२०८१ असार १०, आईतबार
Health Aawaj logo
गृहपृष्ठसमाचारक्यान्सर रोग भएका ७० प्रतिशत बालबालिका उपचारको पहुँच बाहिर : विज्ञ

क्यान्सर रोग भएका ७० प्रतिशत बालबालिका उपचारको पहुँच बाहिर : विज्ञ


काठमाडौं—नेपालमा क्यान्सर रोग भएका ७० प्रतिशत बालबालिकाको उपचारमा पहुँचमा नभएको विज्ञहरुले बताएका छन् । बुधबार अन्तर्राष्ट्रिय बाल क्यान्सर दिवसको पूर्वसन्ध्यामा नेपाल क्यान्सर अस्पतालले आयोजनाको गरेको अन्तरक्रियामा चिकित्सकहरुले नेपालमा २० प्रतिशत बालबालिकाको मात्रै क्यान्सर डाइग्नोस हुने गरेको बताए ।

अस्पतालको पेडियाट्रिक हेमाटोलोजी अंकोलोजीका सिनियर कन्सल्ट्यान्ट डा. प्रकाशनिधी तिवारीले नेपालमा ७० प्रतिशत बालबालिकाको क्यान्सर पहिचान नै नहुने गरेको बताए । ‘नेपालमा २० प्रतिशत बालबालिकाको मात्रै क्यान्सर डाइग्नोस हुन्छ,’ उनले भने, ‘७० प्रतिशत बालबालिकाको क्यान्सर डाइग्नोस नहुँदा स्टेज बढ्दैं जान्छ र उनीहरु उपचार नपाएका कारण मृत्यवरण गर्न बाध्य हुन्छन् ।’ प्रविधीका हिसाबले नेपाल अन्य देशहरुको तुलनामा क्यान्सर उपचारमा पछि नभएको बताउँदैं उनले केही कुरामा भने कमी रहेको उल्लेख गरे ।

डा. तिवारीले बालबालिकामा हुने क्यान्सरको मुख्य कारण अहिलेसम्म पत्ता लाग्न नसकेको बताए । उनकाअनुसार क्यान्सरको उपचार पहुँचमा पुगेका ८०—८५ प्रतिशत बालबालिका ठीक हुन्छन् । ‘बाँकी १० प्रतिशत बालबालिकालाई बोनम्यारो प्रत्यारोपण गरेर ठीक पार्न सकिन्छ,’ उनले भने, ‘त्यसमा हामीले पहल गरिरहेका छौं । यो भयो भने क्यान्सर भएका ९५ प्रतिशत बालबालिकालाई उपचार गरेर निको पार्न सकिन्छ ।’

अस्पतालकी पेडियाट्रिक हेमाटोलोजिष्ट अंकोलोजिष्ट डा. अन्जली पण्डितले संसारभर वर्षमा ४ लाख बालबालिकाहरुमा क्यान्सर देखिने बताउँदैं नेपालमा झण्डै १ हजार ४ सय जना बालबालिका विभिन्न खालका क्यान्सर रोगबाट प्रभावित हुने आँकलन आफूहरुको रहेको बताइन् ।

‘संसारमा एक वर्षमा झण्डै ४ लाख बालबालिका क्यान्सरका बिरामी हुने गरेका छन्, नेपालमा वर्षमा झण्डै १ हजार ४ सय बालबालिकाका विभिन्न खालका क्यान्सर हुने गरेको आँकलन छ,’ उनले भनिन्, ‘पछिल्ला ५ वर्षमा मात्रै हामीले १ सय ५० भन्दा बालबालिकाको क्यान्सरको उपचार गरेका छौं ।’ उनकाअनुसार नेपालमा बढीजसो बालबालिकाहरु रक्त क्यान्सर, ब्रेन ट्युमर, लिम्फोमा, हड्डीको सार्कोमाजस्ता क्यान्सरबाट पीडित रहने गरेको जानकारी दिइन् ।

डा. पण्डितकाअनुसार अन्तर्राष्ट्रिय रुपमै बालबालिकामा देखिने क्यान्सरको कारण यही हो भन्न नसक्ने अवस्था छ । ‘बालबालिकामा हुने क्यान्सरको यही कारण हो भनेर ठोकुवा गर्न सकिदैन्,’ उनले भनिन्, ‘रिस्क फ्याक्टरहरुको अनुमान मात्रै गर्ने हो ।’ उनले नेपाल क्यान्सर अस्पताल बालबालिका देखिने क्यान्सरको उपचार आफूलाई निरन्तर अगाडि बढाइरहेको जानकारी दिइन् ।

नेपाल क्यान्सर अस्पतालका सिनियर मेडिकल इपिडेमियोलोजिष्ट डा. मुरारीमान श्रेष्ठले नेपालको अधिकांश जनसंख्या गाउँमा बस्ने भएका कारण पनि धेरै बालबालिकामा क्यान्सरको उपचार पुग्न नसकेको बताए । ‘गाउँमा अहिले पनि धेरैको झारफुक र धामी झाँक्रीबाट उपचार हुने गरेको छ, जसका कारण धेरैको उपचार नै नपाएर ज्यान जान्छ,’ उनले भने, ‘काठमाडौं र केही मुख्य सहरबाहेक अन्यत्र क्यान्सरको उपचारमा पहुँच गाह्रो छ ।’ उनले क्यान्सर भएका बालबालिकाको ठूलो जनसंख्यालाई उपचारको पहुँचमा ल्याउन आमा र स्वास्थ्यकर्मीलाई तालिम र जनतामा जनचेतना आवश्यक रहेको उल्लेख गरे ।

अस्पतालमा सिनियर कन्सल्ट्यान्ट रेडियसन अंकोलोजिष्ट डा. गिसुपनिख पर्सिकोले आफूहरुले बालबालिकालाई अति आवश्यक परेको खण्डमामात्रै रेडिसन थेरापी दिने गरेको जानकारी दिए ।

अस्पतालमा कन्सल्ट्यान्ट अर्थो अंकोलोजिष्ट ऋषिराम पौडेलले पहिलेजस्तो अहिले हड्डीमा क्यान्सर भएका बालबालिकाहरुको हात वा खुट्टा नै काट्नुपर्ने अवस्था नरहेको बताए । ‘आजको दिनमा क्यान्सर लाग्दैमा हातखुट्टा काट्नु पर्दैन्, हामी हात खुट्टा नकाटेर सफल उपचार गर्छौ,’ उनले भने, ‘रगतका नसा बचाएर हामी अहिले त्यस्तो उपचार गरिरहेका छौं ।’

अस्पतालमा कार्यकारी अध्यक्ष तथा वरिष्ठ मेडिकल अंकालोजिष्ट डा. सुदिप श्रेष्ठले क्यान्सरका बिरामीलाई सरकारले प्रदान गर्ने सहायतामा वृद्धि गर्नुपर्ने धारणा राखे । ‘अहिले सबैं प्रकारका क्यान्सरका बिरामीलाई सरकारले १ लाख रुपैयाँ सहायता दिदैं आएको छ । सबैलाई एकै प्रकारको सहायताभन्दा पनि बच्चाहरुलाई ५ लाखसम्म सहायता दिनुपर्छ,’ उनी भन्छन्, ‘एक लाख रुपैयाँ उपचार सहायताले कतिले बीचैमा उपचार छाड्ने गरेका छन् । त्यसैले बच्चाको क्यान्सर निको हुने सम्भावना बढी भएकाले सहायता बढाउनुपर्‍यो । उ पनि भविष्यमा प्रधानमन्त्री, वैज्ञानिक भएर राष्ट्रलाई  योगदान गर्न सक्छ ।’

उनले बालबालिकाको क्यान्सरको उपचारका ५—१० लाख रुपैयाँसम्म खर्च हुने गरेकाले सरकारी सहायतामा वृद्धि हुन आवश्यक रहेको बताए ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ