२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारएकै स्थानीय तहका ४०० जनाको आँखामा मोतिबिन्दु

एकै स्थानीय तहका ४०० जनाको आँखामा मोतिबिन्दु


वीरेन्द्रनगर—गुर्भाकोट नगरपालिकामा ४ सय जनाको आँखामा मोतिबिन्दुको समस्या रहेको पाइएको छ । १७ माघदेखि १ फागुनसम्म नगरपालिकामा वडाहरुमा संचालन गरिएको स्वास्थ्य शिविरमा ४ सय जनामा मोतिविन्दुको समस्या पाइएको हो ।

नेपाल नेत्रज्योति संघ आँखा उपचार मेहलकुना र  गुर्भाकोट नगरपालिकाको सहकार्यमा वडास्तरमा संचालन गरिएको आँखा शिविरमा आँखा जाँच गर्दा मोतिबिन्दुको समस्या देखिएका ४०० बिरामीमध्ये ३०१ जनाको निःशुल्क शल्यक्रिया गरिएको छ ।

नगरपालिकाको वडास्तरमै गएर आँखा परीक्षण २ हजार ८ सय ४० जना व्यक्तिको आँखा परीक्षण गर्दा ४०० जनामा मोतिबिन्दुको समस्या देखिएको थियो । जुन १४ प्रतिशत हो ।

नेपाल नेत्रज्योति संघ एकीकृत आँखा तथा कान स्वास्थ्य कार्यक्रम कर्णालीका प्रमुख मानबहादुर कुँवर वडास्तरमै गएर आँखा परीक्षण गरी मोतिबिन्दु भएको र त्यसको शल्यक्रियासमेत निःशुल्क हुन्छ भन्ने जानकारी गराँउदासमेत करिब १ सय जना बिरामीहरु शल्यक्रियाका लागि नआएको बताउँछन् ।

नेपाल नेत्रज्योति संघका कार्यकारी निर्देशक डा. शैलेशकुमार मिश्र सुर्खेतजस्तो सुगम जिल्लाको एउटै पालिकासमेत ४०० जनामा मोतिबिन्दुको समस्या देखिनु सामान्य नभएको बताउँछन् । ‘यसबाट अहिले पनि नागरिकहरुलाई आँखा उपचारको आवश्यकता महसुस नै भएको छैन भन्ने देखिन्छ,’ उनी भन्छन्, ‘त्यसैले अब हामीले नागरिकहमा आँखा स्वास्थ्य सम्बन्धी जनचेतना अभिवृद्धि गर्न जरुरी छ ।’

राप्ती आँखा अस्पतालको नेत्ररोग विशेषज्ञ डा. सुरेश रसाईलीको नेतृत्वको टोलीले बिरामीहरुको निःशुल्क शल्यक्रिया गरेको थियो ।नेपाल नेत्रज्योति संघ एकीकृत आँखा तथा कान स्वास्थ्य कार्यक्रम कर्णालीको आर्थिक सहयोग तथा राप्ती आँखा अस्पतालको प्राविधिक सहयोगमा मोतिबिन्दुका बिरामीहरुको निःशुल्क शल्यक्रिया गरिएको हो ।

सिबिएम ग्लोबलको आर्थिक सहयोगमा कर्णाली प्रदेशमा संचालित नेपाल एकीकृत आँखा तथा कान स्वास्थ्य कार्यक्रममार्फत हालसम्म प्रदेशका ६ हजारभन्दा बढी आँखाका बिरामीहरुको निःशुल्क शल्यक्रिया गरि सकिएको कुँवर बताउँछन् ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ