२०८१ वैशाख २१, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश १शल्यक्रियापछि बोल्न सिक्दैं बालबालिका

शल्यक्रियापछि बोल्न सिक्दैं बालबालिका


विराटनगर—झापाको मेची नगरपालिका धुलावारीकी ममता ढुंगानाको जन्मजात मुखभित्र तालु फाटेको कारणले बोली अस्पष्ट थियो । दुई वर्षको उमेरमा उनको मुखभित्र तालुको शल्यक्रिया विराटनगरस्थित हाम्रो अस्पतालमा भयो ।

त्यसपछि उनले नियमित ६ पटक बोलीको तालिम लिइन् । फेक्ट नेपालको स्पीच थेरापिस्ट तथा विशेषज्ञ टिमबाट नियमित बोलीको तालिम लिएपछि अहिले ममता प्रष्टसँग उच्चारण गरेर बोल्न सक्ने भएकी छिन् ।

छोरी प्रष्टसँग बोल्न सक्ने भएपछि ममताको परिवारमा पनि खुसी छाएको छ । ‘छोरीको बोली यति चाँडै प्रष्टसँग बोल्न सक्छिन् भनेर कल्पना पनि गरेको थिइन् । नियमित तालिम लिएपछि अहिले छोरी प्रष्टसँग बोल्न सक्ने भएकी छिन्,’ ममताका बुवा सुर्य ढुंगानाले भने ।

स्पीच थेरापिस्टबाट नियमित तालिमपछि प्रष्टसँग बोल्ने ममता मात्र होइन् । पछिल्लो एक वर्षमा फेक्ट नेपालले काठमाडौंबाट स्पीच थेरापिस्ट ल्याएर दिएको नियमित तालिमबाट आर्थिक वर्ष २०७९/०८० मा २ सय ४२ जना तालिम लिएकामध्ये ५८ जनाले प्रष्टसँग उच्चारण गरेर बोल्न सक्ने भएको फेक्ट नेपालको रिसप कार्यक्रमको प्रमुख फिल्ड संयोजक कैलाश खाकी श्रेष्ठले जानकारी दिए ।

फेक्ट नेपालले मुखभित्र तालु चिरिएको कारणले अस्पष्ट बोल्ने बालवालिकाहरुलाई निःशुल्क शल्यक्रिया गरेपछि बोली शुद्ध बनाउन तालिम दिने गरेको छ । उक्त तालिम निःशुल्क विराटनगरमा हुने गरेको छ । चालु आर्थिक वर्षको कार्तिक २० गते समापन भएको एक हप्ताको तालिममा ५४ जना बालबालिकाहरुको सहभागी भएका थिए ।

विराटनगरस्थित हाम्रो अस्पतालमा पनि निःशुल्क यो तालिम हुने गरेको स्पीच थेरापिस्ट शिवकुमारी राईले जानकारी दिइन् । तालिममा बालबालिका तथा उनीहरुका अभिभावकहरुलाई खाने बस्नेको पनि व्यवस्था गर्दछ ।

फेक्ट नेपालकी स्पीच थेरापिष्ट राईका अनुसार अभिभावकलाई समेत तालिम दिएर घरमा समेत बोली सिकाउनका लागि प्रोत्साहित गरिने गरेको छ । शिविरमा आएका बालवालिकाहरुलाई कीर्तिपुर अस्पतालबाट आएका प्रा. डा. शंकरमान राई, शिवकुमारी राई, हिमाल सरी राई, निलम श्रेष्ठ, जानुका तामाङ, लिला राना, रेनुका श्रेष्ठ, नैना महतो, अस्मिता चौधरी, जीवनकुमार यादव, विशाल तामाङ, डा. चाँदनी यादवलगायतको टिमले सेवा दिने गरेका छन् ।

विगत २२ वर्षदेखि ओठ तथा तालु (मुखभित्र जिब्रोभन्दा माथि) चिरिएका मानिसहरुको शल्यक्रिया पश्चात् बोली राम्रो बनाउनका लागि तालिम दिने गरिएको छ । यो तालिम हरेक ३ महिनामा हप्ता दिनसम्म शिविर संचालन हुने गरेको फेक्ट नेपालको रिसप कार्यक्रमकी नर्स हिमाल सरी राईले बताइन् ।


क्याटेगोरी : प्रदेश १, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ