२०८१ वैशाख १६, आईतबार
Health Aawaj logo
गृहपृष्ठबाग्मती प्रदेशआयुर्वेद उपचारप्रति बिरामीको आकर्षण बढ्दैं

आयुर्वेद उपचारप्रति बिरामीको आकर्षण बढ्दैं


चरिकोट—जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र चरिकोमा बिरामीको संख्या बढ्न थालेको छ । हिजोको दिनमा आयुर्वेद औषधी र उपचार पद्धतिप्रति विश्वास कम भएका कारण बिरामीको संख्या न्यून थियो ।

तर, पछिल्ला दिनहरुमा आयुर्वेद स्वास्थ्य उपचारप्रति बिरामीहरु आकर्षित हुन थालेका छन् । अहिले दैनिक ३० जनाभन्दा बढी बिरामीहरु उपचारको लागि आउने गरेको जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रका आयुर्वेद फिजिसियन डा. मनोजकुमार चौधरीले बताए ।

बिरामीहरु पहिला—पहिला अन्य अस्पतालमा उपचार गरेर निको नभएपछि मात्र जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रमा आउने गरेका थिए । तर, अहिले युवादेखि जेष्ठ नागरिकहरु आयुर्वेद उपचारका लागि दैनिकजसो आउने गरेको डा. चौधरीले बताए ।

आर्थिक वर्ष ०८०/०८१ को साउनदेखि मंसिरसम्म ३ हजार १ सय २५ जनाभन्दा बढीले जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रबाट स्वास्थ्य सेवा लिएका छन् । गत आर्थिक वर्ष ०७९/८० मा १३ हजार ४९ जनाले स्वास्थ्य सेवा लिएका थिए । गत वर्षभन्दा यस वर्ष बिरामीको संख्यामा वृद्धि आउन सक्ने डा. चौधरीले बताए ।

सस्तो टिकट दर र नेपाल सरकारले तोकिएको ३० थरिका औषधी निःशुल्क पाउने भएकाले पनि बिरामीको चाप बढेको हुन सक्ने डा. चौधरी बताउँछन् । जेष्ठ नागरिक र ६ महिनामुनिका बच्चाका आमालाई पौष्टिक तत्व पाइने औषधी पनि जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रले निःशुल्क वितरण गर्दै आएको छ ।

६ महिनाको अवधिमा यस स्वास्थ्य केन्द्रमा ग्यास्ट्राइटिस (अम्लपित्त), हाडजोर्नी, दम, पायल्स (हर्स), खोकी, उच्च रक्तचाप र मधुमेहको बिरामी बढी आएका थिए । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रमा पञ्चकर्म सेवा, अकुपंञ्चर स्वास्थ्य सेवा, ज्येष्ठ नागरिक स्वास्थ्य प्रवद्र्धन सेवा, मातृशिशु स्वास्थ्य सेवा, योग सेवा, प्रयोगशाला सेवा र नसर्ने रोगको स्क्रीनिङ सेवा प्रदान गर्दै आएका छन् ।


क्याटेगोरी : बाग्मती प्रदेश, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ