२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारदश जिल्लामा डेंङ्गी संक्रमण तीव्र गतिमा बढ्दै, सुनसरीमा सबैभन्दा बढी

दश जिल्लामा डेंङ्गी संक्रमण तीव्र गतिमा बढ्दै, सुनसरीमा सबैभन्दा बढी


काठमाडौं– पछिल्लो समय नेपालका १० जिल्लामा डेंङ्गी संक्रमण तीव्र गतिमा बढ्दै गएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार शनिबारसम्म देशभर कुल संक्रमित २८ हजार ८०३ पुगेका छन् ।

सुनसरी जिल्ला सबैभन्दा बढी प्रभावित भएको महाशाखाले जनाएको छ । त्यस लगत्तै धादिङ, मोरङ, झापा, काठमाडौं, संखुवासभा, धनकुटा, तनहुँ, कैलाली र धनुषा रहेका छन् । जसमध्ये सबैभन्दा बढी प्रभावित जिल्ला सुनसरीमा मात्रै १५ हजार ९७९ जना संक्रमित भएका छन् ।

त्यसैगरी ‘टप टेन’ मध्येको अर्को जिल्ला धादिङमा डेंङ्गी संक्रमितको संख्या तीन हजार ११ पुगेको छ भने, मोरङमा २ हजार २६४, झापामा १ हजार ८५३, काठमाडौंमा ५५० रहेका छन् ।

डेंङ्गीका मूख्य लक्षणहरू

उच्च ज्वरो आउनु ।

जोर्नी र मांशपेशीहरू बेस्सरी दुख्नु ।

आँखाको गेडी दुख्नु ।

बेस्सरी टाउको दुख्नु ।

शरीरमा राता बिमिराहरू आउनु ।

वाकवाकी लाग्नु वा वान्ता हुनु ।

डेंङ्गी संक्रमण हुनबाट कसरी बच्ने ?

  • एडिज जातको लामखुट्टेले दिनको समयमा टोक्दछ । त्यसमाथि पनि बिहान र साँझको समयमा टोक्ने सम्भावना बढी भएकोले सो समयमा थप सचेत हुने ।
  • आफ्नो घर वरिपरि, कार्यस्थल र सार्वजनिक ठाँउहरूमा पानी जम्न नदिने । पानी राख्ने भाँडालार्ई लामखुट्टे नछिर्ने गरि राम्ररी छोपेर राख्ने
  • दिउँसो पनि लामखुट्टे भगाउने धूप बाल्ने र लामखुट्टेको टोकाईबाट बच्ने मलम लगाउने ।
  • घरको झ्याल ढोकामा लामखुट्टे नछिर्ने जाली हाल्ने ।
  • बिहान, दिउँसो, राती जुनसुकै बेला झुल लगाएर मात्र सुत्ने ।
  • पूरै शरिर ढाक्ने लुगा लगाउने ।
  • पानी राख्ने भाँडाहरू जस्तै ट्यांकी, ड्रम, बाटा, बाल्टिन आदिलाई लामखुट्टे नछिर्ने गरी राम्ररी छोपेर राखौं । साथै पानी जम्न सक्ने ठाउँमा पानी जम्न नदिन नियमित सफा गरौं ।
  • काम नलाग्ने र पानी भरिन सक्ने सामानहरू जस्तै बोतल, टायर, प्लास्टिकका बस्तुहरू पानी जम्न नमिल्ने गरि विसर्जन गर्ने ।
  • घर/ विधालयको अध्याँरा कुना–काप्चा, जस्तैः पर्दा पछाडी, खाटमुनि, शौचालय भित्र, डेस्क÷बेन्च मुनि आदि जस्ता ठाउँहरुमा किटनाशक औषधि छर्कने गरौं ।
  • कम्तिमा हप्ताको एक पटक ऐर कुलर, पानी ट्यांकी, फूलदानी, गमलामा राखिएको प्लेटहरु राम्ररी सफा गरौं ।

क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ