२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारदादुरा–रुबेला विरुद्धको खोप अभियान आजदेखि, ५७ लाख बालबालिकालाई लगाउने लक्ष्य

दादुरा–रुबेला विरुद्धको खोप अभियान आजदेखि, ५७ लाख बालबालिकालाई लगाउने लक्ष्य


काठमाडौं–सरकारले दादुरा–रुबेला विरुद्धको खोप राष्ट्रिय अभियान सुरु गरेको छ । सरकारले फागुन १३ गते (आज)देखि ७ चैत्रसम्म खोप अभियान संचालन गर्नेछ ।

स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाका अनुसार दादुरा–रुबेलाको जोखिम रहेको ५१ वटा जिल्लामा खोप अभियान सञ्चालन गरिनेछ । खोप शाखा प्रमुख डा. अभियान गौतमका अनुसार खोप अभियानमा ९ महिनादेखि १५ वर्षमुनिका ५७ लाख बालबालिकालाई दादुरा–रुबेला विरुद्धको खोप लगाउने लक्ष्य छ ।

बढी प्रभावित काठमाडौंसहित २१ वटा जिल्लामा ९ महिनादेखि १५ वर्षमुनिका बालकालिकालाई खोप लगाइदैंछ भने अन्य जिल्लामा भने ८ महिनादेखि ५ वर्षमुनिका बालबालिकामा यो खोप लगाउन लागिएको हो ।

डा. गौतमकाअनुसार काठमाडौं उपत्यकाका तीन जिल्लासहित तराईंका भारतसँग सीमा जोडिएका दादुरा–रुबेलाको अति सङ्क्रमित २१ जिल्लामा ९ महिनादेखि १५ वर्षसम्मका बालबालिकालाई दादुरा–रुबेलाको खोप लगाइदैंछ । काठमाडौं दादुरा–रुबेलाको अतिसङ्क्रमित जिल्ला हो । गत वर्ष काठमाडौं जिल्लामा दादुरा–रुबेला फैलिँदा दुई सय २५ जना सङ्क्रमित र एक जनाको मृत्यु भएको थियो ।

यसअघि नियमित खोपअन्तर्गत दादुरा–रुबेलाको खोप लगाएकाहरुले पनि यो खोप लगाउनुपर्ने उनको भनाइ छ । सरकारले सन् २०२६ सम्म दादुरा—रुबेला निवारण गर्ने लक्ष्यका साथ खोप अभियान सञ्चालन गर्न थालेको हो ।

दादुरा–रुबेलाको खोप अभियानको लागि सरकारले देशभर ५० हजार स्वयंसेवक, ३० हजार स्वास्थ्यकर्मी र ४० हजार खोप केन्द्र तोकिएको समेत खोप शाखा अभियान डा. गौतमले बताए । उक्त खोप अभियानको लागि खोपको अन्तर्राष्ट्रिय सहायता संस्था गाभीको सहयोगमा झन्डै एक अर्ब ३५ करोड रुपैयाँको सरकारले ६३ लाख मात्रा खोप नेपाल ल्याएर सबै प्रदेशहरुबाट वितरण गरिसकेको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ