन गरेको देखिएको भन्ने आएको छ । यसको पुष्टि हुने आधारहरू प्रारम्भिक चरणबाट देखिन्छ,’ मोरङ प्रहरीका डिएसपी रन्जनकुमार दाहालले हेल्थआवाजसँग भने, ‘कसरी यति धेरै सम्पत्ति आर्जन गरे, त्यो पाटोबाट पनि हामीले केलाउने प्रयत्न गरेका छौं ।’

हस्पिटल चोकमा रहेको डा. कर्णको घर

मोरङ प्रहरीले डा. कर्ण र उनका परिवारको नाममा कति सम्पत्ति रहेको छ । त्यो विषयमा जानकारी गराउन मालपोत कार्यालय र नेपाल राष्ट्र बैंकमा पनि पत्राचार गरेको छ । प्रहरीले मालपोत र राष्ट्र बैंकलाई बुधबार पत्रचार गरेको हो । ‘हामीले मालपोत र राष्ट्र बैंकलाई पनि पत्रचार गरिसकेका छौं,’ डिएसपी दाहालले भने, ‘जानकारी आइसकेको छैन । केही समय लाग्नेछ ।’ मालपोत र राष्ट्र बैंकबाट पत्र प्राप्त भएपछि उनको कुल सम्पत्ति कति हो त्यो प्रष्ट रुपमा आउनेछ ।

उनले अकुत सम्पति लुकाउने छिपाउने उद्देश्यले ससुरालीको नाममा पनि सम्पत्ति राखेको आशंका छ । त्यसतर्फ पनि प्रहरीले अनुसन्धान गर्ने भएको छ ।

डा. कर्ण वि.सं. २०७० चैत १९ देखि विं.सं. २०७१ असोज १४ सम्म कोशी अस्पतालको मेसुसमेत थिए । पछिल्लो पटक असार १४ मा भोजपुर हतुवागढी–४ का एक अविवाहित प्रेमजोडीको सम्बन्धबाट विराटनगरको ग्रीनक्रस अस्पतालमा सामान्य अवस्थामा जन्मिएकी शिशुको व्यवस्थापनका नाममा तिनका अविवाहित अविभावकबाट समेत ३५ हजार रुपैयाँ लिए र निःसन्तान दम्पत्तिसँग पाँच लाख लिएर बेचेको आरोपमा प्रहरीले डा. कर्णलाई गत शुक्रबार पक्राउ गरी अनुसन्धान गर्दै आएको छ ।


क्याटेगोरी : प्रदेश १, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ