२०८१ असार ४, सोमबार
Health Aawaj logo
गृहपृष्ठसमाचारमहानिर्देशक ढकालमाथि कानुन विपरित २४०० बढी औषधीको मुल्यवृद्धिमा अनुसन्धान गर्दै अख्तियार

महानिर्देशक ढकालमाथि कानुन विपरित २४०० बढी औषधीको मुल्यवृद्धिमा अनुसन्धान गर्दै अख्तियार

दुई वर्षमा पनि टुंगिएन अनुसन्धान


काठमाडौं—अख्तियार दुरुपयोग अनुसन्धान आयोगले औषधी व्यवस्था विभागका महानिर्देशक नारायण ढकालमाथि कानुन विपरित २ हजार ४ सयभन्दा बढी औषधीको अनधिकृत रुपमा मुल्य वृद्धि गरेको विषयमा  अनुसन्धान जारी राखेको छ । अख्तियार स्रोतकाअनुसार महानिर्देशक ढकालले औषधी ऐन, २०३५ को दफा २६ विपरित स्वदेशी तथा विदेशी औषधीको कानुन विपरित मुल्यवृद्धि गरेको प्रारम्भिक अनुसन्धानमा  देखिएको छ ।

‘यसमा नीति र नियत दुवै दुरुपयोग गरेको देखिन्छ,’ अनुसन्धानमा संलग्न एक अधिकारी भन्छन्, ‘प्रारम्भिक छानविनमा स्वदेशी तथा विदेशी गरेर २ हजार ४ सय बढी औषधीको कानुन विपरित मुल्यवृद्धि गरेको पाइएको छ ।’

अख्तियारका प्रवक्ता भोला दाहालले महानिर्देशक ढकालमाथिको केसमा अनुसन्धान जारी रहेकाले थप विवरण उपलब्ध गराउन नमिल्ने बताए । ‘हामीले औषधीको कानुन विपरित मुल्यवृद्धि गरिरहेको केसमा अनुसन्धान गरिरहेका छौं,’ दाहालले हेल्थआवाजसँग भने, ‘अनुसन्धान जारी नै छ । यसबारे थप विवरण उपलब्ध गराउन सकिदैंन् ।’

ढकालले कानुन विपरित आफूखुसी औषधीको मुल्यवृद्धि गरेको विषयमा हेल्थआवाजले समाचार प्रकाशित गरेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ढकालको अघिल्ला कार्यकालमा विभागबाट भएका औषधीको मुल्यवृद्धि सम्बन्धित सम्पूर्ण कागजात झिकाएको थियो । वि.सं. २०७८ साउनमा विभागले ४ वर्षको निर्णय कपी र मुल्यवृद्धि गरिएका औषधीको विवरण अख्तियारलाई उपलब्ध गराएको थियो ।

त्यसपछि अख्तियारले झण्डै ६ महिना लगाएर प्रारम्भिक अनुसन्धान गर्दा २ हजार ४ सयभन्दा बढी औषधीमा कानुन विपरित मुल्यवृद्धि भएको देखिएको थियो । अख्तियारले सम्बन्धित अधिकारीहरुको बयानसमेत लिइसकेको छ । तर, पटक—पटक अनुसन्धान अधिकृत परिवर्तन हुँदा दुई वर्षदेखि यो विषय टुंगिन सकेको छैन । औषधीको मुल्यवृद्धिजस्तो गम्भीर र जनसरोकारको विषयमाथि छानविन टुंग्याउन अख्तियार नेतृत्वसमेत आनाकानी गरिरहेको घटनाक्रमहरुले देखाउँछ ।

स्वास्थ्य तथा जनसंख्यामन्त्री मन्त्री मोहनबहादुर बस्नेतले अख्तियारमा छानविन चलिरहेका ढकाललाई नै दुई महिनाअघि महानिर्देशकको जिम्मेवारीमा फर्काएका छन् । अख्तियार स्रोत यति गम्भीर विषयमा छानविन भइरहेका बेला पुनः त्यही जिम्मेवारी फर्काउँदा थप प्रमाण मेटिन सक्ने सम्भावना रहेको बताउँछ । ‘यो मन्त्रीले बुझ्नुपर्ने कुरा हो,’ अख्तियार स्रोत भन्छ, ‘यत्रो ठूलो छानविन चलिरहेको मन्त्रीज्यूलाई थाहा नभएको त नहोला ।’

महालेखाको निर्देशन, मन्त्रालयको अवज्ञा

महानिर्देशक ढकालले कानुन विपरित मुल्यवृद्धि गरेको कुरा पहिलो पटक महालेखा परीक्षकले आफ्नो प्रारम्भिक प्रतिवेदनमार्फत उद्घाटित गरेको थियो । महालेखा परीक्षक कार्यलयको आर्थिक वर्ष २०७६/०७७ को प्रारम्भिक प्रतिवेदनमा औषधीको ३४ प्रतिशतसम्म मुल्यवृद्धि गरेर अख्तियारको दुरुपयोग गरेको भन्दैं त्यसमा संलग्न अधिकारीहरुलाई छानविन गरी कारवाही गर्न ३० असार २०७८ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई पत्राचार गरेको थियो ।

महालेखाले आर्थिक वर्ष २०७६/०७७ मा अनुमतिपत्र, प्रमाणपत्र, सिफारिसपत्र र अनुज्ञापत्र जारी गर्दा तथा म्याद सकिएको नवीकरण गर्दा अधिकतम खुद्रा मुल्य उल्लेख गराइ नयाँ दर्ता अनुमति पत्र, प्रमाणपत्र, अनुज्ञापत्र, सिफारिस पत्र साथमा अधिकतम खुल्ला मुल्यसमेत निर्धारण गरेको र सो मुल्य नेपाल राजपत्रमा प्रकाशन नगरेको उल्लेख छ ।

‘औषधीको मुल्यवृद्धि सम्बन्धि विवरण माग गर्दा विभागबाट प्राप्त हुन नसकेको तर लेखा परीक्षण टोलीले लेखा परीक्षणका क्रममा केही विवरण (आर्थिक वर्ष २०७७÷०७८) का प्राप्त गरी विश्लेषण गर्दा नेपाल सरकारबाट मुल्य निर्धारणको अख्तियारी प्राप्त नगरीकन दर्ता नवीकरण तथा विशेष सिफारिसका क्रममा ड्रग्स एडमिनिष्ट्रेशन म्यानेजमेन्ट सिष्टम (डिएएमएस) सफ्टवेयरमा रहेको वा नरहेको औषधीको मुल्य वृद्धि गर्दा विभागका तत्कालीन निर्देशक र दुई निमित्त महानिर्देशक (वरिष्ठ औषधी व्यवस्थापक) समेत निर्णयमा सहभागी हुने गरेको पाइयो,’ महालेखाको तत्कालीन प्रारम्भिक प्रतिवेदनमा उल्लेख छ, ‘ऐनले नदिएको क्षेत्राधिकार प्रयोग गरी औषधीको मुल्यवृद्धिमा संलग्न हुने पदाधिकारीको कार्यलाई नियमसंगत मात्र मान्न सकिएन । कानुनप्रदत्त क्षेत्राधिकार नाघी मुल्यवृद्धि गर्ने गरेको सन्दर्भमा छानविन गरी आवश्यक कारवाही तथा सम्बन्धित औषधी आपूर्तिकर्ता, विक्रेता तथा निकासीकर्ताका सम्बन्ध समेत स्पष्ट हुनुपर्ने देखियो ।’

तर, स्वास्थ्य मन्त्रालयका अधिकारीहरुले भने अहिलेसम्म पनि महालेखाको उक्तमाथि कुनै कारवाही अगाडि बढाएका छैनन् । यो सबै विषय सार्वजनिक भइसकेपछि तत्कालीन स्वास्थ्य मन्त्री विरोध खतिवडाले उनलाई मन्त्रालयमा तानेर फाजिलमा राखिदिएका थिए । तर, स्वास्थ्यमन्त्रीका रुपमा बस्नेत आएसँगै उनले पुनः महानिर्देशककै भूमिका विभाग हाँक्ने जिम्मेवारी पाएका छन् ।

हेल्थआवाजलाई २०७७ बैशाखदेखि असोजसम्म औषधीमा गरिएको मुल्यवृद्धिको सूची त्यतिबेला प्राप्त भएको थियो । जसमा विभागले ६ महिनामा विदेशी १९० वटा ब्राण्डका औषधी नवीकरण गरेकोमा हेल्थआवाजलाई प्राप्त ८८ वटा ब्राण्डका ५२ औषधीमा कम्तिमा ०.५९ प्रतिशतदेखि २०.४७ प्रतिशतसम्म मुल्यवृद्धि गरिएको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ