२०८१ वैशाख २२, शनिबार
Health Aawaj logo
गृहपृष्ठबाग्मती प्रदेशसामान्य र स्वास्थ्यको निर्णय विपरित समायोजनका १७ सहित २६ स्वास्थ्यकर्मी फर्काउँदैं तारकेश्वर नगरपालिका

सामान्य र स्वास्थ्यको निर्णय विपरित समायोजनका १७ सहित २६ स्वास्थ्यकर्मी फर्काउँदैं तारकेश्वर नगरपालिका


काठमाडौं– तारकेश्वर नगरपालिकाले दरबन्दीभन्दा बढी समायोजन, समायोजन मिलान र काजका २६ स्वास्थ्यकर्मीलाई फिर्ता गर्ने तयारी गरेको छ । पालिकाको ११ भदौमा बसेको कार्यकारी परिषद्को बैठकले सो निर्णय गरेको हो ।

पालिकाका कार्यकारी प्रमुख दिनेशराज पन्तले साविकको दरबन्दीमा रहेकाबाहेक सबै स्वास्थ्यकर्मी फिर्ता गर्ने निर्णय भएको बताए । उनले केन्द्र सरकारले तलब भत्ता उपलब्ध नगराएका कारण फिर्ता गर्नुपरेको बताए । ‘दरबन्दीबाहेक स्वास्थ्यका धेरै कर्मचारी हुनुहुन्छ । हामीसँग तलब खुवाउने पैसा छैन,’ पन्तले भने, ‘केन्द्रसँग माग गर्दा दिन सक्दैनौ भन्ने जवाफ आएको छ ।’

समायोजन र समायोजन मिलानका कर्मचारी फिर्ता नगर्न सामान्यले समेत परिपत्र गरिसकेको छ के गर्नुहुन्छ भन्ने हेल्थआवाजको प्रश्नमा कार्यकारी पन्तले भने, ‘परिपत्रले मात्र हुँदैन् । हामीसँग त्यति ठूलो संख्यामा भएका कर्मचारीलाई तलब खुवाउने पैसा छैन । अन्त जहाँ दरबन्दी छ त्यही जानुपर्‍यो ।’

स्वास्थ्य शाखा प्रमुख विनोदकुमार शाहकाअनुसार पालिकामा १७ जना समायोजन र समायोजन मिलानका कर्मचारी र बाँकी ९ जना काजमा आएका कर्मचारी कार्यरत छन् । ती कर्मचारीलाई २ चरणमा फिर्ता गर्ने तयारी रहेको उनले जानकारी दिए । उनले पहिलो चरणमा वर्थिङ सेन्टरमा खटिएका, डायलाइसिसको तालिम लिएर आएका र बिमामा खटिएकाबाहेक ९ जनालाई फिर्ता गर्ने तयारी भएको छ ।

पालिका स्रोतका अनुसार नेपाली कांग्रेसका नेतासमेत रहेका नगरपालिकाका मेयर कृष्णहरि महर्जनले पार्टीगत रुपमा हेरेर समायोजन र समायोजन मिलानका कर्मचारी फिर्ता गरेका छन् ।

वर्तमान स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतले स्वास्थ्य मन्त्रालयको नेतृत्व गरेपछि पालिकाले तलब भत्ता खुवाउन नसक्ने समायोजन मिलान र काजका कर्मचारी फिर्ता गर्ने निर्णय गरेका थिए । तर, पालिकाहरुले भने समायोजन र समायोजन मिलानमा भएका कर्मचारी पनि फिर्ता गराउन थालेपछि सामान्य प्रसाशन मन्त्रालयले समायोजन र समायोजन मिलान भएर गएका कर्मचारी फिर्ता गर्न नपाइने परिपत्र गरेको थियो । स्वास्थ्य मन्त्रालयले सोहीअनुसार गत आर्थिक वर्षको तलव भत्ता निकास गरेको थियो ।

सामान्य प्रशासन मन्त्रालयको परिपत्रपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पनि सार्वजनिक सूचना जारी गर्दै काजमा खटिएका र तलब भत्ता व्यवस्थापन हुन नसक्ने स्वास्थ्यकर्मी मात्र फर्काउन भनेको थियो ।


क्याटेगोरी : बाग्मती प्रदेश, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ