२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारस्वास्थ्यमन्त्री बस्नेतद्वारा किशोर-किशोरी मानसिक स्वास्थ्य इकाई उद्घाटन

स्वास्थ्यमन्त्री बस्नेतद्वारा किशोर-किशोरी मानसिक स्वास्थ्य इकाई उद्घाटन


काठमाडौं—स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले मानसिक अस्पताल लगनखेलमा स्थापना गरिएको किशोर—किशोरी मानसिक स्वास्थ्य इकाईको उद्घाटन गरेका छन् । बिहीबार एक समारोहमाझ सिविन नेपाल र फोरुट नर्वेको सहकार्यमा मानसिक अस्पतालमा किशोर—किशोरीका लागि छुट्टै मानसिक स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले स्थापना गरिएको इकाई १२ शैय्याको छ ।

जसमध्ये ६ शैय्या जनरल र ६ शैय्या सेमी जनरल छन् । इकाईमा मनोचिकित्सक, नर्सिङ, विशेष शिक्षक, सामाजिक कार्यकर्ता गरी ३० जना कर्मचारीले सेवा प्रदान गर्नेछन् ।

कार्यक्रममा बोल्दै स्वास्थ्य मन्त्री बस्नेतले शिक्षा र स्वास्थ्यको उचित सुविधा प्राप्त गर्न नसक्दा नेपालमा मानसिक समस्या बढेको बताए । चिकित्सा शिक्षा ऐनको वर्तमान व्यवस्थाका कारण पनि सयौं विद्यार्थीहरुले चिकित्सा शिक्षा पढ्न नपाएर विदेशिनु परिरहेको दावी गर्दै चिकित्सा शिक्षा ऐन संशोधन गरेर देशमै चिकित्सा शिक्षा अध्ययन गर्न पाउने ढोका खोल्न आफू र वर्तमान सरकार प्रयासरत भएको मन्त्री बस्नेतले बताए ।

‘उच्च अंक ल्याएर पनि देशमा नर्सिङ पढ्न पाइएन । मेडिकल पढ्न पाइएन भन्ने थुप्रै छन । यहाँ नपाएपछि उनीहरुले पढ्नकै लागि विदेशिनु परिरहेको छ,’ मन्त्री बस्नेतले भने, ‘ऐन संशोधन गरेर यो अवस्था अन्त गर्छौ ।’

बस्नेतले नेपालमा मेडिकल शिक्षाका प्रचुर सम्भावना भएपनि केही स्वार्थ समूहका कारण त्यो अवसरलाई सदुपयोग गर्न नसकिएको स्मरण गर्दै सरकारले चाडै १०० देखि ३०० शैयासम्मका अस्पतालहरुमा नर्सिङ तथा प्यारामेडिक्सको पढाइ गर्ने र ३०० शैयाभन्दा माथिका अस्पतालहरुमा एमबीबीएसको पढाइ सुरु गरिने दावी गरे । यसो गर्न सकिएको अवस्थामा नेपालमा चिकित्सा शिक्षाको जनशक्तिको अभाव नहुने मन्त्री बस्नेतको दावी छ ।

राम्रो काम गर्न खोज्दा लखेट्ने प्रवृति नेपालमा कुनै नौलो नभएको बताउँदैं मन्त्री बस्नेतले आफूलाई पनि केही स्वार्थी समूहले बदनाम गराउन थालेको तर राम्रो काम गर्न आफूलाई कसैले पनि रोक्ने नसक्ने बताए । सिविन नेपालसहित दातृ निकायको सहयोगप्रति मन्त्री बस्नेतले धन्यवाद व्यक्त गर्दै सरकार मानसिक अस्पतालको सेवा विस्तारका लागि सधैं तयार रहेको बताए ।

कार्यक्रममा मानसिक अस्पतालका निर्देशक डा. अनन्त अधिकारीले किशोर—किशोरी मानसिक स्वास्थ्य इकाई सञ्चालनमा आएपछि अस्पतालको सेवा विस्तार मात्र नभएर जोखिममा रहेका समूहको समयमा उचित परामर्श र उपचारमा सहजता हुने बताए ।

कार्यक्रममा इकाईका प्रमुख डा. अरुणराज कुँवर, मानसिक अस्पतालकी नर्सिड प्रशासन प्रमुख शुशीला डंगोल, सिविनकी सुम्निमा तुलाधरलगायतले किशोर—किशोरीका लागि सञ्चालनमा आएको इकाईले किशोर—किशोरीको आवश्यकताअनुसार सेवा प्रदान गर्ने विश्वास व्यक्त गरे । देशकै एकमात्र सरकारी स्तरमा सञ्चालित मानसिक अस्पतालले विगत ४० वर्षदेखि सेवा सञ्चालन गर्दै आइरहेको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ