२०८१ वैशाख ७, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसमाचारचिकित्सा शिक्षा आयोगका चार निर्देशकका लागि २५ जनाको दरखास्त

चिकित्सा शिक्षा आयोगका चार निर्देशकका लागि २५ जनाको दरखास्त


काठमाडौं—राष्ट्रिय चिकित्सा शिक्षा आयोगको चार निर्देशक पदका लागि झण्डै २५ जनाले दरखास्त हालेका छन् । शिक्षा मन्त्रालय स्रोतका अनुसार २१ कात्तिकसम्म निर्देशकका लागि दरखास्त बुझाउने अन्तिम म्याद थियो ।

स्रोतका अनुसार दरखास्त हाल्नेको आवेदन ठिक भए नभएको केलाउने काम सुरु भएको छ । सिफारिस समितिका एक जना सदस्यले दरखास्त परेका मध्येबाट आयोगको निर्देशकका लागि सिफारिस गरिने बताए । उनका अनुसार एक दुई दिन भित्र चार निर्देशक सिफारिस गर्ने तयारी स्वरुप बैठक बस्ने छ । राष्ट्रिय चिकित्सा ऐन २०७५, ले आयोगमा चार निर्देशक पदको व्यवस्था गरेको छ ।

निर्देशकको नियुक्तिको लागि उपाध्यक्ष समक्ष नाम सिफारिस गर्न अध्यक्षले तोकेको राष्ट्रिय योजना आयोगको सदस्यको संयोजकत्वमा सम्बन्धित विषयका प्राध्यापक र कुनै एक विज्ञ रहेको तीन सदस्यीय सिफारिस समिति गठन हुने उल्लेख छ । यसका लागि राष्ट्रिय योजना आयोगको शिक्षा तथा स्वास्थ्य हेर्ने सदस्य उषा झाको संयोजकत्वमा पूर्व शिक्षा सचिव महाश्रम शर्मा र वरिष्ठ चिकित्सक तथा आइओएमका पूर्व डिन डा. अरुण सायमी सदस्य रहेका छन् । निर्देशकको समयावधि चार वर्षको रहने ऐनमा उल्लेख छ ।

यी हुन चार निर्देशनालय

आयोगको कार्य सम्पादनका लागि आयोगमा भिन्न—भिन्न चार निर्देशनालय रहनेछ ।

  • मापदण्ड तथा प्रत्यायन निर्देशनालय
  • योजना, समन्वय तथा प्राज्ञिक उन्नयन निर्देशनालय
  • परीक्षा निर्देशनालय
  • नेसनल बोर्ड अफ मेडिकल स्पेसियालिटिज

निर्देशकका लागि १५ वर्षको अनुभव

ऐनमा समितिले निर्देशनालयको कामसँग सम्बन्धित दक्षता र कम्तीमा १५ वर्षको अनुभव प्राप्त प्राध्यापक वा नेपाल सरकारको विशिष्ट श्रेणीको पदमा अनुभव भएको, उत्कृष्ट व्यवस्थापकीय सीप तथा कौशल, स्वच्छ छवि र व्यवसायिकता भएका व्यक्तिमध्येबाट उपयुक्त व्यक्तिलाई निर्देशक पदमा नियुक्तिका लागि सिफारिस गर्नेछ’ भनिएको छ । निर्देशक पदको नियुक्ति प्रक्रिया सुरु गरेको १५ दिनभित्र समितिले निर्देशकको नाम उपाध्यक्ष समक्ष सिफारिस गर्नुपर्ने उल्लेख छ । आयोगले सोमबार पूर्णता पाएको थियो ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ