२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारकान्तिमा एक वर्षमा १ लाख ९९ हजारले लिए सेवा, ४ करोड रुपैयाँ बराबरको सेवा निःशुल्क

कान्तिमा एक वर्षमा १ लाख ९९ हजारले लिए सेवा, ४ करोड रुपैयाँ बराबरको सेवा निःशुल्क

तीन लाख तलब दिदा पनि दुर्गममा जाने डाक्टर भेटिदैंन : स्वास्थ्यमन्त्री


काठमाडौं–देशको एकमात्र सरकारी बाल अस्पतालमा एक वर्षमा १ लाख ९९ हजार २ सय ५६ जनाले सेवा लिएका छन् । आइतबार कान्ति अस्पताल स्थापना भएको ६२ वर्षको अवसरमा आयोजित समारोहमा अस्पतालका निर्देशक डा. पंकज रायले सो जानकारी दिएका हुन् ।

डा. रायले दिएको जानकारी अनुसार १ लाख ४६ हजार २ सय ४९ जनाले बहिरंग सेवा र ५३ हजार ७ जनाले आकस्मिक सेवा लिएका थिए । त्यसैगरी, एक वर्षमा ९ हजजार ५ सय ३३ जना भर्ना भएर उपचार सेवा लिएका हुन् ।

उनीहरुले जम्मा ७१ हजार २ सय ७ दिन अस्पताल बसाइँ रहेको अस्पतालले उपलब्ध गराएको तथ्यांकमा उल्लेख छ । उपचारमा आएकामध्ये १ सय ८५ जना बालबालिकाको उपचारको क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ ।

आर्थिक वर्ष ७९/८० मा २ हजार ८ सय ४२ जनाको शल्यक्रिया भएको छ । जसमा ७ सय २४ जनाको गम्भीर किसिमको शल्यक्रिया भएको ८ सय १९ जनाको मध्यम खालको र ९ सय ३९ जनाको सामान्य शल्यक्रिया भएको उल्लेख छ ।

३ सय ५२ शैय्या संचालनमा रहेकोमा एक वर्षमा ७२ प्रतिशत शैय्या बिरामीले प्रयोग गरेका छन् । ५ लाख २४ हजार वटा ल्याब सेवा, ५० हजार एक्स—रे सेवा, २४ हजार युएसजी सेवा, १ हजार ९ सय ५७ सिटी स्क्यान सेवा प्रदान गरिएको डा. रायले जानकारी दिए ।

कान्ति अस्पतालले गत आर्थिक वर्षमा विभिन्न शीर्षकमा ४ करोड ३१ लाख ३३ हजार ७ सय ४९ रुपैयाँ बरावरको सेवा निःशुल्क गरेको समेत जानकारी दिइएको थियो ।

तीन लाख तलब दिदा पनि दुर्गममा जाने डाक्टर भेटिदैन : स्वास्थ्यमन्त्री

वार्षिकोत्सव कार्यक्रमको उद्घाटन गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले महिनाको तीन लाख रुपैयाँ तलब दिंदा पनि दुर्गममा सेवा दिन जान इच्छा भएको डाक्टर नभेटिएको बताए ।

‘महिनाको ३ लाख रुपैयाँसम्म तलब दिंदा पनि दुर्गमा सेवा दिन जान इच्छा भएको चिकित्सक तथा स्वास्थ्यकर्मी भेटिदैन्,’ उनले भने, ‘सब जना सुगम मात्रै ताक्नु हुन्छ । म आएपछि मात्रै ८ सय जनाको काज फिर्ता गरेको छु ।’

यस्तै, मन्त्री बस्नेतले चिकित्सा शिक्षा ऐनको केही साँघुरो व्यवस्थाले गर्दा अबको ५ वर्षमा नेपालमा डाक्टर, नर्सलगायतका स्वास्थ्यकर्मी नपाइने अवस्था आउने बताएका छन् । ‘चिकित्सा शिक्षा ऐनको केही साँघुरो व्यवस्थाले गर्दा अबको ५ बर्षमा नेपालमा डाक्टर, नर्स नै नपाउने जोखिम बढेको छ । त्यसैले अब जसरी पनि चिकित्सा शिक्षा ऐनको केही व्यवस्था संशोधन गर्नुपर्ने अवस्था आएको छ’ मन्त्री बस्नेतले भने ।

यस्तै, अहिलेको अवस्थामा स्वास्थ्य सेवातर्फ ९२ हजार स्वास्थ्यकर्मी आवश्यक रहेपनि हाल जम्मा २८ हजार जति मात्रै स्वास्थ्यकर्मी रहेको हुँदा गुणस्तरीय स्वास्थ्य सेवा जनताले पाउने आवस्था नरहेको हुँदा तत्काल स्वास्थ्य सेवातर्फको दरबन्दी खुलाउनुपर्ने अवस्था आएको उनको भनाइ थियो । त्यसका लागि आफूले पहल गरी रहेको समेत मन्त्री बस्नेतले बताए ।

‘अहिले बिरामीले गुणस्तरीय स्वास्थ्य सेवा नपाउने मुख्य कारण स्वास्थ्यकर्मी नै कम हुनु हो । स्वास्थ्य सेवातर्फ २०५४ सालदेखि दरबन्दी नै खुलाइएको छैन्,’ उनले थपे, ‘बिरामीको चापअनुसार स्वास्थ्यकर्मी नै कम छन्, त्यसैले अब तत्काल स्वास्थ्यको दरबन्दी खुलाउनैपर्ने अवस्था छ । म पहल गर्दैछु ।’


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ