२०८१ असोज २४, बिहीबार
Health Aawaj logo
गृहपृष्ठसमाचारनेपाल स्वास्थ्य क्षेत्र रणनीतिक योजनामाथि स्वास्थ्य मन्त्री बस्नेतको झुटो प्रचार

नेपाल स्वास्थ्य क्षेत्र रणनीतिक योजनामाथि स्वास्थ्य मन्त्री बस्नेतको झुटो प्रचार


काठमाडौं–सस्तो लोकप्रियताको पछाडि दौडिरहेका स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेत आफैले गरेको प्रचार उनका लागि प्रत्युत्पादक हुने देखिएको छ । उनी सस्तो लोकप्रियता कमाउनका लागि क्यामरा अघिपछि लगाएर कहिले आफै अनुगमनमा निस्कन्छन् त कहिले निजी अस्पतालमा १० प्रतिशत शैय्या निःशुल्क भएको प्रचार गर्छन् ।

कतिपय प्रचारहरु त यस्ता छन्, जसमा उनी मन्त्री हुनु अगाडि नै सम्पन्न भएका काम पनि आफूले गरेको भनेर प्रचार गर्न पछि हट्दैनन् । मन्त्रीले निःशुल्क गरेका भनिएका ३ हजार ५ सय २३ बेडको बारेमा आइतबार हेल्थआवाजले फेरिहस्त पेश गरेको थियो । जसमा मन्त्री बस्नेत आएपछि १ हजार ३ सय वेड मात्र निःशुल्क भएको र अन्य २ हजार २ सय २३ बेड पहिलेदेखि नै निःशुल्क रहेका थिए ।

मन्त्री कतिसम्म प्रचारमुखी देखिएका छन् भने उनी स्वास्थ्य मन्त्री नहुँदै भएका कतिपय नीतिगत कामको पनि खुलेर जस लिन अगाडि बढेका छन् । मन्त्रीको कार्यभार सम्हालेको सय दिनको उपलक्ष्ययमा धुमधामका साथ प्रचार गरिएको १ सय ७ काममध्ये चौथो नम्बरमा एउटा दीर्घकालीन नीतिगत काम गरेको भनेर प्रचार गरिएको छ ।

बुँदा नम्बर ४ मा भनिएको छ ‘गत वर्षदेखि स्वीकृतीका लागि पेश भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय एवं समग्र स्वास्थ्य क्षेत्रको उच्च तहको नीतिगत दस्तावेजहरू मध्येको नेपाल स्वास्थ्य क्षेत्र–रणनीतिक योजना (२०७९/८०–२०८७/८८) माननीय मन्त्रीज्यूको विशेष पहलकदमीमा मन्त्रीपरिषद्बाट स्वीकृति भएको ।’

यो रणनीति मन्त्रीपरिषद्बाट स्वीकृत गर्न त के रणनीतिको ‘क’ लेख्नसमेत स्वास्थ्य मन्त्री बस्नेतको कुनै भूमिका छैन । मन्त्री बस्नेत कति हावाका भरमा प्रचारमुखी भएका छन् र उनका नजिकका सल्लाहकार, मन्त्रालयका अधिकारीहरु उनको गुणगान गाउन तल्लीन छन् भनेर यसले पनि देखाउँछ ।

मन्त्री बस्नेतलाई प्रधानमन्त्री पुष्पकमल दाहालले २० बैशाख २०८० मा स्वास्थ्य तथा जनसंख्या मन्त्री नियुक्त गरेका हुन् । उनले २१ बैशाखमा सपथ खाएर स्वास्थ्य मन्त्रालयमा पदभार ग्रहण गरे । तर, प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यलयको वेवसाइडमा नेपाल स्वास्थ्य क्षेत्र रणनीतिक योजना २०८० बैशाख १२ गतेको मन्त्रिपरिषदको बैठकले पास गरेको उल्लेख छ ।

मन्त्री बस्नेतले पदभार ग्रहण गर्नु एक हप्ता अघि नै मन्त्रिपरिषदबाट पास भएको निर्णय मन्त्रीको १०० दिने सफल कार्यकालको प्रमुख काममा प्रचार गर्नुले मन्त्री, मन्त्रीको टिम र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका मन्त्रीलाई नीतिगत काममा सहयोग गर्ने सचिवहरु, अतिरिक्त सचिवहरु, सहसचिव, महाशाखा प्रमुखहरुको हैसियत देखिएकोे छ । रोचक त के भने मन्त्री नहुँदैं उनले बाहिरै बसेर कसरी रणनीति योजना पास गराउन महत्वपूर्ण भूमिका खेले अहिलेसम्म स्वास्थ्य मन्त्रालयमा कसैले पनि थाहा पाएका छैनन् ।

यतिमात्र होइन् मन्त्री बस्नेतको उपलब्धिको सूचीमा रहेको स्वास्थ्य वित्त रणनीतिमा पनि आफ्नो विशेष पहल उल्लेख गरेका छन् । तर, उक्त रणनीति ६ महिनाअघि नै तयार भएर क्याबिनेट पुगेको थियो । मन्त्री बस्नेत आउनु अगाडि नै मन्त्रिपरिषद्ले सैद्धान्तिक सहमति दिएर सामाजिक समितिमा छलफलमा थियो । उनी आएको एक हप्तामा नै उक्त रणनीति क्याबिनेटबाट पास भएको थियो । उक्त रणनीति पास गरेको जस लिनु स्वभाविक भएपनि त्यो रणनीतिको सबै काम मैले नै गरेको भन्ने जसरी प्रस्तुत हुनुलाई भने अनौठो मानिएको छ ।

यो पनि पढ्नुस्

स्वास्थ्यमन्त्रीको झुटाे प्रचार (१): निःशुल्क गरेकाे १३०० वेड, प्रचार ३५२३ काे


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ