२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारएक वर्षमा १६ स्वास्थ्य संस्था र फर्मा कम्पनीले मात्रै बुझाए वातावरणीय स्वः अनुगमन प्रतिवेदन

एक वर्षमा १६ स्वास्थ्य संस्था र फर्मा कम्पनीले मात्रै बुझाए वातावरणीय स्वः अनुगमन प्रतिवेदन

धेरैजसो अस्पताल, मेडिकल कलेज र फर्मा कम्पनीहरु नै वातावरण संरक्षणप्रति उदासीन


काठमाडौं—वातावरण संरक्षण ऐन र नियमावलीअनुसार उद्योग, प्रतिष्ठान र आयोजनाहरुले ६/६ महिनामा वातावरणीय स्वः अनुगमन सम्बन्धि प्रतिवेदन वातावरण विभागमा पेश गर्नुपर्छ । वातावरण संरक्षण नियमावली, २०७७ को नियम ४५ अनुसार प्रस्तावकले निर्माण तथा संचालन गर्ने अवधिबाट वातावरणमा परेको प्रभावका विषयमा प्रत्येक ६ महिनामा स्वः अनुगमन गरी प्रतिवेदन वातावरण विभागमा पेश गर्नुपर्ने व्यवस्था छ ।

तर, पछिल्लो एक वर्षमा स्वास्थ्य सेवा, फर्मास्युटिकल्ससँग सम्बन्धित १६ वटा स्वास्थ्य संस्था र फर्मास्युटिकल्स कम्पनीले मात्रै स्वः अनुगमन प्रतिवेदन विभागका पेश गरेको वातावरण विभागको वेबसाइटमा उल्लेखित तथ्यांकमा देखिन्छ ।

एस.आर. फर्मास्युटिकल्स र टिजिग फर्माले मात्रै एक वर्षमा दुई पटक प्रतिवेदन बुझाएर उक्त नियम पालना गरेका छन् । त्यसबाहेक अन्य १४ वटा स्वास्थ्य संस्था र फर्मा कम्पनीहरुले एक पटक भएपनि स्वः अनुगमन प्रतिवेदन बुझाएका छन् ।

तर, धेरै कहलिएका ठूला अस्पताल, ठूला फर्मास्युटिकल्स कम्पनीहरु र मेडिकल कलेजहरुले वातावरण स्वः अनुगमन प्रतिवेदन विभागमा बुझाएका छैनन् । विभागले यसअघि देशभरका उद्योग, प्रतिष्ठान एवं आयोजनाहरुलाई वातावरण संरक्षण नियमावलीको नियम ४५ अनुसार स्वः अनुगमन गरी विभागमा प्रतिवेदन पेश गर्न पटक—पटक सूचना नै जारी गरेको थियो । विभागको पटक—पटकको सूचना पनि उनीहरुले अटेर गर्दै आएका छन् ।

यसबाट स्वास्थ्य सम्वद्ध उद्योग, मेडिकल कलेज र अस्पतालहरु पनि वातावरण संरक्षणप्रति उदासीनता देखाएको तथ्यांकले देखाउँछ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ