२०८१ वैशाख २१, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश १फार्मेसीको लापरवाही : ‘कोल्ड चेन’मा राख्नुपर्ने भ्याक्सिन बाहिरै राखेर बिक्री

फार्मेसीको लापरवाही : ‘कोल्ड चेन’मा राख्नुपर्ने भ्याक्सिन बाहिरै राखेर बिक्री

२२ वटा फार्मेसीबाट बाहिर राखेको भ्याक्सिन नष्ट


विराटनगर—खोप भण्डारण स्टोर अर्थात् कोल्ड चेनमा निश्चित तापक्रममा राख्नुपर्ने भ्याक्सिन फार्मेसीहरूले खुल्ला ठाउँमा राखेर बिक्री वितरण गर्ने गरेको पाइएको छ । कोशी प्रदेशको तराईंका जिल्ला र पहाडी क्षेत्रका फार्मेसीहरूले भ्याक्सिन सुरक्षित नराखी बिक्री गर्ने गरेको पाइएको हो ।

औषधी व्यवस्था विभाग विराटनगरले गरेको अनुगमनको क्रममा झापा, मोरङ, सुनसरी, इलाम र सिराहाका फार्मेसीहरूले भ्याक्सिन कोल्ड चेनमा नराखेको पाइएको छ । कोल्ड चेनमा राख्नुपर्ने भ्याक्सिन नराखेर बिक्रीको लागि राखेको पाइएको औषधी व्यवस्था विभाग विराटनगरका प्रमुख टेकेन्द्र मिश्रले बताए ।

अनुगमनको क्रममा २२ वटा फार्मेसीले उचित मात्रामा कोल्ड चेनमा नराखी खुल्ला ठाउँमा भ्याक्निस राखेको पाइएपछि बरामद गरी नष्ट गरिएको उनले जानकारी दिए । इलामको सुर्योदय नगरपालिकाको फिक्कल बजारमा रहेको सृजना मेडिकल हलबाट ६० हजार मुल्य बरावरको भ्याक्सिन खुल्ला ठाउँमा राखेर बिक्री गरेको पाइएको उनले बताए । सृजना फार्मेसीले इन्सुलीन, हर्मोनल, टिटी, एन्टीरेबिज भ्याक्सिनहरु खुल्ला ठाउँमा राखेर बिक्रीमा राखेको अनुगमनको क्रममा पाइएपछि बरामद गरिएको उनले बताए ।

भ्याक्सिनलाई निश्चित तापक्रममा खोप भण्डारण स्टोर अर्थात् कोल्ड चेनमा सुरक्षित राख्नु पर्दछ । खोपमा रहेको गुण र यसको प्रभावकारितालाई कायम राख्न उत्पादनदेखि लगाउने समयसम्म तोकिएको तापक्रममा भ्याक्सिन राख्नुपर्दछ । यो प्रक्रियालाई नै कोल्ड चेन भनिन्छ । कोल्ड चेन भ्याक्सिन व्यवस्थापनको महत्वपूर्ण र चुनौतीपूर्ण पाटो हो ।

‘भ्याक्सिन २ देखि ८ डिग्री सेल्सियससम्मको स्टोर क्षमता भएका कोल्ड चेनमा राख्नुपर्ने हुन्छ,’ विभागका प्रमुख मिश्रले भने, ‘त्यसपछि मात्र भ्याक्सिन सुरक्षित हुन्छ ।’ यसरी कोल्ड चेनमा तापक्रम नमिलाई राखेको भ्याक्सिनले कुनै काम नगर्ने उनले बताए ।

त्यही कारण बाहिर राखिएका भ्याक्सिनहरु बरामद गरी नष्ट गरिएको उनले बताए । ‘अनुगमनका क्रममा बाहिर खुल्ला ठाउँमा राखिएको भ्याक्सिनहरु बरामद गरेर नष्ट गरेपछि हामीले फर्मेसीहरुलाई सचेत पनि गराएका छौं । बिरामीका लागि आवश्यक पर्ने भ्याक्सिन कोल्ड चेनमा तापक्रम मिलाएर मात्र बिक्री वितरण गर्न निर्देशन दिएका छौं,’ उनले भने, ‘अटेरी गरी फेरी पनि भ्याक्सिन कोल्ड चेनमा तापक्रम मिलाएर बिक्री नगरेको पाइए त्यस्तो फार्मेसीलाई हामी कारवाहीको दायरामा ल्याउनेछौं ।’


क्याटेगोरी : प्रदेश १, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ