२०८१ वैशाख ७, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसमाचार१३९० नयाँ आधारभूत स्वास्थ्य संस्था थपिदैं

१३९० नयाँ आधारभूत स्वास्थ्य संस्था थपिदैं


काठमाडौं—सरकारले स्वास्थ्य संस्था नभएका १ हजार ३ सय ९० वडाहरुमा यसै वर्षभित्र स्वास्थ्य संस्था स्थापना गर्ने भएको छ । देशभर स्वास्थ्य संस्था नभएका वडा यसै वर्षबाट स्वास्थ्य संस्था संरचना तयार गर्न बजेटसमेत निकासा गरिसकेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सातवटै प्रदेशका स्वास्थ्य संस्था नभएका वडामा उक्त स्वास्थ्य संस्था स्थापनाका लागि बजेट समेत निकासा गरेको हो । यस वर्ष प्रदेश १ का २ सय ४४ वडाहरुमा नयाँ स्वास्थ्य संस्था बन्ने प्रक्रिया अगाडि बढेको छ । यस्तै, प्रदेश नंं. २ मा २ सय ४५ वडा, प्रदेश नं. ३ मा १ सय ८८ वडा, गण्डकी प्रदेशका १ सय ४३ वडा र प्रदेश नं. ५ मा २ सय वडामा नयाँ स्वास्थ्य संस्था बन्नेछन् । त्यसैगरी, कर्णाली प्रदेश १ सय ९७ वडा र सुदूरपश्चिम प्रदेश १ सय ७३ वडामा नयाँ स्वास्थ्य संस्था स्थापना हुनेछन् ।

सरकारको प्रत्येक वडामा एउटा स्वास्थ्य संस्था अनिवार्य स्थापना गर्ने नीतिअनुसार अघिल्लो आर्थिक वर्षबाट नयाँ संरचना बनाउनका लागि ५ अर्ब बजेट बिनियोजन गरिएको थियो । त्यतिबेलासम्म देशभर २५९० वडा स्वास्थ्य संस्थाबिहीन थिए ।

जसमध्ये अघिल्लो वर्ष १ हजार २ सय वडामा स्वास्थ्य संस्था बनाउने प्रक्रिया सुरु भैसकेको छ । बाँकी रहेका १ हजार ३ सय ९० वडामा यस वर्षबाट स्वास्थ्य संस्था स्थापना गर्न सुरु गर्ने प्रक्रिया अगाडि बढाइएको हो । टाइप १ र टाइप २ दुई प्रकारका स्वास्थ्य संस्थाको संरचनाका तयार गरी सोहीअनुसार बजेट विनियोजन गरिएको स्वास्थ्य मन्त्रालय तथ्यांक अधिकृत सुर्यबहादुर खड्काले बताए ।

उनकाअनुसार टाइप—१ संरचना निर्माणका लागि ६३ लाख बढी र टाइप—२ को संरचनाको लागि ३८ लाख ८६ हजार रुपैयाँ विनियोजन गरिएको छ । संरचना निर्माणसँगै संस्था सञ्चालनका लागि बीउ पुँजीका रुपमा प्रत्येक स्वास्थ्य संस्थालाई ५ लाख रुपैयाँ पनि विनियोजन गरिएको छ ।

संविधानमा उल्लेख भएको आधारभूत स्वास्थ्य सेवा निःशुल्क र अनिवार्य हुने मौलिक अधिकारलाई सुनिश्चित गर्नका लागि सबै वडामा आधारभूत स्वास्थ्य संस्थाहरु निर्माणको काम अगाडि बढेको मन्त्रालयका योजना तथा अनुगमन महाशाखाका उपसचिव लीला पौडेलले बताए ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ