२०८१ वैशाख १७, सोमबार
Health Aawaj logo
गृहपृष्ठसमाचारकेयुका एमबीबीएस टपर डा. सनम, भन्छन्, ‘इन्टरनल मेडिसिनमा एमडी गरेर कार्डियोलोजी पढ्छु’

केयुका एमबीबीएस टपर डा. सनम, भन्छन्, ‘इन्टरनल मेडिसिनमा एमडी गरेर कार्डियोलोजी पढ्छु’


बाग्लुङका डा. सनम ढकालले काठमाडौं विश्वविद्यालय (केयु)को वि.संं. २०८० को एमबीबीएस टप गरे । मोरङको बुढीगंगा गाउँपालिका–२ टिंकीसिनवारीस्थित विराट मेडिकल कलेज अध्ययन गरेका उनले ८४ दशमलव २६ प्रतिशत ल्याएर केयुको एमबीबीएस टप गरेका हुन् ।

एक हजार बढी विद्यार्थीले रहेको एमबीबीएसको उनको ब्याचमा डा. ढकालले ४२०० पूर्णांकमा ३५३९ अंकसहित टप गरेका हुन् । बुधबार केयुका २६ वर्षीय एमबीबीएस टपर डा. ढकाललाई प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति पुष्पकमल दाहालले ‘भ्वाइस चान्सलर स्वर्णपदक’बाट विभूषित गरे ।

डा. सनम विराट मेडिकल कलेजको एमबीबीएसको सन् २०१६ ब्याचका विद्यार्थी हुन् । यो कलेजको एमबीबीएसको तेस्रो ब्याच हो, त्यही ब्याचमा सर्वोत्कृष्ट नम्बर ल्याएर डा. सनमले गोल्डमेडल मात्रै ल्याएनन् विराट मेडिकल कलेजको शैक्षिक उन्नयलाई प्रमाणित समेत गरिदिए ।

‘पढ्दा टप गर्नेभन्दा पनि केही सिक्ने उद्देश्यका साथ पढिरहेको हुन्थे,’ हेल्थआवाजसँग उनले भने । सफलताको सेक्रेट कसैसँग नहुने बताउने डा. ढकालका लागि एमबीबीएस टप गर्न कसरी सम्भव भयो ? ‘पढेका कुरा पछि बिरामीमा अप्लाई गर्नु सकू भन्ने दिमागमा राखेर नै पढेको हुँ । परीक्षाको एकदिन अगाडि पढेर गोल्डमेडल आउँदैन्,’ उनी थप्छन्, ‘दिनदिनैको मेहनत आवश्यक पर्छ । एकदिन १० घण्टा पढ्नुभन्दा दिनदिनैको नियमित पढाइले नै मैले टप गर्न सकेको हुँ जस्तो लाग्छ ।’

हरेक विषयलाई सुक्ष्म तरिकाले भित्रैबाट अध्ययन गर्दा सफलता मिल्ने डा. ढकाल बताउँछन् । ‘दिनदिनै मेहनत गर्दै जानुपर्छ,’ उनी सुनाउँछन्, ‘म दिनको ३–४ घण्टा पढ्थे । सधैं अलिअलि गर्दै पढेर आफ्नो कन्सेप्ट डेभलप गर्न सकियो भने टप गर्न सकिन्छजस्तो लाग्छ ।’

कक्षा चारदेखि एमबीबीएससम्म सधैं फष्ट भएका डा. ढकालको जन्म २२ बैशाख २०५५ मा बागलुङको बागलुङ नगरपालिकामा भएको हो । बुवा नारायणप्रसाद ढकाल र आमा सावित्रादेवी ढकालका जेठा छोरा हुन्, उनी । उनका बावुआमा कृषि पेशामा आवद्ध छन् ।

वि.सं. २०६९ सालमा उनले पोखराको स्पाइरल ग्यालेक्सी एकेडेमी स्कुलबाट एलएलसी उत्तीर्ण गरेका हुन् । त्यसपछि उनले कक्षा ११ र १२ को पढाइ काठमाडौंको सिसिआरसी कलेजमा अगाडि बढाए । वि.सं. २०७२ सालमा उनले विज्ञान संकायमा प्लस टु सके । त्यसपछि एमबीबीएसको इन्ट्रासमा छात्रवृत्तिमा नाम निकालेपछि उनी विराट मेडिकल कलेजमा एमबीबीएस अध्ययनका लागि पुगे ।

सानैदेखि पढाइमा अब्बल रहेका डा. सनम भविष्यमा कार्डियोलोजी पढने योजना बनाएका छन् । इन्टरनल मेडिसिनमा एमडी गरेपछि कार्डियोलोजी पढने योजना रहेको उनले सुनाए । ‘अहिले हाम्रो जीवनशैलीको कारणले मुटुका बिरामीहरु पनि बढेका छन् । मुटुका चिकित्सकहरु एकदमै कम छन्,’ उनले भने, ‘त्यसैले पनि भविष्यमा कार्डियोलोजी पढ्ने योजना बनाएको छु ।’

छात्रवृत्ति करारअन्तर्गत अहिले उनी नेपाल सरकारको आठौं तहको मेडिकल अधिकृतका रुपमा पर्वत जिल्ला अस्पताल कुस्मामा कार्यरत छन् । सरकारसँगको छात्रवृत्ति करारमा उनी पर्वत जिल्ला अस्पतालमा दुई वर्ष रहनेछन् ।

एमबीबीएस इन्ट्रान्सको तयारी गर्नेलाई सुझाव

डा. ढकालले पढाइप्रतिको लगनशीलता, कलेजको शान्त वातावरण, गुरुहरुको अध्यापन गराउने उत्कृष्ट शैली, साथीहरुको साथ सहयोगका कारण सानैदेखिको चिकित्सक बन्ने सपना पूरा भएको बताए । नाम निकाल्नका लागि पहिलो प्राथमिकता बुझाइ हो भनेर आफूले पढेको उनले सुनाए ।

‘नबुझेको कुरा पटक–पटक दोहो¥याएर बुझ्ने प्रयास गर्थे,’ उनी एमबीबीएस इन्ट्रान्सको तयारीबारे भन्छन्, ‘आफूले नजानेका कुराहरु वेबसाइट, युट्युबमा पनि हेर्थे । पढेको कुरा बुझियो भने मेडिकल इन्ट्रान्स केही पनि होइन ।’ एमबीबीएस पढ्ने सपना बुनेर तयारी गरिरहेका सयौं विद्यार्थीहरुलाई उनी मेहनत गर्न सुझाव दिन्छन् ।

सफलता र असफलता एकै सिक्का दुई पाटा भएकाले नाम ननिस्कनेलाई हतास र निराश नहुन उनको सुझाव छ । ‘एमबीबीएस मात्रै करिअर अपरचुनिटी होइन्, अरु थुप्रै करिअर अपरचुनिटीजहरु छन्,’ उनले भने, ‘एमबीबीएस नै गर्नुछ भने पनि एक वर्षमा पुनः परीक्षा हुन्छ, राम्रो गर्नुहोस् । धेरै आत्तिनुपर्ने केही छैन् अझै मेहनत गर्नुहोस् ।’


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ