२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारप्रधामन्त्रीको १ वर्षे प्रगतिमा स्वास्थ्यका १३ काम : डा. रुइतलाई कर छुटदेखि निःशुल्क बेडसम्म

प्रधामन्त्रीको १ वर्षे प्रगतिमा स्वास्थ्यका १३ काम : डा. रुइतलाई कर छुटदेखि निःशुल्क बेडसम्म


काठमाडौं—प्रधानमन्त्री पुष्पकमल दाहालले प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेको एक वर्षको प्रगति रिपोर्ट सार्वजनिक गर्दैछन् । मंगलबार सार्वजनिक गर्न लागेको प्रधानमन्त्रीको प्रगति रिपोर्टमा प्रगतिलाई मन्त्रालयगत रुपमा समेटिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गत प्रधानमन्त्री दाहालले १३ बुँदामा आफ्नो प्रगति प्रतिवेदन उल्लेख गर्ने तयारी गरेका छन् । हेल्थआवाजलाई प्रधानमन्त्री कार्यलयबाट प्राप्त सम्बोधनको मस्यौदामा वरिष्ठ नेत्र रोग विशेषज्ञ डा. सन्दुक रुइतलाई पुरस्कार रकममा कर छुट दिएकोदेखि सरकारी अस्पतालका शैय्याहरु निःशुल्क गरिएको सम्मका विषय समेटिएका छन् ।

दाहालले स्वास्थ्य मन्त्रालयअन्तर्गतको प्रगति प्रतिवेदनमा तिलगंगालाई विश्वविद्यालयका रुपमा स्थापना गर्ने सम्बन्धि विधेयकलाई सैद्धान्तिक स्वीकृती प्रदान गरिएको, ५ सय शैय्याको अस्पतालको ओएनएम तयार गरेर छलफलमा रहेको, बालबालिकामा हुने क्यान्सर विरुद्ध ३५ प्रकारका औषधी निःशुल्क उपलब्ध गराउने कुरा सम्झौता प्रक्रियामा रहेको उल्लेख गरेका छन् ।

यसैगरी, भरतपुर र भेरी अस्पताललाई चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)को आंगिक क्याम्पसमा रुपमा विस्तार गर्ने निर्णय गरेको, पाठेघरको मुखको क्यान्सर विरुद्ध २० हजार एचपीभी खोप प्रदान गरिएको र वि.सं. २०८० जेठसम्ममा १ लाख २९ हजारको पाठेघरको मुखको क्यान्सरको निःशुल्क स्क्रीनिङ गरिएको, नेपाल औषधी लिमिटेडमार्फत १८ प्रकार अत्यावश्यक औषधी उत्पादन गरी नेपाल सरकारलाई प्रदान गर्ने आवश्यक पूर्व तयारी गरिएको उल्लेख छ ।

यस्तै, प्रधानमन्त्री दाहालले विमामा आवद्ध बिमितहरुको ओपीडी रजिष्ट्रेशनका लागि एप तयार पारिएको, ७ वटा संघीय अस्पतालबाट सेटेलाइट क्लिनिक संचालन गरिएको, ३ सय वटा स्थानीय तहमा नागरिक आरोग्य अभियान संचालन गरेको र निजी अस्पतालहरुमा गरिब तथा विपन्न नागरिकका लागि १० प्रतिशत शैय्या निःशुल्क गर्ने व्यवस्था गरिएको प्रगति प्रतिवेदनमा उल्लेख गरेका छन् ।

प्रधानमन्त्रीले आज साँझ ५ बजे देशवासीका नाममा सम्बोधन गर्दैछन् । उनले उक्त सम्बोधनका क्रममा स्वास्थ्यको यो रिपोर्ट पनि सार्वजनिक गर्नेछन् ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ