२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारस्वास्थ्यमन्त्री भन्छन्, ‘आगामी शैक्षिक सत्रदेखि १०० शैय्याका अस्पतालमा नर्सिङको पढाइ हुन्छ’

स्वास्थ्यमन्त्री भन्छन्, ‘आगामी शैक्षिक सत्रदेखि १०० शैय्याका अस्पतालमा नर्सिङको पढाइ हुन्छ’

चिकित्सा शिक्षामा सिट नबढाए पाँच वर्षमा चिकित्सक र नर्सको अभाव हुने भनाइ


काठमाडौं—स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले अगामी शैक्षिक सत्रदेखि १ सय शैय्यादेखि ३०० शैय्याका अस्पतालहरुमा नर्सिङ र प्यारामेडिक्सको पढाइ सुरु हुने बताएका छन् । बुधबार शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुको ९० औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उनले चिकित्सा शिक्षाको विकासले देशमा रोजगारीको ढोका खुल्ने बताए ।

‘आउँदो शैक्षिक सत्रदेखि देशका सबै ठूला अस्पतालमा नर्सिङ र प्यारामेडिक्सको पढाइ सुरु हुन्छ,’ मन्त्री बस्नेतले भने, ‘यो काम गर्न सरकार तर्किने र पर्खेनेवाला छैन ।’ स्वास्थ्य मन्त्रालयले १ सयदेखि ३ सय शैयासम्मका अस्पतालहरुमा नर्सिङ र प्यारामेडिक्सको पढाइ सुरु गर्ने र ३ सय शैय्याभन्दा माथिका अस्पतालहरुमा एमबीबीएसको पढाइ गर्ने निर्णय गरेर मन्त्रिपरिषद्मा पठाइसकेको जानकारी दिदे उनले यस विषयमा प्रधानमन्त्रीसहित सिंगो मन्त्रिपरिषद् सकारात्मक रहेको बताए । उनले यो विषयमा चाडै टुंगोमा पुग्न लागेको दावी गरे ।

‘चिकित्सा शिक्षा आयोगसँग पनि यस विषयमा छलफल भइरहेको छ । सबै पक्ष सकारात्मक छ । चिकित्सा शिक्षा ऐन संसोधनको प्रक्रिया अगाडि बढेको छ,’ मन्त्री बस्नेतले भने, ‘अब अस्पतालहरुले बिरामीको उपचार मात्र गर्ने होइन्, चिकित्सा क्षेत्रको जनशक्ति पनि उत्पादन गर्नुपर्छ ।’ चिकित्सा शिक्षा ऐनका कारण ठूलो संख्यामा चिकित्सा शिक्षा पढ्न चाहने नेपालीले स्वदेशमा पढ्न नपाएको बताउँदैं उनले नेपालमै चिकित्सा शिक्षा अध्ययन गर्ने प्रशस्त अवसरहरु प्रदान गर्न सरकारले पहल गरिरहेको दाबी गरे ।

चिकित्सा शिक्षा ऐन परिमार्जन गरेर चिकित्सा शिक्षाको सिट नबढाउने हो भने अबको पाँच वर्षमा देशमा चिकित्सक र नर्सहरुको अभाव हुने मन्त्री बस्नेतको भनाइ छ ।

कार्यक्रममा शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका निर्देशक डा. युवानिधि बसौलाले वार्षिक विवरण प्रस्तुत गर्दै ३ सय शैय्याको अस्पताल बनाउने घोषणा सरकारले गरेको भएपनि अहिलेसम्म १ सय शैय्यामै सञ्चालनमा रहेको बताए । उनले पछिल्ला दिनमा अस्पतालले आफ्नो सेवा सुधारमा विशेष ध्यान दिएको जानकारी दिए । २४ घण्टा एम्बुलेन्स सेवा, अस्पतालको आफ्नै २४ घण्टा फार्मेसी सेवा सञ्चालनदेखि ऐलो फिबरको सेवासम्म विस्तार गरिएको उनको भना थियो ।

नर्सिङ प्रशासक रोशनीलक्ष्मी तुईतुईले अस्पतालले आउँदो शैक्षिक सत्रदेखि नर्सिङको पढाइ गर्ने गरी तयारी गरिएको जानकारी दिदैं सरकारले अनुमति दिए पढाइ गर्न सकिने दावी गरिन ।

कार्यक्रममा मन्त्री बस्नेतले अस्पतालका प्रमुख कन्सल्टेन्ट फिजिसियन डा. विमल शर्मा चालिसेलाई सम्मान गरेका थिए । कार्यक्रममा योजना आयोगका सदस्य डा. आरपी बिच्छा, स्वास्थ्य मन्त्रालयका अतिरिक्त सचिव डा. विकास देवकोटा, न्याम्सका उपकुलपति प्रा.डा. भुपेन्द्र बस्नेतसहित स्वास्थ्य मन्त्रालय, स्वास्थ्य सेवा विभाग र अस्पतालका निर्देशकहरु सहभागी थिए ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ