२०८१ साउन ५, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारसूर्ति उद्योगको प्रायोजित कार्यक्रम गण्डकी सरकार र पोखरा महानगरपालिका प्रवर्द्धक

सूर्ति उद्योगको प्रायोजित कार्यक्रम गण्डकी सरकार र पोखरा महानगरपालिका प्रवर्द्धक

मुख्यमन्त्री कार्यलय, पोखरा महानगर र प्रमुख वक्ता भन्छन्, ‘थाहै छैन’


काठमाडौं– कानुनले बर्जित सूर्तिजन्य पदार्थ र मादक पदार्थको प्रायोजनमा हुन लागेको ‘नेपाल लिटरेचर फेस्टिभल’को गण्डकी प्रदेश सरकार र पोखरा महानगरपालिकाको नै संरक्षण र प्रवर्द्धक भएको पाइएको छ ।

अझ नेपालको सूर्तिजन्य पदापर्थको ९० प्रतिशत हिस्सा ओगटेको सुर्य नेपाल कम्पनीको टाइटल स्पोन्सर नै छ । टाइटल स्पोन्सर भएका कारण फेस्टिभलको नाम नै ‘सुर्य नेपाल गाथा नेपाल लिटरेचर फेष्टिभल’ राखिएको छ ।

सूर्तिजन्य पदार्थ (नियन्त्रण तथा नियमन) ऐन, २०६८ को दफा १० ले सूर्तिजन्य पदार्थको प्रचार—प्रसार तथा सूर्तिजन्य पदार्थ बुझाउने चिन्न प्रयोग गर्न बन्देज लगाएको छ भने कुनै पनि सार्वजनिक कार्यक्रममा प्रायोजनसमेत रोक लगाएको छ ।

३ फागुनदेखि ७ फागुनसम्म पोखरा महानगरमा हुने भनिएको सो फेस्टिभलमा मुख्य वक्ताको रुपमा पूर्व प्रधानन्यायाधीस कल्याण श्रेष्ठ छन् भने प्रमुख अतिथी गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रप्रसाद पाण्डे रहेका छन् ।

त्यो भन्दा एक कदम अगाडि बढेर पोखरा महानगरपालिकाले कार्यक्रमको प्रवर्द्धककै रुपमा जिम्मा लिएको छ ।

कार्यक्रममा प्रमुख अतिथीको रुपमा रहेका मुख्यमन्त्री पाण्डेका स्वकीय सचिव अनुप कडरियाले सुर्य नेपालको मुख्य प्रायोजन रहेको कुरा जानकारी नभएको बताए । ‘हामीलाई लिटरेचर फेस्टिभलको बारेमा मात्र कुरा भएको थियो,’ उनले भने, ‘प्रायोजकको बारेमा थाहा छैन, बुझ्छौं ।’

कार्यक्रमका प्रमुख वक्ता पूर्व प्रधानन्यायाधीस श्रेष्ठले पनि प्रायोजकका रुपमा को रहेको भन्ने जानकारी नभएको बताए । उनले आफूलाई देश—विदेशबाट ठूला—ठूला विद्धान आउने भनेर निम्तो गरेको र आफूले प्रायोजकको विषयमा कुनै चासो नदेखाएको प्रतिक्रिया दिए ।

कार्यक्रम हुने गण्डकी प्रदेशका प्रमुख प्रतिपक्षी दलका नेता तथा पूर्व मुख्यमन्त्री खगराज अधिकारीले कानुनले बर्जित गरेको कुरालाई उल्लंघन गर्ने अधिकार कसैसँग पनि नरहेको बताए । ‘हाम्रो ऐनले नै सूर्तिजन्य पदार्थ र मदिराजन्य पदार्थको प्रचार—प्रसारमा रोक लगाएको छ,’ उनले भने, ‘सामान्य नागरिकलाई त कानुन थाहा छैन भन्ने क्षम्य हुँदैन भने सरकारलाई त झनै हुँदैन, आयोजकले पनि तत्काल सच्याउनुपर्छ ।’

सूर्तिजन्य पदार्थ निरिक्षकसमेत रहेको कास्की जिल्ला प्रशासन कार्यलयका सहायक प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षेत्रीले कानुन विपरित कसैले पनि क्रियाकलाप गर्न नपाउने बताए । उनले पनि लिटरेचर फेस्टिबल आयोजना गर्नेबारे आफूले जानकारी पाएको तर प्रमुख प्रायोजक सूर्ति उद्योग र मदिराजन्य उद्योग रहेको कुरा थाहा नभएको बताए । ‘हामीलाई लिटरेचर फेस्टिबल हुँदैछ भन्ने थाहा थियो,’ उनले भने, ‘यदि सूर्ति र रक्सी कम्पनीको प्रायोजन हो भने रोकिनुपर्छ नभए कानुनी दायरामा आउनुपर्छ ।’

फेस्टिवलको प्रवर्द्धक भनिएको पोखरा महानगरपालिकाका सूचना अधिकारी कृष्णप्रसाद अधिकारीले पनि फेष्टिबलको प्रायोजकहरुको विषयमा अनविज्ञता प्रकट गरे । ‘हामीलाई सूर्य नेपाल प्रयोजक हो भन्ने थाहा छैन,’ उनले भने, ‘यदि सूर्ति उद्योग हो भने त्यो गलत हो । त्यस विषयमा हामी पुनः विचार गर्छौ ।’

यसैबीच सूर्तिजन्य पदार्थ नियन्त्रण सम्बन्धी काम गर्दै आएको एक्सन नेपालले सूर्तिजन्य पदार्थको प्रयोजनमा हुन गइरहेको कार्यक्रम र त्यहाँ उपस्थितहरुका विषयमा प्रश्न उठाएको छ । एक्सन नेपालले विज्ञप्ती जारी गर्दै सूर्तिजन्य पदार्थ नियन्त्रण तथा नियमन गर्ने २०६८ को दफा १० मा विज्ञापन तथा प्रायोजन गर्न नपाइने भनेर स्पष्ट उल्लेख गरेको छ ।

‘उत्पादकलगायत कसैले पनि पत्रपत्रिका तथा रेडियो, टेलिभिजन, एफएम, इन्टरनेट, इमेलजस्ता विद्युतीय सञ्चार माध्यम, अन्तरक्रिया कार्यक्रम, होर्डिङ बोर्ड, भित्तेलेखन, लोगो, संकेत, लेख, दृश्य, आवाज, चिन्ह, व्यक्ति वा अन्य कुनै पनि माध्यमबाट सूर्तिजन्य पदार्थको विज्ञापन वा प्रवर्द्धन गर्न वा कुनै कार्यक्रम, समाचार वा सूचना सम्प्रेषण वा प्रायोजन गर्न पाउने छैन,’ विज्ञप्तीमा उल्लेख छ ‘यहाँ अन्तरक्रिया कार्यक्रम भनेर स्पष्ट उल्लेख भएका, लोगो र चिह्न वा संकेतसमेत प्रयोग गर्न रोक लगाइएको स्पष्ट रुपमा उल्लेख छ ।’

कार्यक्रमको आयोजक बुकवर्म फाउन्डेसनको फेसबुक पेजमा उल्लेख भएअनुसार कार्यक्रमा अर्थमन्त्री डा. प्रकाशशरण महत, सांसद एवं अर्थशास्त्री डा. स्वर्णिम वाग्ले, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँती, सांसद सुमना श्रेष्ठ, पूर्व मिस नेपाल श्रृखला खतिवडा, पूर्व अर्थमन्त्रीहरू वर्षमान पुन, सुरेन्द्र पाण्डे, नेता सिके राउत, लेखक खगेन्द्र संग्रौला, प्रा.डा. कुन्दन अर्याल, पत्रकार विजयकुमार, पत्रकार भुषण दाहाल, गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, पूर्व मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ, सांसद एवं उद्योगी विनोद चौधरी, नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, योगी विकासानन्द, पूर्वपरराष्ट्रमन्त्री विमला राई पौड्याल, रोहिणी राणा, राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष विश्व पौडेल, पूर्व बैंकर अनिलकेशरी शाह, प्रा. कुसुम शाक्य, नेतृ समीक्षा बाँस्कोटालगायत सहभागी हुनेछन् ।

कार्यक्रम गरिरहेको बुकवर्मका निरज भारीले सुर्य नेपालले स्पोन्सर नगरेर सामाजिक उत्तरदायित्वअन्तर्गत नेपाल लिटरेचर फेस्टिबललाई सहयोग गरेको दावी गरे । ‘स्पोन्सर होइन्, सामाजिक उत्तरदायित्वअन्तर्गत सूर्य नेपालले सहयोग गरेको हो,’ नेपाल लिटरेचर फेस्टिबलका कार्यकारी निर्देशकसमेत रहेका भारीले भने ।

उनले जारी गरेको विज्ञप्तीमा सूर्य नेपाल गाथाले सहयोग गरेतापनि त्यसका कुनै पनि उत्पादनको विज्ञापन, प्रचार, प्रवर्द्धन र प्रचार सामाग्री नहुने जनाएको छ । व्यवसायिक सामाजिक उत्तरदायित्वअन्तर्गत कला र साहित्यका सामाजिक कार्यकै निर्वाह गर्नुपर्ने योगदानको कानुनी प्रावधान बमोजिम नै सुर्य नेपाल गाथाले फेस्टिबलमा सहयोग गरेको उसको विज्ञप्तीमा उल्लेख छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ