२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारकाठमाडौं महानगरका स्वास्थ्य सेवामा सेवाग्राहीको संख्या बढाउनुपर्नेमा जोड

काठमाडौं महानगरका स्वास्थ्य सेवामा सेवाग्राहीको संख्या बढाउनुपर्नेमा जोड


काठमाडौं- काठमाडौं महानगरपालिकाको स्वास्थ्य विभागले मातहतका सेवाको वार्षिक समीक्षा थालेको छ । शुक्रबारबाट स्वास्थ्य प्रवर्धन केन्द्र र वडा क्लिनिकका स्वास्थ्यकर्मीकाबीच थालिएको समीक्षामा केन्द्र तथा क्लिनिक इन्चार्जहरुले आधारभूत सेवामा सेवाग्राही सन्तुष्ट रहेको र विशेषज्ञ सेवाका लागि क्षमता बढाउँदै जानुपर्ने धारणा राखेका छन् ।

समीक्षा उद्घाटन अवसरमा बोल्दै महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारीले स्वास्थ्य क्षेत्रलाई लैङ्गिक, सामाजिक तथा मानसिक अवस्था, सहरी आचरण, खानपान, बजारलगायतका कोणबाट हेरेर सेवा वितरणमा सन्तुलन गर्न आग्रह गरे ।

‘नागरिकलाई रोगबाट बचाउन आहार, विहार, आचार, विचारसँग सम्बन्धित स्वच्छ भान्सा, आरोग्य जीवनलगायत कार्यक्रम थालिएको छ,’ अधिकारीले भने, ‘रोग लागेका बिरामीको सहज, सरल र पहुँच योग्य उपचारका लागि सुलभ फार्मेसीलगायत कार्यक्रम कार्यान्वयन चरणमा ल्याइएको छ । यसलाई सफल कार्यान्वयन गरेर स्वास्थ्य सेवामा सेवाग्राहीको संख्या बढाउनुपर्छ । यसमा तपाईंहरुको नतिजा देखिन्छ ।’

कार्यक्रममा विभागका प्रमुख रामप्रसाद पौडेलले महानगरपालिकाले स्वास्थ्य ऐन जारी गरिसकेको भन्दै स्वास्थ्य सेवा प्रविधिमा आधारित हुने भएकोले प्रविधिमा अभ्यस्त हुन आग्रह गरे । त्यस्तै, सेवाग्राहीमैत्री व्यवहारबाट बिरामीको मन जित्ने सीपको विकास गर्नुपर्ने उनको भनाइ छ ।

जिल्ला स्वास्थ्य कार्यालय काठमाडौंका प्रमुख सागर घिमिरेले, स्वास्थ्य क्षेत्र सुधारका लागि केन्द्र सरकारले लिएका लक्ष्य कार्यान्वयनको अवस्था पालिकाहरुले प्राप्त गरेको नतिजामा देखिने बताए । पालिकाहरुले उपलब्ध गराएका सेवाको तथ्याङ्क दुरुस्त हुनुपर्ने बताए ।

समीक्षामा वडा नंं ११ का अध्यक्ष एवं भवन समितिका संयोजक हीरालाल तण्डुकारले स्वास्थ्य र शिक्षालाई निःशुल्क बनाउनेतिर कार्यक्रम सञ्चालन थालिएको बताए ।

समीक्षामा प्रस्तुतीकरण गर्दै स्वास्थ्य महाशाखा प्रमुख सजिना महर्जनले स्वास्थ्य प्रवर्धन केन्द्रको स्थापना, स्वास्थ्य ऐन निर्माण, अनलाइन प्रणालीमा आधारित औषधी तथा औषधीजन्य सामग्री वितरण गएको वर्षका उपलब्धी भएको बताइन् ।

उनकाअनुसार सबै वडा क्लिनिकलाई स्तरोन्नति गरेर स्वास्थ्य प्रवर्धन केन्द्रका रुपमा सञ्चालन गर्ने लक्ष्यअनुरुप वडा नं. १, ७, ८, ९, १४, १९, २६ र ३० गरी ८ वटा वडामा स्वास्थ्य प्रवर्धन केन्द्र सञ्चालनमा आइसकेका छन् । वडा नंं ३, ५, ६, १०, ११, १२, १७, १८, २२, २७ र २८ गरी ११ वटा वडामा पूर्वाधार निर्माण सम्पन्न भइसकेको छ । वडा नं. २, १३, १६, २०, २१, २३ र २४ मा स्थान पहिचान भइसकेको छ ।

पूर्वाधार निर्माणको काम बाँकी छ । बाँकी ६ वटा वडामा स्थान पहिचानको प्रक्रिया चलिरहेको छ । महानगरपालिकाले आउँदो ६ महिनाभित्र २० वटा वडामा स्वास्थ्य प्रवर्धन केन्द्र सञ्चालन गर्ने लक्ष्य राखेको छ ।

विभागले महानगरपालिकाभित्रका निजी स्वास्थ्य संस्थाको विवरण संकलन गरेको छ । महानगरमा २ हजार १ सय वटा स्वास्थ्य संस्था छन् । चालु आर्थिक वर्षमा स्वर्णिम तथा गौरव योजनामा भएका कार्यक्रमसहित इम्प्लान्ट तथा औषधीबाट गरिने गर्भपतन सेवा केन्द्रको विस्तार, आधारभूत स्वास्थ्य सेवाको पहुँच विस्तार, सेवा व्यवस्थापन गर्न जनशक्तिको क्षमता विकास, अनलाइन प्रणालीमा आधारित प्रक्रियालगायत कामलाई विभागले प्राथमिकतामा राखेको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ