२०८१ वैशाख १४, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसमाचारएनएमए अध्यक्षका लागि लोकतान्त्रिकबाट डा. भुपेन्द्र र डा. लोचनसँगै डा. राजेन्द्रको इन्ट्री, महासचिवमा पाँच दाबेदार

एनएमए अध्यक्षका लागि लोकतान्त्रिकबाट डा. भुपेन्द्र र डा. लोचनसँगै डा. राजेन्द्रको इन्ट्री, महासचिवमा पाँच दाबेदार


काठमाडौं—माघमा हुने लागेको नेपाल चिकित्सक संघ (एनएमए)को निर्वाचनमा लोकतान्त्रिक खेमाबाट अध्यक्षका दुई चर्चित उम्मेदवार डा. भुपेन्द्र बस्नेत र डा. लोचन कार्की प्रमुख दाबेदार हुन् । अध्यक्षको उम्मेदवारका दाबेदारका रुपमा वर्तमान र पूर्व महासचिव मैदानमा उत्रिएका बेला स्वास्थ्य सेवा विभागका पूर्व कार्यवाहक महानिर्देशक डा. राजेन्द्रको पन्तले पनि अध्यक्षको उम्मेदवारमा आफ्नो रुची जाहेर गरेका छन् ।

लोकतान्त्रिक खेमाको उम्मेदवारी सम्बन्धि छलफल कार्यक्रममा डा. राजेन्द्रले पूर्व र वर्तमान महासचिवसँगै आफू पनि संघको अध्यक्षका लागि इच्छुक र योग्य उम्मेदवार भएको दाबी पेश गरेको छलफलमा एक बरिष्ठ चिकित्सकले बताए । डा. पन्तले सबैले सर्वमान्य रुपमा नेतृत्व लिन आग्रह गरेको खण्डमा मात्रै उम्मेदवार बन्ने बताए । ‘अफर आयो भने सिनियर र जुनियरलाई समेट्ने सक्ने मध्य लेभलको मान्छे हुँ, रिटायर्ड भएकाले पूर्ण रुपमा काम गर्न पनि सक्छु,’ डा. पन्तले हेल्थआवाजसँग भने, ‘संघलाई एकेडेमिक रुपमा रुपमा लाने हो र साथीभाइको सहयोग हुने हो भने म तयार छु भनेको हुँ ।’

अध्यक्षको उम्मेदवारमा दाबी गरिरहेका र नयाँ सदस्यहरुले स्वीकारेमा पुनः अध्यक्षका लागि आफूहरुको तयार रहेको भन्दैं वर्तमान अध्यक्ष डा. मुक्तिराम श्रेष्ठ, पूर्व अध्यक्षद्वय डा. केदारनरसिंह केसी, डा. अन्जनीकुमार झाले पनि एनएमएको नेतृत्व लिन तयार रहेको बताएका थिए । तर, सहभागीहरुले विगतको परम्पराअनुसार नै वर्तमान अध्यक्षको संयोजकत्वमा पूर्व अध्यक्षहरुको उम्मेदवार छनोट समिति बन्ने भएको हुँदा सोहीअनुसार नयाँ उम्मेदवार छनोट गर्नुपर्नेमा जोड दिएपछि उनीहरु पछि हटेका थिए ।

छलफलले वर्तमान अध्यक्ष डा. मुक्तिराम श्रेष्ठलाई पदाधिकारी तथा सदस्यका उम्मेदवारहरु छानविन समितिको संयोजक बनाएको छ । उनले अब केही दिनमा नै पूर्व अध्यक्षहरुलाई राखेर समिति बनाउने र उम्मेदवारको छनोट गर्ने जानकारी दिए । डा. श्रेष्ठले डा. बस्नेत र डा. कार्कीसँगै डा. पन्तले पनि इच्छा देखाएको बताए । ‘तीन जनाले इच्छा देखाउनुभएको छ,’ उनले भने, ‘छनोट समिति पूर्ण बनाएर तीनै जनालाई राखेर चित्तबुझ्दो तरिकाले समितिले उम्मेदवार छान्नेछ ।’

महासचिवमा पाँच दाबेदार

लोकतान्त्रिक समूहको छलफलमा महासचिवका लागि पाँच जनाले दाबेदारी पेश गरेका छन् । स्रोतकाअनुसार अध्यक्षपछि शक्तिशाली मानिएको महासचिवमा दाबी पेश गर्नेमा वर्तमान सह—कोषाध्यक्ष डा. प्रकाश बुढाथोकी, सदस्यहरु डा. अनिल कार्की, डा. बद्री रिजाल, डा. विश्व दवाडी, डा. शिवजी पौडेल रहेका छन् ।

कार्यसमिति सदस्य हुँदै सह—कोषाध्यक्ष भएका डा. बुढाथोकी महासचिवका लागि सबैभन्दा बलियो दाबेदार रहेको संघका एक पूर्व सदस्य बताउँछन् । काठमाडौं कार्यक्षेत्र भएको, संघलाई पूर्णकालीन समय दिनसक्ने, अन्य नियांमक निकायमा नरहेको र पदाधिकारीमा रहेर काम गरिसकेको लगायतका आधारमा महासचिवको उम्मेदवार छान्ने तयारी छनोट समितिको रहेकाले पनि उनको सम्भावना बलियो बनेको बताइन्छ ।

डा. विश्व दवाडी र डा. शिवजी पौडेल हाल मेडिकल काउन्सिलका सदस्य समेत रहेका छन् । डा. बद्री रिजाल सरकारी चिकित्सक संघका पूर्व अध्यक्ष हुन भने डा. अनिल कार्कीको चितवन कार्यक्षेत्र रहेको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ