२०८१ वैशाख २२, शनिबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश १बेलवारीबाट रातारात सारेर ‘प्रदेश प्रहरी अस्पताल’ इनरुवामा

बेलवारीबाट रातारात सारेर ‘प्रदेश प्रहरी अस्पताल’ इनरुवामा

निर्णय सच्याएर अस्पताल यथावत राख्न माग


विराटनगर—मोरङको बेलवारी नगरपालिका–३ स्थित १५ शैय्याको कोशी प्रदेश प्रहरी अस्पताल रातारात सारेर सुनसरीको इनरुवामा लगिएको छ । मंगलबार मध्यराति संचालनमा आएको ९ महिनापछि स्थानीय पालिकासँग कुनै समन्वय र सहकार्य नगरी प्रहरीले संचालन गरेको प्रदेशस्तरीय प्रहरी अस्पताल इनरुवास्थित जिल्ला समन्वय समितिको कार्यालयमा सारिएको हो ।

नेपाल प्रहरीको व्यवस्थापनमा बेलवारी सञ्चालित अस्पताल १० फागुन २०७९ मा तत्कालीन आईजिपी धिरजप्रताप सिंहले उद्घाटन गरेपछि संचालनमा आएको थियो । यहाँ दैनिक ३० जनासम्म ओपीडीमा बिरामी आउने गरेको अभिलेखमा देखिन्छ ।

अस्पतालमा ९ औं तहका चिकित्सकसहित ६० जनाको दरबन्दी रहेको थियो । ९ औं तहका एमडिजिपी गरेका डाक्टर डिएसपी, दुई जना मेडिकल अधिकृत र स्वास्थ्यकर्मी अस्पतालबाट सेवा दिदैं आएका थिए । जनप्रतिनधी, राजनैतिक दल र स्थानीयलाई जानकारी नदिइकन प्रहरीले एक्कासी अस्पताल सारेर सुनसरी लगेपछि यहाँका स्थानीय आक्रोशित बनेका छन् ।

बुधबार बेलबारी नगरपालिकाले प्रदेश अस्पताल अगाडि पत्रकार सम्मेलन गरेर प्रदेश प्रहरी अस्पताल साविककै स्थानमा कायम हुनुपर्ने माग राखेको छ । त्यस क्षेत्रका प्रदेशसभा सदस्य ज्ञानेन्द्र सुवेदी, मानबहादुर लिम्बू, गीता तिम्सिना, बेलवारी नगरपालिकाका उपमेयर नितु थापा, उद्योग वाणिज्य संघ र स्थानीय राजनीतिकर्मीको टोलीसहितको उपस्थितीमा अस्पताल सार्ने निर्णाय सच्याएर यथास्थानमा प्रदेश अस्पताल हुनुपर्ने उनीहरुले माग गरेका छन् ।

बेलवारीमै प्रदेश प्रहरी अस्पताल हुनुपर्ने माग राख्दैं आयोजित पत्रकार सम्मेलनमा सहभागीहरु ।

अस्पताल साविककै स्थानमा कायम हुनुपर्ने बेलवारी नगरपालिकाकी उपप्रमुख नितु थापाले बताइन् । ‘प्रदेश प्रहरी अस्पतालको लागि नगरपालिकाले प्रत्येक वर्ष बजेट विनियोजन गर्दै आएको छ । चालु आर्थिक वर्षको लागि पनि १० लाख रुपैयाँ बजेट विनियोजन गरिएको थियो । अस्पतालका लागि नगरपालिकाले पनि सहयोग गर्दै आएको थियो । तर, हामीलाई कुनै जानकारी नदिई यसरी मध्यरातमा हस्पिटल सारिएको छ । यो मान्य हुने छैन,’ उनले भनिन्, ‘हामीले १० करोड रुपैयाँ बढी लगानी गरेर बेलवारी ४ बुधबारेमा प्रदेश अस्पतालका लागि सुविधासम्पन्न भौतिक संरचना निर्माणको काम अन्तिम चरणमा पुगेको छ । भौतिक सरंचाना सुविधासम्पन्न ठाउँमा लैजाने तयारी गरिएको थियो । यसरी रातारात बन्दै प्रदेश प्रहरी अस्पताल सारिनु लगत छ । यो तत्काल साविकको स्थानमा हुनुपर्दछ ।’

नगरपालिकाले प्रदेश प्रहरी अस्पतालको लागि चिकित्सकको आवासको व्यवस्थापन, अस्पतालको रंगरोगन, अस्पतालमा एयर कण्डिसनसमेत जडान गरिसकेको उनले बताइन् ।

पत्रकार सम्मेलनमा प्रदेश सांसद ज्ञानेन्द्र सुवेदीले बेलवारीमै प्रदेश प्रहरी अस्पताल ल्याउनुपर्ने बताए । ‘त्यसको लागि पहल र मुख्यमन्त्रीको ध्यानाकर्षण गराउने काम पनि भइसकेको छ,’ उनले भने ।

प्रदेश अस्पतालको लागि बेलवारी ४ मा बनाएको निमार्णको अन्तिम चरणमा रहेको संरचना ।

अस्पतालले जग्गा उपलब्ध गराउन स्थानीय सरकारसमक्ष प्रस्ताव गरेको थियो । त्यसबारे छलफल गरी पूर्वनगर प्रमुख तथा वर्तमान कोशी प्रदेशसभा सदस्य ज्ञानेन्द्र सुवेदीले आफ्नै दुई विगाहा जग्गा दिने सहमति जनाएका थिए । ‘मैले आफ्नै जग्गा दिने भनेको हुँ । त्यो नभए अहिले नगरपालिकाले निर्माण गरिरहेको नगर अस्पतालमै प्रहरी अस्तपाल संचालन गर्न प्रस्ताव समेत गरिएको थियो । तर, उहाँहरूले सल्लाह नै नगरी रातारात भाग्नुभएछ,’ उनले भने ।

कोशी प्रदेश प्रहरी कार्यालय प्रमुख डीआईजी राजेशनाथ बास्तोलासँग बुझ्दा केन्द्रीय कार्यालयबाट निर्देशन भएबमोजिम नै अस्पताल सारिएको जवाफ पाएको सांसद सुवेदीले सुनाए । यता डिआईजी बाँस्तोलाले प्रदेशभित्रै अस्पताल सारिएको बताए । ‘अन्तर प्रदेशमा सारिएको होइन् । यही प्रदेशको अर्को जिल्लामा सारिएको हो,’ उनले भने, ‘साँघुरो संरचना र पूरानो भवनबाट सेवा प्रवाहमा समस्या भएपछि प्रहरी प्रधान कार्यालयबाट निर्देशन बमोजिम अस्पताल सारिएको हो ।’


क्याटेगोरी : प्रदेश १, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ