२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारबसाइँ सराइले स्वास्थ्य सेवा प्रवाहमा समस्या छ : स्वास्थ्यमन्त्री

बसाइँ सराइले स्वास्थ्य सेवा प्रवाहमा समस्या छ : स्वास्थ्यमन्त्री


काठमाडौं—स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले जनसंख्याको बसाइँ सराइका कारण स्वास्थ्य सेवा प्रवाहमा समस्या देखिएको बताएका छन् । शुक्रबार काठमाडौं आयोजित एक कार्यक्रममा बोल्दै मन्त्री बस्नेतले बसाइ सराइका कारण सहरी क्षेत्रका स्वास्थ्य संस्थामा बिरामीको भिडभाड तर ग्रामीण बस्तीका स्वास्थ्य संस्था सुनसान हुने अवस्था आउन थालेको बताए ।

‘जनसंख्याको सन्तुलन नमिलेपछि अहिले ग्रामीण बस्तीका स्वास्थ्य संस्था रित्तिने अवस्था छ भने अर्कोतिर सहरी क्षेत्रमा बिरामीको भार थेग्नै नसक्ने समस्या देखिएको छ,’ उनले भने, ‘त्यसैले बसाइँ सराइलाई बेलैमा व्यवस्थित गर्नै पर्नेछ ।’

जनसंख्याको सही ढंगले व्यवस्थापन गर्न नसकिए हामीले चाहेजस्तो र खोजेको जस्तो विकास सम्भव नभएकाले यसका विषयमा गहन ढंगले योजना बनाउनुपर्ने आवश्यकता रहेको मन्त्री बस्नेतले बताए । जनसंख्या र विकास बीचको खाडल पहिचान गरी कार्ययोजना बनाउनुपर्नेमा उनले जोड दिए ।

कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय जनसंख्या महाशाखाका सहसचिव रमेशकुमार केसीले जनसंख्या र विकास सम्बन्धी कार्यपत्र प्रस्तुत गर्दै नेपालको जनसंख्याको ६७ प्रतिशत जनसंख्या आर्थिक रुपले सक्रिय उमेर समूहभित्र रहेकोले त्यसको लाभ राज्यले लिनुपर्ने बताए ।
नेपालमा जनसंख्या वृद्धिदर पछिल्ला वर्षमा घट्दै गइरहेको भएपनि मातृ मृत्युको अवस्था अझै विकराल रहेको केसीले जानकारी दिए । उनले भने, ‘अहिले पनि नेपालमा मातृमृत्यु दर प्रति लाखमा १५१ जना कायम रहनु चुनौतीको विषय हो ।’

यूएनएफपीएकी नेपाल प्रतिनिधि ओन यङ हङले नेपालमा प्रत्येक दिन २ जना महिलाको मृत्यु प्रसुतिका कारण हुने गरेको तथ्यांक प्रस्तुत गर्दै बाल विवाह, महिला हिंसाजस्ता विषयमा सुधार नगरेसम्म महिलाको स्वास्थ्य अवस्थामा सुधार गर्न नसकिने अवस्था रहेको बताइन् । सन् १९९४ मा कायरोमा भएको जनसंख्या र विकास सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनका दूरदर्शी लक्ष्यहरु र २०१९ मा नैरोवीमा पुन जाहेर गरिएका प्रतिवद्वताहरु पूरा गर्नका लागि नेपाल सरकारले गरेका प्रयास उल्लेखनीय रहेको उनले बताइन् ।

सम्मेलनमा राष्ट्रिय योजना आयोगका सदस्य डा. आरपी बिच्छा, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. रोशन पोखरेल र देवकुमारी गुरागाईले जनसंख्याको व्यवस्थापन गरेर मात्र सहज रुपमा र गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउन सक्नेमा जोड दिएका थिए ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ