२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारगैरआवासीय नेपालीको १ अर्ब २५ करोड लगानी रहेको ओम मेगाश्री फर्मास्युटिकल्स संचालनमा

गैरआवासीय नेपालीको १ अर्ब २५ करोड लगानी रहेको ओम मेगाश्री फर्मास्युटिकल्स संचालनमा


काठमाडौं—गैरआवासीय नेपालीहरुले १ अर्ब २५ करोड लगानीमा ओम मेगाश्री फर्मास्युटिकल्स संचालनमा ल्याएका छन् । सोमबारबाट औपचारिक रुपमा संचालनमा आएको ओम मेगाश्री चितवनको जुगेडीमा रहेको छ ।

काठमाडौंको होटल शंकरमा आयोजित एक समारोहमाझ प्रतिनिधीसभामा सभामुख देवराज घिमिरेले ओम मेगाश्री फर्मास्युटिकल्सको औपचारिक रुपमा उद्घाटन गरेका हुन् ।

सो अवसरमा उनले मुलुकमा लगानी कम भइहेका बेला गैरआवासीय नेपालीहरुले एक अर्ब बढी लगानीमा औषधि कम्पनी संचालनमा ल्याएकोमा सम्मान व्यक्त गरे । ‘म तीन कारणले यहाँ आएको हुँ । लगानी कम भइरहेका बेला १ अर्बभन्दा बढी लगानी गरेकोमा हार्दिक सम्मान व्यक्त गर्दछु,’ उनले भने, ‘एनआरएनले नेपालमा पुँजी, सीप र लगानी भित्र्याउनका लागि यसले हौसला पनि हुन्छ ।’

त्यसबाहेक उनले मुलुकको ५० प्रतिशत औषधि बजारमा ओम मेगाश्रीको योगदान होस् भनेर पनि आफू कार्यक्रममा आएको उल्लेख गरे । घिमिरेले मुलुकमा लगानी मैत्री वातावरण बनाउनुपर्नेमा जोड दिए । उनले आफूले नीति पारित गर्ने ठाउँमा भूमिका खेल्ने उल्लेख गर्दै नीति निर्माणका लागि कसै न कसैले पहलकदमी लिनुपर्नेमा जोड दिए ।

कार्यक्रममा पूर्वमन्त्री किरण गुरुङले स्वदेशमा गैरआवासीय नेपालीको लगानी गरेको उद्योग भएकाले ओम मेगाश्री फर्मास्युटिकल्स महत्वपूर्ण रहेको उल्लेख गरे । उनले नेपालमा राजनीति र नीतिगत स्थिरता नहुँदा लगानी गर्न गाह्रो रहेको उल्लेख गर्दै जुझारुले मात्रै लगानीको आँट गर्न सक्ने अवस्था रहेको बताए । गुरुङले बंगलादेशले सन् २०१३ मा औषधि उधोग सम्बन्धी नीति बनाएको र अहिले ९७ प्रतिशत आत्मनिर्भर भएको बताए । ‘अहिले ८० देशमा बंगलादेश औषधि निर्यात गर्छ,’ उनले भने, ‘पछिल्ला १० वर्षमा उसले औषधि उद्योगमा ठूलो प्रगति गरेको छ ।’

पूर्व स्वास्थ्य तथा जनसंख्यामन्त्री एवं प्रतिनिधीसभाका सांसद पदम गिरीले लगानी गर्ने मनोबल गिरेका बेला गरिएको लगानीले केही गरौं भन्नेहरुमा उत्साह थपेको बताए । ‘हामी राम्रोभन्दा राम्रो नीति बनाउन तयार छौं,’ उनले भने, ‘सरकारले निःशुल्क दिने औषधिहरु स्वदेशी कम्पनीबाटैं खरिद गर्दा यसले स्वदेशी कम्पनीलाई सहुलियत हुन्छ ।’

औषधि व्यवस्था विभागका महानिर्देशक नारायण ढकालले दुई ठूला अर्थतन्त्रको बीचमा रहेको नेपालजस्तो देश ५० प्रतिशत औषधिमा आत्मनिर्भर हुनु ठूलो उपलब्धि भएको बताए । ‘सरकारले खरिद गर्ने औषधि नेपाली औषधि उधोगका खरिद गर्ने निर्णय गर्नुप¥यो,’ उनले भने, ‘विभाग रेगुलेटरी भएकाले ल एण्ड अर्डर कार्यन्वयन गर्छ । तर, नेपाली औषधि उधोगलाई पोजेटिभ डिस्क्रीमिनेशनबाट अगाडि बढेका छौं ।’ उनले अझै पनि नेपाली बजारका २०—३० प्रतिशत हिस्सा नेपाली औषधि उधोगीहरुका लागि खुला रहेको बताए ।

नेपाल चिकित्सक संघका अध्यक्ष डा. अनिलविक्रम कार्कीले नेपालमा अहिले स्वास्थ्य संकटकाल घोषणा गर्नुपर्ने अवस्था रहेको उल्लेख गर्दै यस्तो निराशाका बीचमा ठूलो लगानीमा औषधि उद्योग संचालनमा आउनु सुखद् भएको बताए । ‘हाम्रो नीतिमै समस्या छ । भएका नीति प्रयोग नगर्ने, विदेशका नीति नियम कपी एण्ड पेष्ट गर्ने र प्राविधिक जनशक्तिलाई सही परिचालन नगर्ने समस्या छ,’ उनले भने, ‘स्वदेशी कम्पनीलाई प्रमोट गर्ने नीतिहरु बनाउनुपर्छ ।’

प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत (सिईओ) अशोक शेरचनले अहिले देशको अर्थतन्त्र अप्ठ्यारो अवस्थामा रहेको बताए । ‘नेपाली फर्मास्युटिकल्स कम्पनीहरुले पनि समस्या भोगिरहेका छन् । तर, काम गर्न छाड्नु हुँदैंन्,’ उनले भने, ‘राम्रो सोच भएका मानिसहरुको देशलाई खाँचो छ । सिष्टम सपोटिभ नभएको बेला विजनेश गर्नु गर्व गर्ने कुरा हो ।’ उनले नेपालमा अवसर र सम्भावनाहरु प्रशस्त रहेको उल्लेख गर्दै स्वदेशी उत्पादनलाई प्रमोट गर्नुपर्नेमा जोड दिए ।

नेपाल औषधि उत्पादक संघका अध्यक्ष महेश प्रधानले अप्ठयारो बेलामा पनि देशलाई सम्झनुपर्ने बताए । उनले नेपालका ८२ औषधि उधोगमा ६० अर्ब रुपैयाँभन्दा बढी लगानी भएको बताए । ‘नेपाली औषधि उधोगमा ६० अर्ब रुपैयाँ लगानी भएको छ,’ उनले भने, ‘तर, नेपाली बजारमा ३०—३३ अर्ब रुपैयाँमात्रै नेपाली औषधि उद्योगको बिक्री छ ।’

गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्का अध्यक्ष डा. बद्री केसीले नेपालमा एनआरएनहरुले लगानी गरिरहेको भएपनि अझै अपेक्षित लगानी भित्र्याउन नसकिएको बताए । ‘विदेशमा रहेका नेपालीहरुको लगानी गर्ने क्षमता ६० खर्ब छ,’ उनले भने, ‘अहिले वैदेशिक रोजगारीमा रहेका नेपालीले मात्रै १३ खर्ब पठाइरहेका छन् । झण्डै ४० खर्ब लगानी हामीले ल्याउन सकिरहेका छैनौं ।’ उनले १८ देखि ४५ वर्ष उमेरका ७० लाख बढी नेपाली विदेशमा रहेको उल्लेख गर्दै उनीहरुलाई विदेशमा राखेर देशमा समृद्धि हासिल गर्न नसकिने बताए । त्यही कारण एनआरएनएले उनीहरुलाई नेपाल फर्काउने अभियानमा काम गरिरहेको उनको भनाइ थियो ।

ओम मेगाश्री फर्मास्युटिकल्सका अध्यक्ष अर्जुनकुमार श्रेष्ठले लामो समयको आरोह—अवरोहपछि ओम मेगाश्रीले पूर्ण रुप धारणा गरेको बताए । ‘यो दुई दशक युरोपमा बस्दाको सपना हो,’ उनले भने, ‘विदेशमा रहँदा माटोमै केही गर्न उद्देश्यका साथ नेपाल फर्किएको हुँ । त्यो उद्देश्य पूरा भएको छ ।’ उनले निकट भविष्यमै ओम मेगाश्रीमा सर्वसाधारणको लगानी सुनिश्चित गर्न आईपीओ ल्याउन लागिएको जानकारी समेत दिए ।

ओम मेगाश्री फर्मास्युटिकल्सले कार्डियो, डाइबिटिज, न्यूरोलगायतका ५३ वटा औषधि उत्पादन गर्ने अनमुति औषधि व्यवस्था विभागबाट पाएको छ । जसमध्ये २७ वटा औषधि बजारमा ल्याइसकेको कम्पनीले जनाएको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ