२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारस्वस्थ र निरोगी नागरिकबाट मात्रै आर्थिक रुपान्तरण : प्रधानमन्त्री

स्वस्थ र निरोगी नागरिकबाट मात्रै आर्थिक रुपान्तरण : प्रधानमन्त्री

'स्वास्थ्य बिमालाई थप प्रभावकारी तुल्याउँदै लैजानुपर्छ'


काठमाडौं—प्रधानमन्त्री पुष्पकमल दाहालले आम नागरिक स्वस्थ नभईकन विकास र समृद्धि सम्भव नहुने बताएका छन् । आइतबार पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको १२ औं सभामा प्रतिष्ठानका कुलपतिसमेत रहेका प्रधानमन्त्रीले सबै नेपाली नागरिकमा गुणस्तरीय सर्वसुलभ स्वास्थ्य सेवा आवश्यकता भएको बताए । उ

‘स्वस्थ र निरोगी नागरिकहरूबाट नै मुलुकको आर्थिक र सामाजिक रूपान्तरण सम्भव हुन्छ,’ उनले भने ।

समुदायमा आधारित सेवा प्रवाह गर्नु प्रतिष्ठानको उत्तम पहल भएको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले यस्ता कार्यक्रमलाई अन्य मिल्दोजुल्दो कार्यक्रमहरूलाई समेटेर अझ बढी सशक्त बनाएर अगाडि बढ्न निर्देशन दिए । ‘अन्य प्रतिष्ठान एवं शैक्षिक संस्थाहरूबाट पनि यस प्रकारको कार्यक्रम अगाडि बढाउन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको ध्यानाकर्षण गराउँछु,’ उनले भने ।

स्वास्थ्य क्षेत्रमा दिन प्रतिदिन नयाँ–नयाँ चुनौतीहरू देखा परिरहेको उल्लेख गर्दै दाहालले भविष्यमा देखा पर्ने स्वास्थ्यका चुनौतीहरूको व्यवस्थापनका लागि प्रतिष्ठानले थप पूर्वाधारहरूको विकास गर्न र अस्पतालको सेवालाई अझ गुणस्तरीय र प्रभावकारी बनाउन विशेष जोड दिनुपर्ने बताए ।

नेपाल अधिकांश भू–भाग ग्रामीण क्षेत्रले ओगटेको सन्दर्भ उल्लेख गर्दै प्रधानमन्त्री दाहालले ग्रामीण क्षेत्रमा स्तरीय स्वास्थ्योपचारको व्यवस्था मिलाउन दक्ष तथा सामाजिक उत्तरदायित्वको भावनाबाट अभिप्रेरित डाक्टरलगायतका स्वास्थ्यकर्मीहरू उत्पादन गरी स्वास्थ्य सेवाको पहुँच ग्रामीण स्तरसम्म विस्तार गर्दै जानुपर्ने खाँचो औंल्याए । ‘मानव विकास परिसूचकाङ्कमा पछि परेका तथा गुणस्तरीय स्वास्थ्य सेवामा कम पहुँच भएका नागरिकहरूलाई बढी लाभान्वित तुल्याउने गरी आफ्नो सेवामा सुधार ल्याउन प्रतिष्ठानलाई निर्देशित गर्दछु,’ प्रधानमन्त्रीले भने ।

प्रतिष्ठानले आम जनसमुदायलाई पुर्‍याउँदै आएको स्वास्थ्य सेवालाई आगामी दिनमा थप स्तरीय र चुस्त बनाई अस्पतालको सेवामा बढीभन्दा बढी जनताको पहुँच विस्तार गर्दै लैजाने प्रधानमन्त्री दाहालले विश्वास व्यक्त गरे । अस्पतालले समयानुकूल विभिन्न सेवा र प्रविधिहरू थप गरी आफ्ना सेवालाई नागरिकको आवश्यकताअनुसार विस्तार गर्दै लगेको उल्लेख गर्दै उनले विश्वव्यापी महामारीको रूपमा फैलिएको कोभिड–१९ बाट संक्रमितहरूको परीक्षण र उपचारमा उल्लेख्य योगदान पुर्‍याएको स्मरण गरे ।

प्रधानमन्त्रीले स्वास्थ्य विज्ञानको क्षेत्रमा अन्तर्राष्ट्रियस्तरको अध्ययन, अनुसन्धानलाई प्रवद्र्धन गरी मुलुकको लागि आवश्यक दक्ष र गुणस्तरीय स्वास्थ्य जनशक्ति उत्पादनमा जोड दिन पनि त्यत्तिकै आवश्यक रहेको उल्लेख गर्दै त्यसतर्फ लाग्न प्रतिष्ठानलाई निर्देशन दिए ।

स्वास्थ्य बीमालाई थप प्रभावकारी तुल्याउँदै लैजानुपर्छ

प्रधानमन्त्री दाहालले गुणस्तरीय स्वास्थ्य सेवाको पहुँच र उपयोगमा सुधार ल्याउने उद्देश्यले अगाडि बढाइएको स्वास्थ्य बिमालाई थप प्रभावकारी तुल्याउँदै लैजानुपर्ने बताएका छन् ।

पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको सभामा प्रधानमन्त्रीले सामाजिक स्वास्थ्य बिमाको आधारमा सबैका लागि स्वास्थ्य सेवा सुनिश्चित गर्ने उद्देश्यमा सहयोग पुर्‍याउनुपर्नेमा जोड र्दिए ।

स्वास्थ्य बिमा कार्यक्रमलाई सफल तुल्याउन स्थानीय तहहरूबाट सकारात्मक प्रयास भइरहेको उल्लेख गर्दै उनले भने, ‘राष्ट्रिय स्वास्थ्य बिमा कार्यक्रमलाई सफल बनाउन ललितपुर महानगरपालिकासँग विशेषज्ञसहितको स्वास्थ्य सेवा प्रवाह गर्न भएको सम्झौता देशकै लागि नमुना कार्यक्रम बन्ने मैले विश्वास लिएको छु ।’


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ