२०८१ वैशाख १६, आईतबार
Health Aawaj logo
गृहपृष्ठसमाचारसरकार संविधानप्रदत्त स्वास्थ्य सम्बन्धी हकलाई कार्यन्वयन गर्न क्रियाशील छ : प्रधानमन्त्री

सरकार संविधानप्रदत्त स्वास्थ्य सम्बन्धी हकलाई कार्यन्वयन गर्न क्रियाशील छ : प्रधानमन्त्री


भरतपुर—प्रधानमन्त्री पुष्पकमल दाहालले वर्तमान सरकार संविधानप्रदत्त स्वास्थ्य सम्बन्धी हकलाई व्यवहारमा कार्यन्वयन गर्न निरन्तर क्रियाशील रहेको बताएका छन् । शुक्रबार विहान भरतपुरमा नवनिर्मित भरतपुर आँखा अस्पतालको नयाँ भवनको उद्घाटन गर्दै प्रधानमन्त्रीले सो कुरा बताएका हुन् ।

उनले स्वास्थ्य बिमाको प्रभावकारी कार्यन्वयन, देशभरिका सबै अस्पतालमा १० प्रतिशत निःशुल्क शैय्याजस्ता महत्वपूर्ण विषयहरु कार्यन्वयनमा ल्याइएको बताए । ‘वर्तमान सरकार संविधानप्रदत्त स्वास्थ्य सम्बन्धी हकलाई व्यवहारमा कार्यान्वयन गर्न निरन्तर क्रियाशील रहँदै आएको छ,’ दाहालले भने, ‘स्वास्थ्य बिमा कार्यक्रमको प्रभावकारी कार्यान्वयन, देशभरिका सबै अस्पतालमा १० प्रतिशत शैय्या गरिब, विपन्न र असहाय नागरिकका लागि निःशुल्क उपलब्ध गराउने व्यवस्था, महिलाहरूमा देखा पर्ने स्तन क्यान्सर र पाठेघरको मुखको क्यान्सरविरूद्धको खोप निःशुल्क उपलब्ध गराउने व्यवस्था, स्वास्थ्य क्षेत्रमा सामाजिक सुरक्षाका कार्यक्रम, विपन्न बिरामीहरूका लागि अनुदानको व्यवस्था लगायत महत्वपूर्ण निर्णयहरू भई कार्यान्वयनमा आएका छन् ।’

प्रधानमन्त्रीले संविधानअनुरूप निर्माण गरिनुपर्ने ऐनहरूको तर्जुमाका निम्ति नेपाल सरकारले गम्भीर पहल लिइरहेको उल्लेख गर्दै सबै प्रयासहरूले स्वास्थ्य क्षेत्रमा महत्वपूर्ण सुधार हुने विश्वास बताए ।

प्रधानमन्त्री दाहालले भरतपुर महानगरपालिका स्वास्थ्य क्षेत्रमा नयाँ हबको रूपमा विकास हुँदै गएको बताए । ‘भरतपुर आँखा अस्पताल भरतपुर क्षेत्रको मात्र आँखा अस्पताल नभएर स्वदेश तथा विदेशका समेत सेवाग्राहीहरूको आँखा सम्बन्धी उपचारको केन्द्रका रूपमा स्थापित हुँदै गएको छ,’ उनले भने ।

विभिन्न दातृ निकाय, संघसंस्था, भरतपुर महानगरपालिकालगायत राज्यका विभिन्न निकाय र जनसमुदायको लगानीमा नयाँ भवन निर्माण भएको प्रधानमन्त्रीले बताए । ‘नवनिर्मित भवनको उद्घाटनपछि बालरोग बहिरंग सेवा, बालबालिकाका लागि अलग्गै टिकट काउन्टर, ओपिडी कक्षमा विस्तार, फार्मेसी कक्ष, चश्मा बिक्री कक्ष, बालमैत्री खेल कक्ष, स्टाफ कन्फरेन्स हल र स्तनपान कक्षको व्यवस्थापन हुने जानकारी पाउँदा म उत्साहित भएको छु,’ उनले भने, ‘नवनिर्मित भवनको उद्घाटनपछि अस्पतालले दिने सेवाको मात्रा र गुण दुवैमा गुणात्मक सुधार हुने मैले विश्वास लिएको छु ।’

नयाँ भवन सञ्चालनमा आएपश्चात भौतिक सुविधाको दृष्टिले अस्पताल सबल र सुविधासम्पन्न हुने प्रधानमन्त्री बताए ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ