२०८१ वैशाख ६, बिहीबार
Health Aawaj logo
गृहपृष्ठसमाचारअन्योलमा नेपाल स्वास्थ्यकर्मी संघको महाधिवेशन

अन्योलमा नेपाल स्वास्थ्यकर्मी संघको महाधिवेशन


काठमाडौं– आगामी २२ र २३ कार्तिकमा हुने भनिएको नेपाल स्वास्थ्यकर्मी संघको महाधिवेशन अन्योलमा परेको छ । महाधिवेशनको मिति आउन चार दिन मात्र बाँकी रहँदा संघभित्रै विवाद उत्पन्न भएपछि अन्योलमा परेको हो ।
कार्यसमिति अध्यक्षले अधिवेशनको लागि सहयोग नगरेको भन्दै महाधिवेशन तयारी समितिका संयोजकले राजीनामा दिएका छन् भने प्रतिनिधीहरुको टुंगो अझै लाग्न सकेको छैन । संयोजकको राजीनामापछि अर्का संयोजक पनि चयन हुन सकेका छैनन् ।

संघका अध्यक्ष रामजी घिमिरेले आवश्यक सहयोग नगरेको भन्दै तयारी समितिका संयोजक कृष्णप्रसाद नागिलाले राजीनामा दिएको बताए । अधिवेशनको समय आइसक्दा समेत अध्यक्ष घिमिरेले पदाधिकारीको विवरण उपलब्ध नगराएकाले आफूले राजीनामा दिएको संयोजक नागिलाले बताए ।
‘अध्यक्षले टीओआर अनुसारको डकुमेन्ट उपलब्ध नगराएकाले मैले राजीनामा दिएको हुँ,’ उनले भने, ‘डकुमेन्ट उपलब्ध नगराएपछि नामावली बनाउने, मापदण्ड नमिलेकाको रद्ध गर्ने, भेरिफाई गर्नेजस्ता काम कसरी गर्ने अनि के तयारी गर्ने ?’
नागिलाले असोज ३० गते बसेको संघको केन्द्रीय समितिकोे बैठकमा अध्यक्षलाई राजीनामापत्र बुझाएको हेल्थ आवाजलाई जानकारी दिए ।
यही कार्तिक २२ र २३ गते तोकिएको महाधिवेशनमा अहिलेसम्म प्रतिनिधिको सूची सार्वजनिक हुन सकेको छैन । संघका पदाधिकारीहरुले तत्काल प्रतिनिधिको सूची पाउँ भनी लिखित निवेदन दिँदा समेत अध्यक्ष घिमिरेले अहिलेसम्म कसैलाई पनि सूची नदिएको एक पदाधीकारीले बताए । यस विषयमा बुझ्न हेल्थ आवाजले संघका अध्यक्ष घिमिरेलाई पटक—पटक सम्पर्क गरेपनि उनले फोन उठाएनन् ।

एकै नामबाट दुईवटा ऐनअन्तर्गत दर्ता
निजामती सेवा ऐन २०६४ र ट्रेड युनियन ऐन २०४९ दुवै अनुसार एउटै नाममा दुई संस्था दर्ता छन् ।
‘ट्रेड युनियन ऐन २०४९’ अनुसार दर्ता भएको नेपाल स्वास्थ्यकर्मी संघमा निजी, करार, महिला स्वास्थ्य स्वयंसेविका सदस्य हुन पाउँछन् । तर यो ऐन अनुसार दर्ता भएको संस्था नवीकरणमा छैन । स्वास्थ्य स्वयंसेवीकाहरु समेत सदस्य रहेको सो संघमा अब उनीहरुले प्रतिनिधी भएर भोट हाले त्यसको वैधानीकतामा नै प्रश्न उठ्ने संघका वर्तमान पदाधिकारीहरु बताउँछन् ।

ट्रेड यूनियन ऐन अनुसार दर्ता भएको नेपाल स्वास्थ्यकर्मी संघको म्याद २०७५ साल माघ १९ गते सकिएको छ । सो ऐन अनुसार दर्ता नं १४३ रहेको नेपाल स्वास्थ्यकर्मी संघको म्याद सकिएको श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले जनाएको छ ।

विभागका महानिर्देशक सनत केसीका अनुसार एउटै नामबाट दुई वटा ऐन अन्तर्गत दर्ता गर्न मिल्दैन । अहिले वैधानिक रुपमा २७२ दर्ता नम्बर रहेको निजामती सेवा ऐन अनुसारको नेपाल स्वास्थ्यकर्मी संघ मात्र अस्तित्वमा रहेको देखिन्छ । ‘एउटै नामबाट दुईतिर दर्ता भएको छ भने एउटा स्वतः खारेज हुन्छ’ उनले भने ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ