२०८१ वैशाख १७, सोमबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश १कोशी प्रदेशको भवानीपुरमा ४० करोडमा १०० शैय्याको जलन अस्पताल बन्ने

कोशी प्रदेशको भवानीपुरमा ४० करोडमा १०० शैय्याको जलन अस्पताल बन्ने

२ विगाहा १० कठ्ठामा निर्माण हुने अस्पतालका लागि सम्झौता


विराटनगर– सुनसरीको इटहरीमा निर्माण हुने १ सय शैय्याप्रदेशमा जलन अस्पतालको लागि कोशी प्रदेश सरकार र जनस्वास्थ्य सरोकार ट्रष्टबीच सम्झौता भएको छ । बुधबार विराटनगरमा एक कार्यक्रममाझ प्रदेश सरकार र ट्रष्टबीच जलन अस्पताल निर्माणको लागि सम्झौता भएको हो ।

सम्झौता पत्रमा स्वास्थ्य मन्त्रालयका सचिव डा. सुधा देवकोटा र ट्रष्टका कार्यकारी निर्देशक डा. गौरी प्रधानले हस्ताक्षर गरेका छन् । ट्रष्टले इटहरी उपमहानगर—११ पकलीस्थित भवानीपुरमा ७ वर्ष अगाडि खरिद गरेको २ विगाहा १० कठ्ठा जग्गामा ५० शैय्या जलन र ५० शैय्या सामान्य गरी १ सय शैय्याको जलन अस्पताल निर्माण गर्न लागेको छ ।

प्रदेश सरकारले ट्रष्टसँग सम्झौता गरेर तीन महिनाभित्र उक्त अस्पताल निर्माण सुरू गर्न १ करोड ५० लाख रुपैयाँ बजेट दिन सम्झौता गरेको कोशी प्रदेशको स्वास्थ्य मन्त्रालयकी सचिव डा. सुधा देवकोटाले बताइन् । ४० करोड लागतमा निर्माण हुने उक्त अस्पतालका लागि आवश्यक थप बजेट दिने मुख्यमन्त्री केदार कार्कीले प्रतिबद्धता जनाएका छन् ।

अस्पताल सञ्चालनका लागि आवश्यक उपकरण र जनशक्ति व्यवस्थापन ट्रष्टले गर्ने कार्यकारी निर्देशक डा. गौरी प्रधानले बताए । उनले प्रदेश सरकारले अस्पताल निर्माणका अनुदान सहयोग गरे बापत कोशी प्रदेशका बिरामीलाई सहज र सुलभ रूपमा उपचार सेवा प्रदान गर्ने सम्झौतामा उल्लेख छ ।

उक्त अस्पतालले जलनसम्बन्धी विशेषज्ञ र विशिष्टीकृत सेवा प्रदान गरिने समेत सम्झौता पत्रमा भनिएको छ ।

ट्रष्टले कीर्तिपुर नगरपालिकासँगको सहकार्यमा कीर्तिपुर अस्पताल, काठमाडौं मोडेल अस्पताल सञ्चालन गरेको र काठमाडौं बाहिर सात वटै प्रदेशमा जलेको, पोलेको, ओठ तथा तालु फाटेको, बोलीको तालिमलगायतको सेवा प्रवाह गर्दै आएको छ ।

मुख्यमन्त्री कार्कीले कोशी र मधेस प्रदेशका आगलागीमा घाइते भएका बिरामीलाई लक्षित गरी इटहरीमा उक्त अस्पताल निर्माण प्रक्रिया अगाडि बढने बताए । ‘उर्लावारीमा दिपावली मनाउने क्रममा भएको आगलागीका २५ जना घाइते र विराटनगरमा भएको आगलागीका ५ जना घाइतेको समयमा उपचार गर्न सकेको भए मानवीय क्षति कम हुन् थियो,’ उनले भने, ‘समयमा आगलागीमा घाइते भएकाको उपचार नहुँदा उर्लावारी ८ र विराटनगरका ३ जना ज्यान गुमाउन बाध्य भएकोले कोशी प्रदेशमा नै जलन अस्पताल निर्माण प्रक्रिया सुरू गरेका हौं ।’

मुख्यमन्त्री कार्कीले एकातिर समाजसेवीले बिरामीलाई उपचार सेवा दिइरहेको र अर्काेतिर व्यापारीहरूले उपचारको व्यापार गरिरहेको बताएका छन् । मुख्यमन्त्री कार्कीले जलन अस्पताल कुनै कारणले नरोकिने र बजेट अपुग भएको अवस्थामा प्रदेश सरकारले थप बजेट प्रदान गर्ने प्रतिबद्धता जनाए । उनले नाफारहित जनस्वास्थ्य ट्रष्टले नै नेपालमा जलन उपचार सेवा प्रदान गरिरहेकाले कोशीमा अस्पताल निर्माणका लागि अनुदान सहयोग गरेको बताए ।


क्याटेगोरी : प्रदेश १, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ