२०८१ वैशाख १३, बिहीबार
Health Aawaj logo
गृहपृष्ठसमाचारसञ्चालकको दबाबले दुई वर्षमा पनि स्वास्थ्य मन्त्रालयले तोकेन अस्पतालको सेवा शुल्क

सञ्चालकको दबाबले दुई वर्षमा पनि स्वास्थ्य मन्त्रालयले तोकेन अस्पतालको सेवा शुल्क


काठमाडौं— स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निजी अस्पतालहरुको शुल्क निर्धारण गर्न अटेरी गरेको छ । निजी अस्पतालहरुको दबाबमा मन्त्रालयले पटक—पटक प्रयास गरेपनि शुल्क निर्धारणका विषयमा निर्णय लिन भने सकेको छैन ।

शुल्क निर्धारण गर्न नसक्दा अस्पतालअनुसार फरक—फरक शुल्क रहेको छ । २०७४ माघ २६ गते शुल्क निर्धारण समितिको पहिलो बैठकले चिकित्सा महाशाखा प्रमुखको संयोजकत्वमा कार्यदल गठन गरी एक महिनाभित्र प्रतिवेदन पेस गर्ने निर्णय गरेको थियो । तर, उक्त काम अगाडी नबढेको मन्त्रालयका अधिकारीहरुले बताएका छन् ।

जनताबाट निजी अस्पतालले बिरामीसँग चर्को शुल्क लिएको जानकारी आएपछि शुल्क निर्धारण सम्बन्धमा गत २०७४ माघ २६ गते स्वास्थ्य सचिवको संयोजकत्वमा पाँच वर्षमा पहिलो पटक बैठक बसेको थियो । अधिकारीहरु भन्छन्, ‘निजी अस्पतालको दबाब र प्रभावमा परेर स्वास्थ्य सचिवले शुल्क निर्धारणबारे निर्णय लिन सकेका छैनन् ।’ निजी अस्पतालहरुको दबाबमा मन्त्री र सचिवलाई प्रभावमा पारेर समितिको बैठक नै बस्न दिइएको छैन् ।

मन्त्रालयले सबै अस्पतालहरुलाई शुल्क निर्धारण गरेको सूची उपलब्ध गराउन सर्कुलर जारी गरेको थियो । सबै अस्पतालले सूची नबुझाए पनि केही ठूला अस्पतालले बुझाएका छन् । उनीहरुले सूची बुझाएको एक वर्षभन्दा बढी भएको छ । तर, मन्त्रालय यस विषयमा निर्णय लिन अटेर गरिरहेको छ ।

शुल्कको आधार दराजमा थन्काइयो

एक वर्षअघि निजी अस्पतालहरुले शुल्कको आधार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा बुझाए । सो आधारलाई टेकेर मन्त्रालयले शुल्क निर्धारण सम्बन्धी व्यवस्था गर्ने बताएको थियो । २०७४ माघ २६ गते शुल्क निर्धारण समितिको पहिलो बैठकले चिकित्सा महाशाखा प्रमुखको संयोजकत्वमा कार्यदल गठन गरी एक महिनाभित्र प्रतिवेदन पेस गर्ने निर्णय गरेको थियो ।

हाल उक्त कार्यदलको चिकित्सा तथा गुणस्तर महाशाखा प्रमुख डा. दिपेन्द्र रमण सिंह संयोजक छन् । उनले अनौपचारिक रुपमा काम गरिरहेका छन् । तर, शुल्कका निर्णय लिन उनले पनि सकेका छैनन् । अस्पतालहरुले बुझाएको सुची दराजमा थन्काइएको छ ।

निजी अस्पतालले गेट पास चार्जमा पनि ठगी गर्छन्

सरकारले शुल्क निर्धारण नगर्दा निजी अस्पताल, फार्मेसी, क्लिनिकले मनोमानी रूपमा शुल्क असुल्दै आएका छन । मन्त्रालयले गरेको अनुगमनका क्रममा बिरामीबाट विभिन्न नाममा अतिरिक्त शुल्क असुलेर ठगी गरिरहेको पाइएको मन्त्रालयका एक अधिकारी बताउँछन्  ।

बेड जार्च डिलक्स र वेड चार्ज, गेट पास चार्ज, अपरेसन चार्ज, प्रक्रिया चार्ज, बिरामी कुरुवा चार्ज, प्रशासनिक, डाक्टर, नर्सिङ, सर्जरी चार्ज, उपकरण चार्ज, ल्यावलगायत विभिन्न शीर्षकमा बिरामीसँग रकम उठाउने गरेका छन् । ‘यसलाई रोक्नु हाम्रो मुख्य चुनौती छ,’ स्वास्थ्यका ती अधिकारीले हेल्थआवाजसँग भने ।

एउटै सेवा तर फरक मुल्य

बी एण्ड बी अस्पतालले एक्जेक्युटिभ स्वीट वेडका नाममा एक रातको १७ हजार ८ सय ५० रुपैयाँ लिने गरेको छ । सोही शीर्षकको वेडमा बयोधा अस्पतालले रातको १५ हजार लिन्छ । यता नर्भिक अस्पतालले ३५ हजार लिने गरेको अस्पतालले मन्त्रालयमा बुझाएको सूचीले स्पष्ट पार्छ ।

बी एण्ड बी अस्पतालले सिंगल वेड शुल्क ४ हजार ८ सय ३० लिदै आएको छ । सोही वेड बयोधाको १५ सय रहेको छ । यता नर्भिकले २ हजार लिदै आएको छ । त्यसैगरी बी एण्ड बीले मेजर अप्रशेन गरेबापत २ लाख ४६ हजार ७ सय ५० लिने गरेको छ ।

काम भइरहेको छ

डा दिपेन्द्र रमण सिंह
संयोजक, शुल्क निर्धारण समिति
अस्पतालहरुले सूची बुझाउने काम भइरहेको छ । केही आइसकेका छन् । हामीले त्यसलाई अध्ययन गर्दैछौं । काम नभएको भन्ने हैन, मन्त्रालयले विशेष चासो दिएर त्यसलाई हेरेको छ । मूल्यलाई स्वास्थ्य विमाको प्याकेजमा जोड्ने कि भन्ने विषयमा पनि केन्द्रित भएका छौं । विमासँग जोड्दा केही शुल्कमा तलमाथि हुन जान्छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ